बर्सेनि बाली फेर्दै किसान
60
shares
महोत्तरी । “यसो गर्दा होला कि भन्यो, परिश्रम ग¥यो, तर केही हुने छाँट देखिन्न”, महोत्तरीको भङ्गाहा–४ रामनगरका ६५ वर्षीय किसान सत्यनारायण यादव भन्नुहुन्छ, “के चिजले साथ नदिएको हो खोइ ? कुनै खेतीले पनि उभो नलाग्ने भइयो ।”
पछिल्ला १० वर्षयता नगद आर्जनका लागि तरकारी खेतीमा नङ्ग्रा खियाउँदै आएका यादव समयले साथ नदिँदा अपेक्षित सफलता नपाएको गुनासोद गर्छन् ।
“बीस वर्षको उमेरदेखि खेतीमा घोटिएको किसान हुँ, दिगो तवरले कुनै खेतीमा जम्न सकिएन”, यादव भन्छन्, “खासमा मौसमकै राम्रो साथ नपाउँदा खेतीले उँभो लागिएन ।”
धान, मकै, कोदोसहितका अन्नबाली हुँदै सुर्ती, उखुजस्ता बाली हुँदै अहिले उनी तरकारी खेतीमा संलग्न छन् । यादवले अहिले लहरे तरकारी (फर्सी, लौका, घिरौँला, करेला, बोडी आदि) लगाएका छन् । पछिल्ला केही वर्षयता तरकारी खेतीमा लागत बढ्दै गएर प्रतिफल राम्रो नआउनेभएपछि बब के गर्ने भन्ने यादवमा चिन्ता बढेको छ ।
यादवकै छिमेकी रामबहादुर ठाकुर, बहुरा महतो, हरि महतो र गङ्गाप्रसाद महतो पनि पछिल्ला केही वर्षयता तरकारी खेतीमै घोटिएका छन् । पहिले पिताको सहयोगी भएर अन्नखेतीमा जमेका ठाकुरलाई क्रमशः पछिल्ला वर्षमा पानीको तुक नमिल्दा सुर्ती खेतीमा लागेको राम्रो हेक्का छ । विसं २०३० देखि २०४० सम्म बारनघर (सुर्ती सुकाउने घर) लाई दाउराको कमी हुँदै गएपछि उखुखेती हुँदै केही वर्षयता तरकारी खेती गर्न लागिएको उनी बताउँछन् ।
“पहिले यो बेला यस्तो मौसम हुन्छ भन्ने अनुमान लगाउन सजिलो थियो । त्यसैले त्यतिखेर अन्नबाली (धान, गहुँ, मकै, कोदोआदि) राम्रै फलाइन्थ्यो, पछिल्लो समय मौसमको भर हुन छाड्यो । सन्तुलित वर्षा हुन छाड्यो र बिस्तारै अन्नखेती छुट्दै गए”, ६० वर्षीय ठाकुर पुराना कुरा सम्झँदै भन्नुभयो, “सामान्य सिँचाइले हुने सुर्ती खेती थालियो, पछि दाउरा पाइन छाडेपछि त्यो पनि छुट्यो ।”
आफ्नै जीवनकालमा कैयौँ खेतीका अनुभव सँगालेका ठाकुर सुर्तीपछि उखुहुँदै अहिले तरकारीखेतीमा आइपुगेका छन् ।
वि.सं.२०८० वैशाख २९ शुक्रवार १७:१६