back
स्वास्थ्य मन्त्रालय

विकास निर्माणको काममा गुणस्तरीयतालाई ध्यान दिनुपर्छ : अध्यक्ष केसी

984 

shares

रामकुमार केसी, अध्यक्ष, वडा नम्बर १०, काठमाडौं महानगरपालिका

नेपाली कांग्रेसका स्थापित युवा नेता तथा समाजसेवी हुन् रामकुमार के.सी. काठमाडौंका स्थानीयवासी के.सी. काठमाडौं महानगरपालिका वडा नम्बर १० का अध्यक्ष हुन् । जनताको कामप्रति दत्तचित्त भएर लाग्ने केसी सिद्धान्त निष्ठ नेता र स्पष्ट वक्ताको रुपमा चिनिन्छन् । उनी गुणस्तरीय शिक्षा, स्वास्थ्य आजको आवश्यकता रहेको बताउँछन् । अध्यक्ष केसी जनप्रतिनिधिले जनताको शासक होइन, सेवक बनेर बिनापूर्वाग्रह काम गर्दै आएको ठोकुवा गर्दछन् । उनै अध्यक्ष केसीसँग स्थानीय तहका समसामयिक विषयमा केन्द्रित तरुणदैनिक अनलाइनका लागि कालिका महतले गरेको कुराकानीको सम्पादित अंश :

तपाईं दोस्रो कार्याकालको लागि अध्यक्षमा निर्वाचित भएको वर्षदिन बितिसकेको छ, त्यसमा पहिला थाती रहेका कामको परिपूर्ति गर्दै हुनुहुन्छ कि नयाँ कामको थालनी गर्नुभएको छ ?

म काठमाडौं महानगरपालिका वडा नम्बर १० मा दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएको हुँ । म निर्वाचित भएर आइसकेपछि यस वडामा पहिला थाती रहेका काम परिपूर्ति गरिँदै छ । त्यसबाहेक अन्य नयाँ कामको थालनी हामीले गरेको छौं । त्यसमा हामीले खासगरी शिक्षा र स्वास्थ्यलाई विशेष जोड दिएर काम गरेका छौं । त्योसँगै सडकको गुणस्तर हेर्ने, खाल्डाखुल्डी पूर्ने, वडावासीको काम छिटोछरितो र चुस्तदुरुस्त बनाउने, शान्तिसुव्यवस्था कायम गराउनेलगायतका काम गर्दै आएका छौं

नयाँ कामको थालनी भन्नुभयो, त्यसमा कुनकुन क्षेत्रलाई जोड दिनुभएको छ ?
नयाँ काम भन्नाले बाटोघाटो बनाउँदा गुणस्तरलाई विशेष ध्यान दिनुपर्ने हुन्छ । त्यसमा बरु काम नहोस् तर गुणस्तरहिन काम गर्नै नदिने हाम्रो अभियान हो । काम गरेका ठाउँमा गुणस्तरलाई ध्यान एकदमै आवश्यक छ । काम गरियो तर दुई÷तीन महिनामै भत्किने, खाल्डा पर्ने, भासिने, पीच उक्किने समस्या आयो भने काम गरेको कुनै अर्थ हुँदैन । त्यसकारण हामीले गुणस्तरीय कामलाई विशेष ध्यान दिएका हौं ।

त्योसँगै वडाभित्र रहेका सामुदायिक विद्यालयको पढाइको गुणस्तरको लागि पनि ध्यान दिएका छौं । प्राइभेट रुपमा सञ्चालित बोर्डिङ स्कूलको पढाइको गुणस्तरको बारेमा मलगायत मेरो अनुगमन टोलिसहित उपस्थित भएर अनुगमन गरेका छौं । सामुदायिक विद्यालयमा अतिविपन्नलाई निःशूल्क पढ्ने व्यवस्था मिलाउने काम गरिएको छ । त्यसैगरी प्राइभेट स्कुलमा पनि अतिविपन्न परिवारका बच्चाहरुलाई निःशूल्क पढ्ने व्यवस्था मिलाउन कम्तिमा १० प्रतिशत कोटा छुट्याउन अनिवार्य गराएका छौं । यसरका काम गरिसकेपछि पक्का गर्ने, झारा टार्ने काम हामीबाट हुँदैन ।

सामुदायिक विद्यालयहरुमा शिक्षाको गुणस्तर एकदमै खस्कियो भन्ने छ तपार्इंंको वडामा त्यस्तो समस्या छ कि छैन ?
हाम्रो १० नम्बर वडामा तीनवटा सरकारी स्कूलहरु छन् । त्यसमध्येमा एउटा रत्नराज्य स्कुल पर्दछ । म यस वडाको अध्यक्ष भएको दोस्रो कार्यालयकालको एक वर्षसहित पाँच वर्ष पुरा भएर ६ वर्ष लाग्यो । यस अवधिमा निरन्तर म सरकारी स्कुललाई गुणस्तरीय बनाउन लागिपरेको छु । अन्य ठाउँमा निजीको तुलनामा सामुदायिक विद्यालयमा विद्यार्थी छैनन् ।

तर, हाम्रो रत्नराज्यमा पछिल्लो समय आफ्नो छोराछोरी पढाउन अभिभावकहरु धेरै आएका छन् । अहिले त विद्यार्थीको आकर्षण बढेर राख्ने ठाउँ नै छैन । जसरी हामीले शिक्षा र स्वास्थ्यलाई गुणस्तरीय बनाउने भनेर अभियान ल्यायौं । त्यो अभियानले अहिले यस वडाको सामुदायिक विद्यालयको शिक्षा एकदमै गुणस्तरीय भएको हामीले पाएका छौं । म आफै अनुगमन गर्न जाँदा रत्नराज्यको पढाइ, त्यहाँ शिक्षक, शिक्षिकाको लगनशीलता, विद्यार्थीको अनुसासन देखेर एकदमै सन्तुष्ट छु ।

प्राइभेट रुपमा सञ्चालित बोर्डिङ स्कूलहरुको अनुगमन कत्तिको गर्नुभएको छ ?
यस वडा नम्बर १० भित्रका प्राइभेट बोर्डिङ स्कूलहरुमा शिक्षाको गुणस्तर बढाउने भनेर मलगायत हाम्रो सदस्य साथीहरु गएर अनुगमन गरेका छौं । त्यसमा कुन स्कूलले अतिविपन्नहरुलाई कति प्रतिशतलाई छात्रवृत्ति दिएका छन् । कति प्रतिशतलाई निःशूल्क पढाएका छन् भनेर पनि निरीक्षण गरेका छौं । हामीले यो अभियान थालेपछि प्राइभेट स्कुलहरुले पनि कसैलाई ५० प्रतिशत छुट कसैलाई पुरै निःशूल्क गरेर पनि पढाउने गरेको पाइयो । यस अभियानले अतिविपन्न तर राम्रो शिक्षा पढ्न, पढाउन चाहनेले पनि मौका पाएका छन् । यसबाट यस वडाका नागरिक सन्तुष्ट छन् ।

कति प्रतिशतसम्म निःशूल्क गर्नुपर्ने भनेर तोकिएको छ ?
कम्तिमा १० प्रतिशत अतिविपन्न तथा जेहेन्दार विद्यार्थीको लागि निःशुल्क गर्नुपर्ने भनेका छांै । त्यसो भनिरहँदा कसैलाई पुरै निःशूल्क, कतिलाई ३० देखि ६० प्रतिशतसम्म छात्रवृत्ति दिने गरेको पाइन्छ । यसरी हेर्दा अहिले यस वडामा सामुदायिक र प्राइभेट स्कूलहरुमा गरी एक हजार जना हाराहारीले छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् ।

यहाँ त वरिपरि ठूलाठूला अस्पतालहरु छन् अनि वडाहरुमा पनि स्वास्थ्य चौकीको आवश्यक छ र ?
एकदमै आवश्यक र जरुरी छ । त्यसकारणले हामीले स्वास्थ्य भवन बनाउ लागेका छौं । त्यो भवन तयार नहुन्जेलका लागि हामीले एउटा पुरै घर भाडामा लिइरहेका छौं । यसै महिनाबाट त्यस घरमा ल्याब, कोभिडदेखि लिएर इसीजी, रगत, दिशा, पिसाब, डेंगो, एक्सरेलगायत साधारण जाँच गर्ने योजना बनाएका छौं । त्यसमा अनुभव डाक्र, नर्स राखेर यस वडाभित्रका आर्थिक स्थिति कमजोर हुने वडावासीलाई त्यसबाट सुविधा दिने हाम्रो लक्ष्य रहेको छ । त्यसको लागि हामीले १४ कोठे घर भाडामा लिएका छौं ।

आगामी वर्षको बजेटमा कुन क्षेत्रलाई प्राथमिकता दिएर अगाडि बढ्नुहुन्छ ?
आगामी वर्षको बजेटमा मेरो विशेष जोड स्वास्थ्य र शिक्षाको क्षेत्रमै हुने । अरु क्षेत्रमा हामीले ८० प्रतिशत विकास निर्माणका काम गरिसकेका छौं । अहिलेसम्म हामीले ८० देखि ९० प्रतिशत ठाउँमा पीच गरिसकेका छौं । अब यो वर्षभित्र हामीले वडा नम्बर १० को सबै ठाउँका सडक पीच गरिसक्छौं । कुनैकुनै ठाउँमा ढल हाल्न बाँकी छ । ढल हासिकेको ठाउँमा सानो भएर फेर्न बाँकी छ । केही ठाउँमा ढल हाल्न कामले सडकमा खाल्डाखुल्डी भएका छन् ।

त्यो पुरा गरिसकेपछि पीच गरिन्छ । त्यसपछि हाम्रो काम भनेको शिक्षा र स्वास्थ्यको क्षेत्रलाई गुणस्तरीय बनाउने नै हो । त्यसपछि हरियालीको विभिन्न सार्वजनिक जग्गामा पार्क बनाउने हो । त्यस्तै वडावासी महिला दिदीबहिनीहरुलाई विभिन्न किसिमका सीपमुलक तालिम दिएर स्वरोजगार बनाउने हो । वडाबाट सञ्चालित सीपमुलक तथा अभिमुखीकरण तालीमले महिला दिदीबहिनीहरुले आफ्नो हकअधिकारका लागि लड्ने क्षमता अभिवृद्धि गरेका छन् ।

काठमाडौंका धेरै सरकारी जग्गा व्यक्तिले मिचेको पाइएको छ, १० नम्बर वडामा पनि धोबीखोला र बागमती नदी आसपासका धेरै सार्वजनिक जग्गा मिचिएका छन् त्यसलाई नियन्त्रण गर्न कस्तो अभियान चलाउनुभएको छ ?
हाम्रो वडामा झन्डै १०० रोपनी जग्गा व्यक्तिले अतिक्रमण गरेको, बेवासिरे जग्गा व्यक्तिले कब्जा गरेर बसेको देखिएको छ । त्यसरी सरकारी जग्गा व्यक्तिले थिचोमिचो गरेको अधिकरण गरेको १०० रोपनीमध्ये १२, १४ रोपनी जग्गा हामीले सरकारी मातहतमा ल्याइसकेका छौं ।

त्यसरी सरकारी मातहतमा ल्याइएको जग्गा नापजाँजको लागि हामीले मालपोत कार्यालयमा पठाएका छौं । यही महिनाभित्र सबै कामगजपत्र मिलेर आएर पछि त्यसलाई उठाउँछौं । त्यसपछि अन्य अधिकरण गरिएका जग्गाको पनि कागजपत्र हेरेर सरकारी जग्गा व्यक्तिगत भोगचलनका लागि प्रयोग गरिएको एकिन भएपछि त्यसलाई पनि उठाउँछौं ।

सरकारी जग्गा कब्जा गरेर भोगचलन गर्ने कुन वर्गका व्यक्तिहरु बढी हुँदारहेछन् ?
सरकारी जग्गा कब्जा गरेर व्यक्तिगत रुपमा भोगचलन गर्नेहरु कि एकदमै उच्च वर्ग कि एकदमै न्यून वर्गका व्यक्तिहरु हुँदारहेछन् । अहिलेसम्म सरकारी जग्गा थिचोमिचो तथा कब्जा गर्नेमा सचिव, सहसचिव, मालपोतका हाकिम, प्रहरीका हाकिम, नेपाल सरकारका उच्च ओहदामा बस्ने व्यक्तिहरु, ठूलाठूला व्यापारिक घरानाका व्यक्तिहरु, वकिल, न्यायाधीश, नापीका हाकिम जस्ता व्यक्तिहरुले व्यक्तिहरु रहेका छन् ।

सरकारी जग्गा थिचोमिचो गर्नेमा मध्यम वर्गका व्यक्तिहरु छैनन् । किन भने त्यस्तो काम मध्यम वर्गका व्यक्तिले गर्नै सक्दैनन् । यो देशमा मध्यम वर्गका व्यक्तिलाई नियम, कानुन, अड्डा, अदालत सबैको डर हुन्छ । ती अति उच्च वर्ग र अति न्यून वर्गका व्यक्तिलाई त्यो लागु हुँदैन । किन भने अति न्यून वर्गसँग केही हुँदैन । उसलाई मुद्दामामिला लागेपनि केही गर्न सक्दैन । उच्च वर्गसँगै जति पनि पैसा हुन्छ त्यसको आडमा उसले सबैलाई तह लगाइदिन्छ ।

यहाँका जनतालाई यो चाहीं गरिदिए हुन्थ्यो भनेर एकदमै खड्किएको कुन क्षेत्र पाउनुभयो ?
यहाँका जनतामा अहिले एकदमै खड्किएको शान्तिसुरक्षा हो । शान्ति सुरक्षाको ग्यारेन्टी भइदिए हुन्थ्यो भन्ने यहाँको आवश्यकता हो । त्यसको लागि विभिन्न ठाउँमा सिसी क्यामेराको व्यवस्था गर्नुपर्ने छ । अन्य वडाबाट गर्नुपर्ने कामहरु एक घण्टाभित्र सबै गरेर पठाइदिएका छौं । वडावासीहरु आफ्नो समस्या लिएर आउँदा हामीले एक घण्टाभित्र काम गरिदिने गरेका छौं । अलि जटिल कामरहे छ भने भिन्दै कुरा हो नत्र साधारण र नियमित काममा त २५ मिटेनदेखि आधा घण्टासम्ममा काम सकेर गइसक्नुहुन्छ ।

शान्ति सुरक्षाको लागि के गर्न आवश्यक देख्नुहुन्छ ?
शान्ति सुरक्षाको लागि सबैभन्दा पहिला सीसी क्यामेराको व्यवस्था हुनुपर्छ । त्यसपछि बाटोघाटोको अवस्था चुस्तदुरुस्त हुनुपर्छ । चोक, गल्ली, घुम्ती, झाँडीहरुमा लुकेर मादक पद्धार्थ सेवन गर्ने, ड्रक्स खाने, हल्ला गर्ने, पार्कहरुमा पालवाही गरेर बस्नेलगायतका लागि नियन्त्रण गर्नुपर्ने हुन्छ । जब कि हिड्डुल, आवतजावत गर्दा सबैले आफूलाई सुरक्षित महसुस गरुन् । हाम्रो इच्छा, चाहना अहिले त्यसैमा केन्द्रित छ ।

स्थानीय सरकार एकदमै महंगो भयो, सबैतिर कर तिरेर हैरान भइयो, पैसाबिना सानोभन्दा सानो काम पनि हुँदैन भन्ने गुनासाहरु छन् यसमा के भन्नुहुन्छ ?
स्थानीय सरकारको विषयमा धेरै गुनासाहरु आएका छन् । यसको बारेमा मैले बोर्डमा कुरा राखेको छु । अहिले घरबहाल कर १० प्रतिशत छ । त्यसलाई घटाएर ५ प्रतिशतमा झार्नुपर्छ भनेर मैले आवाज उठाइरहेको छु । यसमा मैले करको दायर बढाउँ । बरु स्वच्छाले तिर्न आउन् भन्ने विषय राख्दै आएको छु । अहिले १० नम्बर वडामा १३ हजार घर छन् ।

तर, ४, ५ हजारले पनि बहाल कर तिरेका छैनन् । १० प्रतिशत लगाएर ४, ५ हजारले मात्रै तिर्नुभन्दा त्यसलाई ५ प्रतिशत बनाइदिँदा सबैले तिरे भने पैसा डबल हुन्छ । त्यसैले करको दर घटाउँ दायरा बढाउँ भनेका छौं । अहिले तिर्नेहरुलाई थिचोमिचो जस्तो भयो नतिर्नेहरु त्यत्तिकै छन् । फेरि घरबहाल तिर्दा पनि घरबेटी र बहालवालाले आधा तिर्नुपर्छ भन्ने मेरो धारणा हो ।

त्यसो गर्दा एउटैलाई मार पनि परेन, कर पनि उठ्यो । जस्तो होस्टेलहरुले पुरै घर भाडामा लिएका हुन्छन् अनि घरबेटीसँग मिलेर १०, २० हजारमा सम्झौंता गरेका हुन्छन् । अन्य अफिसमा पनि त्यस्तै बहालवालालाई तिराउने अनि आफू चाहीं पुरै भाडा लिने काम भइराखेको पाइन्छ । फेरि कतिपयको बहाल नभइकन रोजीरोटी नै नचल्नेवाला छ । त्यस्ता वर्गका घरबेटीहरुलाई पुरै कर लगाउँदा पनि मार पर्छ । त्यसैले करको दर घटाउने, दायरा बढाउने काम गर्नुपर्छ भन्ने मेरो धारणा हो ।

 

 

 

 


सार्वजनिक जग्गा संरक्षण नहुँदा अतिक्रमणको चपेटामा

सार्वजनिक जग्गा संरक्षण नहुँदा अतिक्रमणको चपेटामा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ५ मा रहेको सार्वजनिक जग्गा...

व्यवहार, मनोवृत्ति र सोच परिवर्तन हुन जरुरी छ : महानिरीक्षक कुँवर

व्यवहार, मनोवृत्ति र सोच परिवर्तन हुन जरुरी छ : महानिरीक्षक कुँवर

चितवन । प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रहरीको व्यवहार, मनोवृत्ति...

कृषिमा आत्मनिर्भर हुन ११ पकेट क्षेत्र बनाइने

कृषिमा आत्मनिर्भर हुन ११ पकेट क्षेत्र बनाइने

हेटौंडा। बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बाग्मती प्रदेश सरकारले...

वन्यजन्तुको सङ्ख्यामा वृद्धिसँगै व्यवस्थापनमा चुनौती थपिएको छः वनमन्त्री डा. महतो

वन्यजन्तुको सङ्ख्यामा वृद्धिसँगै व्यवस्थापनमा चुनौती थपिएको छः वनमन्त्री डा. महतो

काठमाडौं । वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतो वन...

अमेरिकी राष्ट्रपति वाइडेन र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

अमेरिकी राष्ट्रपति वाइडेन र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोसेफ रोबिनेट वाइडेन...

शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु-याउनु नेपालको प्रमुख एजेण्डाः प्रधानमन्त्री प्रचण्ड

शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु-याउनु नेपालको प्रमुख एजेण्डाः प्रधानमन्त्री प्रचण्ड

न्यूयोर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्क्रमणलीन न्यायका बाँकी...