back
स्वास्थ्य मन्त्रालय

गौरीशंकर पर्यटकीय दृष्टिले दोलखाकै महत्वपूर्ण गाउँपालिका हो : उपाध्यक्ष तामाङ

612 

shares

श्याम सुन्दर तामाङ, उपाध्यक्ष, गौरीशंकर गाउँपालिका दोलखा

नेपाली कांग्रेस दोलखाका उदीयमान युवा नेता हुन् श्याम सुन्दर तामाङ । दोलखाका स्थायीवासिन्दा तामाङ गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष छन् । लामो समयदेखि पार्टी संगठनमा जुटेका उनी इमानदार नेता र स्पष्ट वक्ताको रुपमा परिचित छन् । समाज सेवासँगै पार्टी संगठनमा दत्तचित्त तामाङ नेपाली कांग्रेस दोलखाको जिल्ला कार्यसमिति सदस्य, महाधिवेशन प्रतिनिधिहुँदै अहिले गौरीशंकर गाउँपालिकाको कांग्रेस सभापति पनि छन् । गौरीशंकरको पार्टी सभापति र गाउँपालिका उपाध्यक्षसमेत रहेका तामाङ निडर र हक्की स्वभावका नेता भनेर चिनिन्छन् । नेपाली कांग्रेस दोलखाका जुझारु युवा नेता तामाङ आफूलाई जनताको शासक नभएर सेवक भएको भन्न रुचाउँछन् । उनै तामाङसँग स्थानीय विकाससँग केन्द्रित रहेर तरुणदैनिक डटकमका लागि कालिका महतले गरेको कुराकानीको सम्पादित अंश :

आर्थिक वर्ष २०८०/८१ को बजेट कुन क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याउनुभएको छ ?
हामीले आर्थिक वर्ष २०८०/८१ को बजेट बिनियोजन गर्दा भौतिक पूर्वाधारलाई विशेष प्राथमिकतामा राखेर सार्वजनिक गरेका छांै । यस गाउँपालिकामा ९ वटा वडाहरु छन् । ती प्रत्येक वडालाई ५५ लाखका दरले बजेट विनियोजन गरेका छौं । यसरी हरेक वडालाई ५५ लाखका दरले वितरण गर्दा ४ करोड ९५ लाख चाहिन्छ । शिक्षा क्षेत्रलाई २ करोड बिनियोजन गरेका छौं । अन्य विकासका पूर्वाधारतर्फ ८ करोड विनियोजन गरेका छौं ।

भौतिक पूर्वाधारको कुरा गर्दा सबैमा समान ढंगेले गर्ने हो कि कुनै विशेष वडा छन् ?
हाम्रो ९ वटा वडामध्ये एउटा वडा रिङरोडको अवधारणा अन्तर्गत पर्छ । रङरोडको अवधारणमा परेको जुगु, झ्याँकुहुँदै अगाडि बढाइएको छ । त्यो सबै वडाको साझा अवधारणा भयो । त्यसपछि भोर्ले गाउँपालिका जोड सडकको अवधारणा ल्याएका छौं । त्यो वडाको सझा बाटो हो । त्यसकारण पनि हामीले बजेट विनियोजन गर्दा र भौतिक पूर्वाधारको काम गर्दा सबै वडालाई समान रुपले अगाडि बढाएका छौं ।

कुनै वडामा बढी कुनैमा कम नहुने गरी बजेट विनियोजन गरेका छैनौं । यसरी बजेट विनियोजन गर्दा सर्वसम्मत बजेट पारित गरिएको हो । सबैलाई समान रुपले हेर्ने भनेर हरेक वडालाई ५५÷५५ लाखका दरले बजेट बिनियोजन गरेका छौं । वडा नम्बर ५ सुरीमा चाहिँ ढलान भत्किएको थियो । त्यसको पुनःनिर्माणको लागि सुरीलाई १० लाख रुपैयाँ बढी दिएका छौं । अरु सबै वडालाई समान रुपमा बजेट विनियोजन गरेका छौं ।

अहिले सामुदायिक विद्यालयहरुमा पढाइको गुणस्तर, शैैक्षिक सामग्री र विद्यार्थीमैत्री वातावरण भएन भन्ने गुनासाहरु छन् तपाईंको गाउँपालिकामा त्यो समस्या छैन ?
अहिले सामुदायिक विद्यालयहरुमा त्यो समस्या व्यापक रुपमा छ । तपाईंले उठाउनु भएको कुरा यथार्थ हो । यतिबेला देशैभरका सामुदायिक विद्यालयहरुमा पढाइ एकदमै कमजोर छ । शिक्षक संख्याको अनुपातमा विद्यार्थी छैनन् । त्यो समस्या अहिलेको मात्रै नभएर पहिलाका सरकारहरुको पालादेखि हुँदै आएको हो । त्यसलाई हामीले सुधार गर्न खोजिरहेका छौं । सामुदायिक विद्यालयमा साच्चिकै भन्नुपर्दा विद्यार्थी थोरै शिक्षकहरु धेरै भएको अवस्था छ । त्यसले गर्दा ग्रामीण शिक्षाको अवस्था एकदमै दयनीय बन्दै गएको छ ।

शिक्षकहरुमा राजनीति हावी भएर यस्तो आवस्था आएको भन्ने गुनासो छ यसमा के भन्नुहुन्छ ?
सबै शिक्षकहरुमा राजनीति हावी भएको भन्न मिल्दैन, केही हुनुहुन्छ होला । सामुदायिक विद्यालयको पढाइ कमजोर हुनुमा शिक्षकलाई मात्रै दोष दिएर हुँदैन । विद्यार्थी र अभिभावकहरुमा सामुदायिक विद्यालयप्रति आकर्षण धेरै कम भएर गएको छ । त्यसमा पहिलो त मान्छेहरु अलिकति शहरमुखी भएर पनि हो ।

त्यसले गर्दा कि शदरमुकाम चरिकोट र काठमाडौं जानेको संख्या बढेको हो । दोस्रो तपाईंले भनेजस्तै राजनीतिकरणले गर्दा पनि सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको विश्वास घट्दै गएको छ । तेस्रो भनेको आर्थिक अवस्थाले गर्दा पनि यस्तो अवस्था सिर्जना भएको हो । विद्यार्थीहरुले उच्च शिक्षा हासिलसँगै रोजगारीको अवसर पनि खोजेका हुन्छन् । त्यसको लागि कोही काठमाडौं गएर रोजीरोटीको व्यवस्था गर्दै पढ्ने गरेका हुन्छन् । कतिपय विदेश जाने अवसरको खोजीमा पनि काठमाडौं छिरेका हुन्छन् । यी कारणले गर्दा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटेको हो ।

कतिपय स्थानीय सरकारले सरकारी सेवासुविधा लिनेहरुले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने अवधारणा ल्याएका छन्, त्यो कत्तिको जाहेज हो जस्तो लाग्छ ?
तपाईंले उठाउनुभएको विषय एकदमै जाहेज हो । हाम्रो गाउँपालिकाहरुले पनि सरकारी सेवासुविधा लिनेहरु आफ्नो छोराछोरी सरकारी विद्यालयमै पढाउनुपर्ने भनेर लागु गरिसकेका छन् । त्यस विषयमा गौरीशंकर गाउँपालिका पनि सकारात्मक छ । आगामी शैक्षिकसत्रबाट हाम्रो गाउँपालिकामा पनि त्यो नियम लागु गर्नुपर्छ भन्नेमा हामी छौं । त्यो अवधारणा ल्याउँदा सरकारी विद्यालयको पढाइमा गुणस्तर वृद्धि हुन्छ भन्नेमा हामी छौं ।

स्वास्थ्यको क्षेत्रमा भौतिक संरचना भए तर दक्षजनशक्ति, आवश्यक सामग्री र औषधि अभाव छ भन्ने गुनासो छ नि यसमा के भन्नुहुन्छ ?
त्यो एकदमै सत्य हो । अहिले हरेक गाउँपालिकाका प्रत्येक वडामा स्वास्थ्य चौकीहरु छन् । हाम्रो गौरीशंकरको सुरीमा त १५ बेडको अस्पताल भवन निर्माण भएको छ । त्यतिमात्रै नभएर हामीले प्रत्येक वडामा स्वास्थ्य केन्द्रहरु पनि राखेका छौं । अझ वडा नम्बर १ र ६ मा त तीन÷तीनवटा स्वास्थ्य केन्द्रहरु खडा गरेका छौं । तर, दक्ष जनशक्ति अभावका कारण उपयुक्त स्वास्थ्य सेवा दिन गाह्रो भइरहेको छ । जस्तो हामीले १५ बेडको अस्पताल भवन बनाएका छौं । तर, त्यहाँ आवश्यक डाक्टर, नर्स र अन्य प्राविधिकहरु छैनन् । अर्को भूगोलको राजनीतिले गर्दा पनि स्वास्थ्यको क्षेत्रमा अलिकति समस्याहरु देखिएका छन् ।

ग्रामीण क्षेत्रको आयस्रोत भनेको कृषि उत्पादन हो तर खेतीको सिजनमा सधैं मल, बिऊ र सिंचाईको समस्या हुन्छ त्यसलाई स्थानीय सरकारले कसरी लिएको छ ?
मल, बिऊविजन र सिंचाई स्थानीयको मात्रै नभएर राष्ट्रिय समस्या हो । जतिबेला खेतीको सिजन हुन्छ त्यतिबेला किसानलाई राज्यले नै मल, उपयुक्त बिऊविजन उपलब्ध गराउनुपर्ने हुन्छ । हाम्रो जस्तो दूर्गम गाउँपालिकामा त झन् कतिबेला बाटो बन्द हुन्छ कतिबेला पानी पर्छ त्यो पनि थाहा हुँदैन । गौरीशंकर गाउँपालिकामा त झन् धेरै विकट र दूर्गम ठाउँहरु छन् अनि त्यो समस्या त हुने नै भयो नि ।

अहिले हरेक वडामा वडामा बाटो चाहीं पुग्य तर गुणस्तरयुक्त भएन भन्ने छ त्यसलाई १२ महिना चल्ने बनाउन के गर्नुपर्ला ?
हरेक वडाका कच्ची बाटोलाई गुणस्तरयुक्त बनाउन बजेट चाहियो नि । त्यसको लागि केन्द्र सरकारले ध्यान दिनुपर्छ । स्थानीय तहले दिएको बजेटले ती दूर्गम ठाउँका बाटोहरु पुनर्संरचना गरेर फराकिलो र पिच बनाउन पुग्दैन । हामीलाई आफ्नो गाउँपाकिलाका सबै बाटाहरु फराकिलो, बाह्रै महिना चल्ने पिच बनाउने र जनतालाई जतिबेला पनि हिड्डुल गर्न सहज होस् भन्ने छ । तर, के गर्ने स्थानीय तहको बजेटले मात्रै त्यो सम्भव छैन ।

पहिला जनप्रतिनिधि नहुँदा चाहीं म जितेर जान पाए के के न गरौंला भन्ने हुन्छ । जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि उपलब्ध स्रोत, साधनले सबै इच्छा, आकांक्षाहरु परिपूर्ति नहुने रहेछ । मैले अगाडि रिङरोडको कुरा गरेँ, त्यो रिङरोडलाई सबै वडा छुनेगरी चट्ट पिच गर्न पाए हुन्थ्यो भन्ने लागिरहेको छ । तर, बजेट अभावले त्यो इच्छा पुरा गर्न सकिएको छैन । जस्तो हाम्रो गाउँपालिकामा ९ वटा वडा छन् । ट्र्याक्क ओपन सबै वडामा भइसकेका छन् । अब ती ट्याक्कहरुलाई स्तरोन्नति गरेर पिच गर्न आवश्यक छ ।

गौरीशंकर पर्यटकीय दृष्टिकोणले कत्तिको महत्वपूर्ण ठाउँ हो ?
नेपाल र दोलखा जिल्लाकै प्रसिद्ध गौरीशंकर हिमालबाट यस गाउँपालिकाको नामकरण गरिएको हो । प्रसिद्ध च्छो–रोल्पा हिमताल पनि यसै गाउँपालिकाको भूगोल भित्र पर्दछ्र । यस गाँउपालिका साविकको ७ वटा गाविस अर्थात जुगु, झ्याँकु, सुरी, चंखु, मार्वु, खारे र गौरीशंकर मिलाएर बनाइएको हो । नेपालको समय मापन निर्धारण गरिएको ७१३४ मि. अग्लो हिमालको नामबाट नामकरण गरिएको यस गाँउपालिका प्राकृतिक सौन्दर्य र सम्पदाले भपरिपूर्ण छ ।

उत्तरमा चिनको तिब्बत, पूर्वमा सोलुखुम्वुको खुम्बु पासाङल्यामु गा.पा. तथा रामेछापको उमाकुण्ड गा.पा., पश्चिममा विगु गा.पा र कालिञ्चोक गा.पा., दक्षिणमा बैतेश्वर गा.पा.तथा जिरी नगरपालिकालाई छोएको गौरीशंकर गाउँपालिका नेपालकै एक नमुना पर्यटकीय क्षेत्र भनेर चिनिन्छ ।पर्यटकीय दृष्टिले गौरीशंकर नामै काफी छ ।

गौरीशंकर हिमालसँग जोडेर यसको नामाकरण गरिएको छ । त्यसकारण हाम्रो दोलखा जिल्लाका ९ वटा पालिकामध्ये गौरीशंकर पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण हो । गौरीशंकर हिलामा राष्ट्रिय मात्रै नभएर अन्तर्राष्ट्रिय रुपमा परिचित छ । त्यो मात्रै नभएर सगरमाथा आरोहण गर्ने पैदल मार्ग पनि यसै गाउँपालिकामा पर्दछ । त्योसँगै विभिन्न दूध कुण्डहरु हामीसँग पर्याप्त छन् ।

रेड पाण्डा जस्तो दूर्लभ चिज यस गाउँपालिकाभित्र पाइन्छ । त्यति मात्रै हामीसँग विभिन्न हाइड्रो पावरहरु पनि छन् । रात्यले करोडौं लगानी गरेर पदमार्गहरु निर्माण गरिसकेको अवस्था छ । त्यसैगरी विभिन्न ऐतिहासिक र पुरातात्विक गुफाहरु छन् । हनुमन्तेश्वर लगायत विभिन्न प्रख्यात मठमन्दिरहरु पनि छन् । यी कारणले गर्दा गौरीशंकर पर्यटकीय हिसाबले एकदमै सम्भावना बोकेको पालिका हो । त्यसकारण यसको विकास हुन जरुरी छ । त्यसको लागि इच्छाशक्तिसँगै बजेट आवश्यक छ ।

त्यसोभए प्राकृतिक स्रोतसाधनसँगै ऐतिहासिक महत्व बोकेको गाउँपालिका भएकाले यसको विकासका लागि केन्द्र सरकारको ध्यान जान जरुरी छ हो ?
हो । अहिले संघीय सांसद पनि हाम्रो गाउँपालिकाको हुनुहुन्छ । यसपालि उहाँले के कारणले हो बजेट त्यति ल्याउन नसकेको अवस्था छ । यहाँ प्रदेश माननीय पनि त्यत्तिकै जुझारु हुनुहुन्छ । उहाँले चाहीं अलिकति बजेटमा टेवा दिने काम गर्नुभएको छ । तर, संघीय माननीय हाम्रै पालिकाको भएपनि बजेट पहिलाकोभन्दा घट्दो अवस्था छ ।

त्यसले गर्दा पर्यटकीय क्षेत्रमा भनेजस्तो काम गर्न गाह्रो हुने अवस्था देखिन्छ । त्यसकारण पर्यटकलाई आकर्षक गन्तव्य स्थल बनाउन बाटोघाटोको राम्रो व्यवस्था हुनुप¥यो । उनीहरुलाई राम्रो खानेबस्ने व्यवस्थासँगै पर्यटनमैत्री वातावरण हुनुप¥यो । इन्टरनेटलगायत सञ्चारको राम्रो सुविधा हुनुप¥यो । पहिलाको भन्दा त अहिले सुविधा भइसकेको छ । हामी जनप्रतिनिधि भएर आइसकेपछि यस गाउँपालिकाको ९ वटै वडामा इन्टरनेटको सुविधा उपलब्ध गराइसकेका छौं । यति हुँदाहुँदै पनि अझै धेरै काम गर्न बाँकी छ त्यसको लागि हामी प्रयासरत छौं ।

स्थानीय युवाहरुलाई रोजगारयुक्त बनाउन के गर्नुपर्छ जस्तो लाग्छ ?
त्यो चाहीं हामीले मात्रै भनेर हुँदैन, त्यसमा अलि ठूलो समस्या छ । स्थानीय तहले मात्रै प्रयास गरेर युवाहरुलाई रोजगारयुक्त बनाउन सक्ने अवस्था अहिले नै देखिँदैन । केन्द्र सरकारले प्रयास गरेर पूर्वाधार विकासका योजनाहरु ल्याउँदा नहुने चाहीं होइन ।

हामीसँग धेरै हाइड्रो पावसर कम्पनीहरु छन् । यहाँका हाइड्रो पावसरहरु केही निर्माणकार्य सम्पन्न भएर प्रसारणमा आउन लागेका छन् केही निर्माणधिन अवस्थामा छन् । त्यसैगरी पर्यटन प्रवद्र्धनका कुरा छन् । कृषि उत्पादन र पशुपालनमा एकदमै सम्भावना बोकेका ठाउँहरु छन् । यी क्षेत्रमा दीर्घकालीन विकास गर्न सकेको खण्डमा यहाँका धेरै युवाहरुले रोजगारीको पाउने सम्भावना हुन्छ ।

अन्त्यमा गौरीशंकरवासीलाई के भन्न चाहनुहुन्छ ?
यस गाउँपालिकाको साधन, स्रोतले भ्याएसम्म निष्पक्ष ढंगले सबैको समान रुपले काम गर्ने छौं । आग्रह, पूर्वाग्रह नगरी इमानदारपूर्वक साझा रुपमा काम गर्ने छौं । भ्रष्टाचार जरैदेखि अन्त्य गर्नको लागि पहल गर्ने छौं । गौरशंकर गाउँपालिकालाई भ्रष्टाचारमुक्त बनाउन लागिपर्ने छौं । विकास निर्माणको बजेटमा कुनै अनियमितता हुन दिने छैनौं ।

गौरीशंवासीले हिजो जुन आशा, भरोसा राखेर हामीलाई मतदान गरी विजयी बनाउनुभयो त्यसलाई निरासा पार्ने छैनौं । हामीबाट पदीय दुरुपयोग हुने छैन । विकास निर्माणको काम गर्दा निष्पक्ष र इमानदारपूर्वक गर्ने प्रतिवद्धता गर्दछु । अहिले सबैतिर खड्किएको विषय भ्रष्टाचार हो त्यसलाई निर्मूल पार्ने हाम्रो प्रतिवद्धता छ । यसमा सबैको साथ, सहयोग र समर्थन आवश्यक हुन्छ ।


सार्वजनिक जग्गा संरक्षण नहुँदा अतिक्रमणको चपेटामा

सार्वजनिक जग्गा संरक्षण नहुँदा अतिक्रमणको चपेटामा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ५ मा रहेको सार्वजनिक जग्गा...

वन्यजन्तुको सङ्ख्यामा वृद्धिसँगै व्यवस्थापनमा चुनौती थपिएको छः वनमन्त्री डा. महतो

वन्यजन्तुको सङ्ख्यामा वृद्धिसँगै व्यवस्थापनमा चुनौती थपिएको छः वनमन्त्री डा. महतो

काठमाडौं । वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतो वन...

गण्डकीका चौध पालिकामा खेलमैदान निर्माण

गण्डकीका चौध पालिकामा खेलमैदान निर्माण

गण्डकी । ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रमअन्तर्गत गत...

चन्द्रागिरि नगरपालिकालाई बालश्रम मुक्त बनाइँदै

चन्द्रागिरि नगरपालिकालाई बालश्रम मुक्त बनाइँदै

काठमाडौँ । चन्द्रागिरि नगरपालिका आफ्नो नगरलाई बालश्रम मुक्त बनाउने...

पीडित किसानलाई राहत दिँदै गाउँपालिका

पीडित किसानलाई राहत दिँदै गाउँपालिका

ढोरपाटन (बागलुङ) । अघिल्लो साता तमानखोला गाउँपालिकामा हावाहुरीका कारण...