back
chandagiri nagarpalika

ठूलो दलको हैसियतमा कांग्रेसले सत्ताको दावी गर्नु स्वभाविक थियो : गौतम

870 

shares

प्रतिमा गौतम, संघीय सांसद तथा केन्द्रीय सदस्य नेपाली कांग्रेस

नेपाल विद्यार्थी संघबाट राजनीतिमा उदीयमान युवा नेतृ हुन् प्रतिमा गौतम । काठमाडौंको बत्तीसपुलीकी स्थायी वासिन्दा उनी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य र संघीय सांसद पनि हुन् । पद्म कन्या क्याम्पस बागबजारबाट नेविसंघ सभापति भइसकेकी गौतम केन्द्रीय महामन्त्रीसमेत भएकी थिइन् । सधैं नेपाली कांग्रेसको संगठनमा दत्तचित्त उनी सिद्धान्त निष्ठ नेता स्पष्ट वक्ताका रुपमा चिनिन्छिन् । उनै गौतमसँग समसामयिक विषयमा केन्द्रीत रहेर कालिका महतले गरेको कुराकानीको सम्पादित अंश :

नेपाली कांग्रेस ठूलो दल हुँदाहुँदै कसरी सत्ता नेतृत्वबाट बाहिरियो ?
नेपाली कांग्रेसले लामो सहकार्यका लागि गठबन्धनमा गएको थियो । माओवादीलगायत गठबन्धनका दलहरु जो चुनावमा सँगै थियौं । उहाँसँग नेपाली कांग्रेसले तत्कालीन गठबन्धनसँग लामो सहकार्य गर्ने भनेर विश्वास पनि गरेको थियो । संघ र प्रदेश चुनावमा भोट पनि हामीले त्यसैगरी मागेका थियौं । जनताले पनि त्यसै अनुरुप अभिमत दिएका थिए ।

यसरी लामो सहकार्य, सहमति र एकतामा अगाडि बढ्ने लक्ष कांग्रेसको हो । त्यो गठबन्धन बीचमा अलमल पर्नुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अस्थिरपनाको उपज हो भन्ने लाग्छ । उहाँ निर्णय लिन एकदमै हतारिनुभयो । त्यसमा नेपाली कांग्रेस र नेकपा माओवादीका शीर्ष नेताहरुबीच के सहमति भएको थियो त्यो भने ठ्याक्कै हामीलाई थाहा भएन । पछि बुझ्दा कांग्रेस र माओवादी नेताबीच भएको सहमति कार्यान्वयनमा आएन भन्ने कुरा बाहिर आयो ।

उहाँहरुबीच के सहमति भएको थियो त्यो हामीलाई जानकारी हुने कुरा भएन । यसमा हामीले बुझ्दा प्रचण्डजीले चाहीं कांग्रेससँग वार्ता, सहमति र सहकार्यमा विश्वास गर्नेभन्दा पनि भित्रभित्रै एमालेसँग वार्ता गरिरहेको र नेपाली कांग्रेसलाई झुक्याएको जस्तो देखिन गयो । यो चाहीं उहाँको अस्थिर र अपरिपक्वपनको उपज हो भनेर हामीले बुझ्नुपर्छ ।

प्रचण्डको त नेपाली कांग्रेसले समय गुजारेर एक्लै अगाडि बढ्न खोज्यो अनि मैले अर्को गठबन्धन गर्न वाध्य हुनुपरेको हो भन्ने आरोप लगाएका छन् नि ?
नेपाली कांग्रेसजस्तो परिपक्व लोकतान्त्रिक पार्टी त्यसरी कच्चा खेलमा कहिल्यै लाग्दैन । कसरी अगाडि बढ्ने, कसको नेतृत्वमा जाने भनेर वार्ता, छलफल हुँदाहुँदै एकाएक झुक्याएर प्रचण्डजी बालकोटतिर लाग्नुभए हो । यता वार्ता हुँदाहुँदै केही बेरपछि बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता हुँदै छ भन्ने कुरा आयो । फेरि कांग्रेसले पहिला प्रधानमन्त्री माग्ने कुरा पनि अस्वभाविक देखिँदैन । नेपाली कांग्रेस ठूलो दल भएकाले पहिलो फेज म चलाउँछु, दोस्रो फेज तपाईं चलाउनुहोस् भन्दा नसुहाउने कुरा पनि थिएन । तर, त्यस्तो सहमति प्रचण्डजीले चाहनु भएन । नेपाली कांग्रेसले पनि पहिला तपाईं नै बन्नुहोस् भनेर छोडिदिएको भए अझ राम्रो हुने थियो । त्यसमा फराकिलो मन गरेर भइराखेको गठबन्धन जोगाउन नसक्नु नेतृत्वको त्रुटीपूर्ण पनि देखिन्छ ।

कांग्रेसभित्रका अन्य, नेता, पदाधिकारीबीच खासै छलफल भएन, सभापति एक्लै लाग्नुभयो त्यसबाट पनि बिग्रिएको हो भन्ने आरोप छ नि ?
नेपाली कांग्रेसजस्तो प्रजातान्त्रिक पार्टीमा नेता र पदाधिकारीबीच कसरी अगाडि बढ्ने भनेर छलफल हुनुपर्ने हो । पार्टीका उपसभापति, दुवै महामन्त्रीहरु त्यो मिटिङमा नहुनु, सभापति शेरबहादुर दाइ निकटहरुको मात्रै संलग्नता रहेको भन्ने कुरा सञ्चारमाध्यममा आए । विभिन्न पार्टीको गठबन्धनबाट सरकार बनाउने विषयमा छलफल गर्न पार्टीको जिम्मेवार नेता र पदाधिकारीहरु बस्नुपर्ने थियो होला ।

खालि सभापति शेरबहादुर दाइ निकट नेताहरुको मात्रै संलग्नता हुनु र पछि गठबन्धन नै भत्किनु हाम्रा लागि निकै दुखदायी कुरा हो । यसमा पार्टीका नेता र पदाधिकारीसहित मिटिङ बसेको भए यो दोषको भागिदार अन्य नेता र पदाधिकारीहरु पनि हुनेथिए । यसरी पहिला नै पार्टीका जिम्मेवार नेता, नेतृत्व र पदाधिकारीहरु बसेर छलफल गरेको भए यो घटना घट्ने थिएन होला । यदि घटिहाले पनि त्यसको जस अपजस सबैले लिनुपर्ने हुन्थ्यो । अन्य पदाधिकारीहरुलाई संलग्न नगराएका कारण अहिले बढी सभापति र उहाँ वरिपरि भएका नेताहरुको थाप्लोमा परेको हो । तर, पार्टीका सबै पदाधिकारीहरुसँग पहिलादेखि बसेर छलफल गरेको भए यसको परिणाम पनि सकारात्मक आउन सक्थ्यो भन्ने मेरो भनाइ हो ।

गठबन्धनबाट थोरै सिटले भएपनि ठूलो पार्टी भएको कांग्रेसले नेताहरुबीच छलफल गरेर उपयोग गर्न सकेन नि ?
त्यसको लागि चुनाव सकिनासाथ पार्टीको मिटिङ बसेर छलफल गर्नुपर्ने थियो । त्यतातिर पार्टीले ध्यान दिएन । पार्टी नेतृत्व मिटिङ राखेर सबैसँग छलफल नगर्दासम्म हामी केन्द्रीय सदस्यको मात्रै एक्सस हुने कुरा भएन । पार्टीले केन्द्रीय बैठक राखेर सबैको सल्लाह, सुझाव लिएको भए हामीले त्यहाँ राख्ने मौका पाउने थियौं । व्यक्तिगत रुपमा त हामी नेताहरुलाई भनेकै थियांै । तर, औपचारिक रुपमा बैठकमा हामीले भन्ने मौका पाएनौं । किन भने बैठक बसेर सबैसँग सल्लाह, सुझाव लिने इच्छा नेताहरुले देखाउनुभएन ।

महामन्त्री द्वय पनि पोखरातिर घुमघाम गर्न निस्किए, सरकार बनाउन सहयोग गरेनन् भन्ने संस्थापन पक्षको ओरोप छ नि ?
यसमा संस्थापन पक्ष, इतरपक्ष भन्दा पनि पार्टीका पदाधिकारीहरु बालुवाटारभित्रै हुनुपथ्र्यो । पार्टी नेतृत्वकर्ताले पनि उहाँहरुलाई साथमै राखेर निर्णयहरु गर्नुपथ्र्यो । अर्को महामन्त्रीहरुले पनि पार्टी अलि हस्तक्षेपकारी ढंगले भूमिका निर्वाह गर्नुपथ्र्यो । त्यतिबेला महामन्त्रीहरुले नेतृत्वले नचाहँदा पनि पार्टी हामी सबैको हो भनेर अलि हस्तक्षेपकारी ढंगले लाग्नुपथ्र्यो भन्ने सबै नेता, कार्यकर्ताहरुको भनाइ छ । पार्टी भनेको सभापति, पदाधिकारी, केन्द्रीय सदस्यको मात्रै होइन । नेपाली कांग्रेस तमाम नेपाली जनता, कार्यकर्ता, शुभचिन्त, शुभेच्छुक र सर्वसाधारणहरुको आशा र भरोसाको केन्द्र हो । त्यसकारण यसलाई जोगाउन महामन्त्री द्वयबाट गरिएको आशा र भरोसालाई निर्वाह गर्नसक्नुपथ्र्यो । महामन्त्रीहरु अलि बढी सक्रिय हुनुपर्ने पार्टीका सबै तह, तप्काको धारणा छ, हाम्रो पनि धारणा त्यही नै हो ।

कम्युनिस्टहरुले केही गरेनन् भनेर दिक्क भएका जनतामा कांग्रेसले केही गर्छ भन्ने आशा र भरोसा थियो यसले ती आशा मरेर गयो नि अब कसरी अगाडि बढ्ने ?
एकपटक सत्तामा नहुँदैमा अब कांग्रेस सक्कियो । अब सबैतिरबाट खत्तम भयो भनेर निराश हुनुपर्ने कुरा होइन । लामो इतिहास बोकेको लोकतान्त्रिक पार्टी कहिले सत्तामा पुग्छ, कहिले प्रतिपक्षमा रहन्छ । यो लोकतान्त्रिक पद्धतिको नियम नै हो । सधैं कांग्रेस सत्तामा पुगिरहनुपर्छ भन्ने छ र ? कहिलेकाहीं सत्ताबाहिर पनि बस्नुपर्छ । हो, अहिले नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी भएको हिसाबले सत्ताको नेतृत्व गर्नुपर्छ भन्ने सबै साथीहरुको अपेक्षा थियो । ठूलो हुँदाहुँदै पनि नेपाली कांग्रेसलाई एकल सरकार चलाउने म्यान्डेट थिएन ।

त्यसकारण हामीले कतै न कतै सहकार्य, सहमति र एकताको प्रयास गर्नैपथ्र्यो । संख्याको कारणले कसै न कसैसँग कलुसन गरेर जानुपर्ने अवस्था थियो । त्यसमा अरुले संख्या पु¥याएर गएका हुन् । हाम्रो संख्या पुगेन बाहिर छौं । यो एउटा पार्टी सुध्रिने अवसर पनि हो । कुनै पनि कुरा एकपटक बिग्रिएपछि पुनःनिर्माण हुन्छ । त्यसकारण एकपटक हामी तल्लो लेबलसम्मका नेता, कार्यकर्ता, वरिष्ठ नेता, अग्रज नेता सबै जना एकढिक्का भएर पार्टी संगठन दरिलो बनाउनुप¥यो । ताकि आगामी निर्वाचनमा विभिन्न पार्टीहरुसँग सिंग, पुच्छर जोडेर, सापटी लिएर जानुनपरोस् । नेपाली कांग्रेसभित्र चुनौति र अवसर दुवै छन् ।

अहिले सत्तामा पुगेकाहरु धेरैजसो बेतुकमा नेता र पार्टीलाई अराजनीतिक ढंगले गाली मात्रै गरेर आएकाहरु छन् । उनीहरु हिजो राजनीतिक सिद्धान्त, निष्ठा भन्दा गालीगलौज गरेर आएका छन् । उनीहरुलाई पनि जनताले हेर्नुप¥यो । अब जनताका लागि उनीहरुले के गर्दारहेछन् भनेर जनताले मूल्यांकन गर्ने अवसरको रुपमा पनि हामीले लिनुपर्छ । त्यसकारण कांग्रेस सत्ताबाहिर बस्दैमा केही बिग्रिएको, नासिएको र भत्किएको छैन । अब झन् कांग्रेसको संगठन बलियो, दर्बिलो र खँदिलो भएर अगाडि बढ्छ, त्यसमा हामी ढुक्क छौं ।

केन्द्रको कारणले प्रदेशका मुख्यमन्त्री, मन्त्री पनि खुस्कियो भनेर निराशा छाएको छ नि ?
प्रदेशका धेरै ठाउँमा कांग्रेस नेतृत्वमा सरकार बन्दै थियो । त्यो अवसर केन्द्रको कोलुसन बिग्रिएपछि निश्चित रुपमा गुमेको छ । कतिपय प्रदेशका साथीहरुले यहाँबाट प्लेन चढ्दा मुख्य मन्त्री बन्दै छु भन्ने मानसिकता लिएर ओर्लिँदै गर्दा प्रतिपक्षमा पुगेको अवस्थाको सामना गर्नुपरेको हो । किन भने सोचेभन्दा भिन्न प्रकृतिको परिणाम आउँदा साथीहरुमा निराशा आउनु स्वाभाविक हो । निराशा सधैं निराशामै रहिरहन्छ भन्ने होइन ।

राजनीति गर्ने साथीहरुले यसको इमेन्सन बुझेकै हुन्छन् । किन भने सोचेजस्तो परिणाम कहिलेकाहीं हात नलाग्न सक्छ । त्यो राजनीतिकर्मीहरुले बुझेकै हुन्छन् । त्यसैले अब सबै सकियो भनेर कोकोहोला मच्चाउनुपर्ने आवश्यकता छैन । प्रतिपक्षमा बसेर सरकारका राम्रा र नराम्रा कामको मूल्यांकन गर्न सकियो भने त्यसले संगठनलाई अझ बलियो बनाउँछ । मुलुकको विकास गर्नका लागि प्रतिपक्षको भूमिको पनि ठूलो छ । प्रतिपक्ष बलियो भयो भने सरकारका कमीकमजोरी औल्याउन सक्छ । त्यसले मुलुक भ्रष्टाचार, कुरीति, कुसंस्कार र कुशासनबाट जोगिन्छ । त्यसको लागि कांग्रेस एकढिक्का भएर अगाडि बढ्नुपर्छ भन्ने लाग्छ ।

कांग्रेसभित्र अहिले पनि गुट, उपगुटको तानातान छ अनि कसरी एकढिक्का भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छ ?
नेपाली कांग्रेसमा मात्रै होइन अन्य पार्टीमा पनि फरक विचार, धारणाहरु छन् । पार्टीभित्र फरक विचार राख्न नपाउने हो भने प्रजातान्त्रिक पार्टी भन्नै पर्दैन । अझ हामीभित्र त खुल्ला विचार राख्न पाउने अधिकार छ र तपाईंहरु सबैले थाहा पाउनुहुन्छ । कम्युनिस्ट पार्टीमा त के हुँदै छ भन्ने थाहा नै हुँदैन । उनीभित्र नेतृत्वको आदेशात्मक निर्देशन हुन्छ । तर, हामीभित्र त आफूलाई लागेका फरक विचारमा बहस हुन्छ, छलफल हुन्छ । खुल्ला रुपमा नेतृत्वलाई चुनौति दिन भन्न पनि सक्छौं । प्रतिपक्षको भूमिमा निर्वाह गर्नलाई पार्टीको छाँया पर्न दिँदैनौं ।

सरकार बनाउने विषयमा त पार्टी सभापति एक्लै अगाडि बढ्नाले भताभुङ्ग भयो अनि कसरी खुला विचार राख्न पाइन्छ भन्नुहुन्छ ?
खुल्ला कुरा राख्न पाउने अधिकार त नेपालीभित्र धेरै छन् । त्यसको लागि तपाईंले सामाजिक सञ्जालहरु हेर्नुभयो भने छर्लङ्ग हुन्छ । त्यहाँ नेपाली कांग्रेसका साथीभाइहरुले आफूलाई लागेका कुरा खुल्ला ढंगले राख्नुभएको हुन्छ । त्यसमा कहीं कसैको डर नमानीकड एकदमै खुलमखुला ढंगले प्रस्तुत गर्नुभएको पाइन्छ । यद्यपि गठबन्धन टुटेको कुरामा नेपाली कांग्रेस चुकेकै हो । त्यसमा पार्टी सभापति, पदाधिकारी र केन्द्रीय सदस्यको हैसियतले हामीले पनि त्यसको जिम्मेवारी धेरथोर लिनुपर्छ । यसमा कमजोरी भएको हो । तर, एकपटक सरकारबाट हारिनुप¥यो भन्दैमा अब सबै खत्तम भयो भन्ने होइन । लोकतान्त्रिक पार्टीभित्र विचार, समूह हुन्छन् । त्यसलाई हामी पार्टीका आन्तरिक फोरमहरुमा लैजान्छौं । प्रतिपक्षको भूमिका निर्वाह गर्न एकढिक्का भएर अगाडि बढ्ने छौं ।

नवगठित सरकारलाई कसरी लिनुएको छ ?
यो सरकारले आगामी २६ गते विश्वासको मत लिँदै छ । अब विश्वासको मत पनि लिन नभ्याइकन टिकाटिप्पणी गरिहाल्न आवश्यक छैन । उहाँहरुलाई विश्वासको मत लिनुहोस् । देश र जनताको चाहना अनुसार काम गर्नुहोस् भन्ने शुभकामना दिन चाहन्छु । तर, उहाँहरुको गतिविधिहरु कसरी अगाडि बढ्छन्, त्यसलाई हामी प्रतिपक्षमा बसेर मूल्यांकन गर्ने छौं । उहाँहरुले गरेका राम्रो कामको समर्थन र कमीकमजोरीको खबरदारी गरेर अगाडि बढ्छौं ।

देशभरबाट कांग्रेसलाई मत दिएर पहिलो पार्टी बनाउने मतदातालाई के भन्नुहुन्छ ?
विभिन्न पार्टीसँगको गठबन्धन बीचबाट पनि नेपाली कांग्रेलाई मत दिएर पहिलो पार्टी बनाएकोमा देशभरका मतदातालाई धन्यवाद दिन चाहन्छु । अगामी निर्वाचनमा कसैको सिंह, जुरो, पुच्छर नजोडिकन सिंगो कांग्रेस लिएर तपाईंहरुको घरदैलोमा आउने प्रतिवद्धता जाहेर गर्न चाहन्छु । नेपाली कांग्रेसले जनताको मर्म, भावना र चाहना अनुसार काम गर्नुपर्छ । त्यसको लागि तपाईंहरुको साथ, सहयोग र समर्थन आवश्यक छ ।


प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ : सापकोटा

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ : सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले अहिलेको...

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको...

स्वेदश फर्केसँगै प्रधानमन्त्री ओलीले गरे प्रचण्ड र देउवासँग छलफल

स्वेदश फर्केसँगै प्रधानमन्त्री ओलीले गरे प्रचण्ड र देउवासँग छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबाट फर्के...

भुटानका राजा वाङचुक काठमाडौंमा

भुटानका राजा वाङचुक काठमाडौंमा

काठमाडौं । भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक...

पूर्व उपराष्ट्रपति पुनलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी

पूर्व उपराष्ट्रपति पुनलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी

काठमाडौं । पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनलाई नेकपा माओवादी केन्द्रले...

महिला बिरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सरकार प्रतिवद्ध छ : गृहमन्त्री

महिला बिरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सरकार प्रतिवद्ध छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले महिला बिरुद्ध हुने सबै...