मानसिक रूपमा स्वस्थ रहन खानपान, निद्रा र दैनिक क्रियाकलाप आवश्यक
1K
shares
काठमाडौं । हाल नेपालमा करिब २५ प्रतिशत जनसंख्या कुनै न कुनै खालको मानसिक समस्याबाट पिडित रहेका छन् । ती मध्ये नेपालमा १३ प्रतिशतमा मानसिक रोगको समस्याबाट अस्वस्थ रहेको मानसिक स्वास्थ्य विशेषज्ञ डा. विश्वबन्धु शर्माले काठमडौंमा आयोजित पत्रकारसँगको एक छलफल कार्यक्रममा बताए।
पछिल्लो समय घर, परिवार, छरछिमेकी, विद्यालय र बालबालिकाले खेल्ने ठाउँ नै बालबालिकामैत्री व्यवहार नहुँदा किशोरावस्थामा मानसिक समस्या झनै बढिरहेको उनले प्रष्ट पारे । मानसिक रूपमा स्वस्थ रहन खानपान, निद्रा र दैनिक क्रियाकलापमा विशेष ध्यान पुर्याउनुपर्ने डा. शर्माको जोड छ ।
डा शर्मा भन्छन्, “मानिसलाई खुसी तथा आनन्दित बनाउन ‘सेरोटोनिन हर्मोन’को सिधा सम्बन्ध खानपानसँग भएको मेन्टल हेल्थ साइन्सले बताउँछ । ९० प्रतिशत सेरोटोनिन पेट अर्थात् खानपानबाट उत्पादन हुने विभिन्न अध्ययनहरूले देखाएका छन् ।”
डा. शर्माका अनुसार सादा खाना मात्रा मिलाएर खानु र पेट खाली भएपछि मात्रै खाने बानी गर्नाले शरीर मस्तिष्कलाई हल्का र स्वास्थ राख्दछ । कम प्रशोधित तथा प्राकृतिक खानाको प्रयोगले दुवै स्वास्थ्यलाई फाइदा गर्छ । धेरै प्रशोधन गरिएका तथा जंक फुडहरूमा पोषणको मात्रा अत्यन्तै न्यून मात्रै पाइन्छ । सामान्य फलफूल, तरकारी, नट्स तथा बीउ प्रकारका खानाले मस्तिष्कलाई समेत फाइदा गछ ।
निदाउनु शरीरलाई आराम हो भने मस्तिष्कलाई सम्पूर्ण क्रियाकलाप व्यवस्थापन गर्ने अवधि हो । डा. शर्माका अनुसार शरीर निदाएको समयमा मस्तिष्कले भने आफूलाई रिपेयर गरिरहेको हुन्छ भने निद्राकै बेला तनाव कम गर्ने (एन्टिस्ट्रेस हर्मोन)हरू उत्पादन भइरहेका हुन्छन् ।
युवा उमेरमा दैनिक सातदेखि सात, आठ घण्टा निदाउनुपर्छ । सुरुका केही घण्टा गहिरो निद्रा लिनुपर्छ त्यसो हुँदा पछिल्ला प्रहरमा बेला बेला ब्युँझिए पनि असर पर्दैन । एउटै समयमा सुत्ने र एउटै समयमा उड्ने बानीले मानसिक स्वास्थ्यमा फाइदा पुग्छ । सुत्नुअघि आफ्नो मनलाई नकारात्मक प्रभाव पार्ने कुराकानी मनमा लेखाउनु हुँदैन र त्यस्ता भिडियोहरू पनि हेर्नु वा पुस्तक पढ्नु हुँदैन । राति सुत्नुअघि खाने बानी पनि स्वस्थ निन्द्राको बाधक भएको डा. शर्मा बताउँछन् ।
दैनिक क्रियाकलापमा परिचालित
चलिरहने अर्थात् परिचाललित गरिरहनु पनि मानसिक स्वास्थ्यका हिसाले अत्यन्तै महत्वपूर्ण मानिन्छ । शरीरमा जति कम मोबिलिटी भयो, त्यति मानसिक रूपमा फ्रेस रहन कठिन हुने उनी बताउँछन् । दैनिक व्यायाम र शारीरिक सक्रियताले मानसिक रूपमा पनि स्वस्थ रहन मद्दत गर्छ।
डा. अरुण उप्रेतीले विश्वका जनसंख्याको लगभग १५ प्रतिशत मानिसहरु साधारणदेखि जटिल मानसिक रोगबाट पीडित हुने गरेको बताइन् । डा. अरुणा भन्छिन्, ‘मानसिक रोग जुनसुकै उमेर, समूह, वर्ण, धर्म जातजातिका मानिसहरुमा देखिन सक्छ । किशोर किशोरीलाई पनि मानसिक रोग लाग्न सक्छ । अहिले पनि धेरै किशोरीहरुले आफूले मानसिक रोगबाट पीडित हुनुपरिरहेको छ भन्ने थाहा पाएका छैन ।’
अधिकांश मानिसहरु मानसिक रोगको पीडित हुँदा पनि लेखेर खुलेर किचित्सक एवं परामर्शदातासँग कुरा राख्न हिचकिचाउने गरेको डा. उप्रेतीले बताइन् । मानसिक स्वास्थ्य समस्याको उपचार सम्भव भएको तर यसबारे धेरै ज्ञान नभएको कारण समस्या देखिएको उनको भनाइ छ । समुदायमा मानसिक रोगको थाहा पाएर यस्ता किशोर किशोरीलाई स्वास्थ्य चौकी पठाउनु जागरुक व्यक्तिको दायित्व भएको डा. उप्रेतीको भनाइ छ ।
वि.सं.२०८१ जेठ १४ सोमवार १८:५६