एचआईभी संक्रमितमा यौनरोग र क्षयरोगको समस्या
198
sharesचितवन । चितवनका एचआईभी संक्रमितमा यौनरोग (भिरिङ्गी) र क्षयरोगको समस्या देखिने गरेको छ । यस वर्ष गरिएको एचआईभी संक्रमित भएकाहरूको परीक्षणका क्रममा भिरिङ्गी र क्षयरोग देखिएको हो ।
एड्स हेल्थ फाउन्डेसन वाग्मती प्रदेशका संयोजक कृष्णहरि सापकोटाका अनुसार, यस वर्षको जनवरीयता ५४४ जना संक्रमितको परीक्षणका क्रममा ४५ जनामा भिरिङ्गी रोगको संक्रमण देखिएको हो ।
उनले भने, “अहिलेको समस्या भनेको एचआईभी संक्रमितमा भिरिङ्गी र क्षयरोगको समस्या बढ्दो क्रममा छ ।” असुरक्षित यौन सम्पर्कका कारण संक्रमितहरूमा भिरिङ्गी रोगको संक्रमणसमेत देखिएको हो । संक्रमित सबैले रोग नियन्त्रणका लागि औषधि सेवन गरिरहेका छन्।
सापकोटाका अनुसार परीक्षण गरिएकामध्ये १५ जनामा एचआईभी एड्ससँगै क्षयरोगसमेत देखिएको थियो । उनीहरूलाई अहिले नियमित औषधि सेवन गराइएको उनले जानकारी दिए ।
क्षयरोग देखिनुमा मुख्य समस्या संक्रमितहरूले मादक पदार्थ र धुम्रपानको सेवन अत्यधिक गर्नु रहेको छ । क्षयरोग पुष्टि भएकाबाहेक अन्यलाई समेत औषधिको प्रयोग गरिँदै आइएको उनले बताए ।
फाउन्डेसनको सहयोगमा भरतपुर अस्पतालमा सञ्चालित एन्टी रेट्र्रो भाइरल थेरापी क्लिनिकका संयोजकसमेत रहनुभएका सापकोटाका अनुसार, जिल्लामा हाल एक हजार २१३ संक्रमितले एन्टी रेट्रो भाइरल औषधि सेवन गर्दै आएका छन् । उनीहरूमध्ये ५९२ पुरुष, ५६८ महिला, ३३ बालबालिका र २० जना तेस्रोलिङ्गी रहेका छन् ।
सन् २०२४ मा जिल्लाका विभिन्न स्थानमा गरिएको एचआईभी परीक्षणमा ७५ जना नयाँ संक्रमित भेटिएको सापकोटाले बताए । उनले भने, “सन् २०२४ यता तीन सय ९६ जनाको परीक्षणका क्रममा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।”
यस वर्ष जिल्लामा नयाँ भेटिएका र बाहिरबाट स्थानान्तरण भएर आएका गरी १५१ नयाँ संक्रमितले औषधि सुरु गरेका छन् । यहाँ नियमित औषधि सेवन गर्नेमध्ये ३० जना स्थानान्तरण भएर गएको उनले बताए । बाह्र जना संक्रमितले नियमित औषधि सेवन गर्न छाडेको सापकोटाले जानकारी दिए ।
वि.सं.२०८१ कात्तिक ६ मंगलवार १३:३७