सरकारी अस्पताल प्राइभेटलाई विरामी खोजिदिने थलो नै हो त ?
5.7K
shares
भनिन्छ, डाक्टरहरुलाई भगवान सरह हुन् । तर, पछिलो समय तिनै डाक्टरहरु सेवा भावभन्दा व्यापारीमा परिणत भएका छन् । हामी बिरामी हुनासाथ अस्पतालतिर दौडिन्छौं र डाक्टर भेट्नासाथ पीडाबाट छुट्कारा पाउने आशामा ढुक्क हुन्छौं । तर, अहिले तिनै डाक्टर र अस्पतालहरुमा डरलाग्दो व्यवसाय फास्टाउन थालेको छ ।
किनभने स्वास्थ्य क्षेत्र यति महङ्गो थलो बनिसकेको छ कि जहाँ पैसा नहुने सर्वसाधारण बिरामीलाई उपचार गर्न सक्ने अवस्था नै छैन । यदि मानिसलाई केही जटिल रोग अथवा दूर्घटना आइप¥यो भने आर्थिक अवस्थाले सरकारी अस्पताल जान वाध्य हुन्छन् । तर, सरकारी अस्पतालले गम्भीर विरामी लिन मान्दैनन् । लिइहालेपनि सरकारी अस्पतालका डाक्टर र कर्मचारीको सेटिङमा प्राइभेट अस्पतालतिर रिफर गरिन्छ ।
सरकारी अस्पतालको भरमा आएका बिरामीलाई अनेक समस्या देखाएर प्राइभेटतिर रिफर गर्दा उनीहरुको आर्थिक अवस्थाको बारेमा ध्यान दिएको पाइँदैन । बिरामी र उनका आफन्तलाई अहिले नै फलानो अस्पताल लानुभयो भने निको हुन सक्छ, नत्र यसै हो भन्न सकिँदैन भने जस्ता डर, त्रास देखाएर प्राइभेट अस्पताल पठाइन्छ । बिरामी निको हुने आशामा आफन्तहरु पनि प्राइभेट अस्पतालमा जान वाध्य हुन्छन् ।
सरकारी अस्पतालले यसो भनिरहँदा के सरकारी अस्पताल भन्दा सुविधा सम्पन्न छन् त प्राइभेट अस्पताल ? के सरकारी अस्पतालले चाहीँ गम्भीर प्रकृतिका बिरामीको उपचार गर्न सक्दैनन् ? बिरामी जाच्ने साधनस्रोत सरकारीमा भन्दा प्राइभेट अस्पतालमा राम्रा र भरपर्दा छन् ? यदि होइन भने किन सरकारी अस्पतालमा आउने सर्वसाधारण बिरामीलाई प्राइभेट अस्पतालमा पठाइन्छ ?
के देशको जनसंख्या अनुसार सरकारी अस्पतालले विरामी थेग्न सक्दैन ? भनेजस्ता यावत प्रश्नहरु सर्वसाधारणले गर्न थालेका छन् । यी सबै समस्या हुनुमा सरकारको कमजोरी देखिन्छ । किन भने सरकारले सरकारी अस्पतालमा आवश्यक चिकित्सक र साधनस्रोतको व्यवस्थापन गर्न सकेको छैन ।
यसको मतलब सरकारी अस्पतालमा दक्ष जनशक्ति अनि स्रोत साधानको कमी देखिन्छ । अनि यिनैै कारणले प्राइभेट अस्पताल जानुपर्ने हुन्छ । प्राइभेटमा मोटो रकम तिरेर उपचार गर्न नसकेपछि सर्वसाधारण विरामी ज्यान गुमाउन वाध्य हुन्छन् । सरकारले स्वास्थ्य जस्तो सम्वेदनशील विषयमा ध्यान नदिँदा धिक्कार लागेर आउँछ । यदि उपचार गर्नुपर्ने भएपनि पैसा जुटाउन मुस्किल हुन्छ । सरकारले स्वास्थ्य क्षेत्रमा ध्यान नदिँदा यस्तो समस्या आएको प्रायः पाइन्छ ।
भन्न सजिलो छ तर गर्न त्यतिकै गाह्रो । यसो भनिरहँदा जब आफूलाई पर्छ तब नागरिकले स्वास्थ्य क्षेत्रमा अभाव भएको बुझछन् । र मन नहुँदा पनि उपचार गराउन बाध्य हुन्छन् । अनि हुन्छ प्राइभेट अस्पतालको मोजमस्ती । अहिले सरकारी अस्पतालको पैसा खाने भाँडो प्राइभेट अस्पताल बनेको छ । तर, बुझ्दै जाँदा अहिले प्राइभेट अस्पताल पनि सांसददेखि मन्त्रीसम्मको सेटिङ रहेको पाइयो । अनि कहाँबाट हुन्छ स्वास्थ्य क्षेत्रमा सुधार ?
जब नेताहरु सत्ता बाहिर हुन्छन् अनि स्वास्थ्य सर्वसाधारणको पहुँचमा हुनुपर्छ भन्छन् । तीनै नेता सत्तामा पुगेपछि यीनै कुरा विर्सन्छन् । सरकार किन स्वास्थ्य क्षेत्रमा गम्भिर छैन । किन अझै गरिब दुःखी जनताले पैसा नभएकै कारण अकालमै ज्यान गुमाउनु पर्ने ? हामी भ्रष्टाचार, सुन काण्ड, भुटानी शरणार्थी काण्ड जस्ता विषयमा कुरा उठाउँछौ ।
अहिले भ्रष्टाचारको अखडा अस्पतालहरु पनि भइरहेको छ । सरकारी अस्पतालबाट रिफर गरिएर प्राइभेट पठाउने अनि आदि–आदि कमिसन खाने । त्यसलाई किन भ्रष्टाचार मानिएन । कमिसनको खेलोफड्को गर्नु पनि भ्रष्टाचार हो । सांसददेखि मन्त्रीसम्म विरामी भए भने उनीहरुलाई भिआइपी, भिभिआइपी कक्ष छुट्याइएको हुन्छ । तर ती भिआइपीहरुलाई भोट हाल्ने जनता विरामी भएर उपचार नपाउँदा किन नेताहरु एकपटक पनि कुरा उठाउन सक्दैनन् ।
ठुलालाई चैन अनि सानालाई ऐन भनेजस्तै अहिले स्वास्थ्य क्षेत्रमा त्यही देखिएको छ । स्वास्थ्यको विषय एकदमै सवेदनशील भएकोले यस विषयमा सबै तहतप्का, वर्ग, समुदायले आवाज बुलन्द गर्न जरुरी छ । उता, ओषधिको लागि घण्टौ लाइन बसेर पनि ओषधि नपाएको अवस्था छ । जुन दिन ने बित्नेगरी औषधि लिनुपर्नै अवस्था छ । सरकारले सरकारी अस्पतालहरुमा छुट्टै निकाय बनाएर औषधिको सहज वितरण गर्न जरुरी छ ।
किनभने औषधि वितरणमा पनि अस्पतलकै कर्मचारीको सेटिङमा लाइन नबसी लिने गरेको थुप्रै उदाहरण देखिन्छ । कर्मचारीको सेटिङमा लाइन नबसी ओषधि दिने फर्मासिस्टलाई पनि उचित छानबिन गरी कारबाही गर्न जरुरी छ । यदि यस्तै भइरहने हो भने विरामी मारमा पर्ने हुन्छ ।
त्यसैगरी घण्टौ लाइन बस्यौ अनि औषधि लिने पालमा यो औषधि छैन भनेर भन्छन् । यसले विरामीलाई दुःखदिने काम गरिएको पाइन्छ । सरकारी अस्पताल जस्तो ठाउँमा सबै औषधि छैन भने त्यहाँ पनि कमिसनको खेलोफड्को हुने गरेको देखिन्छ । त्यसकारण सम्बन्धित निकायले यसको छानबीन गर्न आवश्यक छ । पछिल्लो समय स्वास्थ्य विमाकर्ताहरु पनि सेवा सुविधा नपाएको अवस्था छ ।
वि.सं.२०८० असोज ११ बिहीवार २१:५०