सिन्धुली कांग्रेसलाई पहिलाको अवस्थामा फर्काउन राजनीतिमा सक्रिय हुँदै छु : अर्जुन बराल
1.3K
shares
अर्जुन बराल, नेता, नेपाली कांग्रेस, सिन्धुली
नेपाली कांग्रेसका स्थापित पुराना नेता हुन् अर्जुन बराल । सिन्धुलीको भिमानमा स्थायी बसोबास भएका बरालको पठनपाठन भने महोत्तरीको मटिहानी संस्कृत पाठशालामा भएको थियो । स्कुले जीवनदेखि नेविसंघबाट कांग्रेस राजनीतिमा होमिएका बराल एक दशक बढी सिन्धुली जिल्लाको काग्रेस सभापति भए । मटिहानी प्रहरी चौकीमा बम प्रहार गरेको आरोपमा पक्राउ परेका बरालले जलेश्वर, केन्द्रीय कारागारहुँदै नख्खुसमेत गरी ५ वर्षभन्दा बढी जेल जीवन यापन गरेका छन् । सधैं पार्टी र जनताप्रति दत्तचित्त बराल हक्की नेता र स्पष्ट वक्ताको रुपमा चिनिन्छन् । ‘कर्म गर फलको आशा नगर’ भन्ने मूल मन्त्रलाई आत्मासात गर्दै राजनीतिमा होमिएका बरालले राजनीतिलाई कहिल्यै आफ्नो स्वार्थमा प्रयोग गरेनन् । सधैं निष्ठाको राजनीतिमा विश्वास गर्ने उनी निष्पक्ष, इमानदार र निस्कलंक नेताको रुपमा चिनिन्छन् । उनै नेता बरालसँग राजनीतिक संघर्षसँगै समसामयिक विषयमा केन्द्रित रहेर तरुण दैनिक डटकमको लागि कालिका महतले गरेको कुराकानीको सम्पादित अंश :
तपाईं कति सालबाट कांग्रेस राजनीतिमा होमिनुभयो ?
म वि.सं. २०२२ सालदेखि नेपाली कांग्रेसको भातृ संगठन नेविसंघबाट कांग्रेस राजनीतिमा होमिएको हुँ । त्यतिबेला म महोत्तरी जिल्लाको संस्कृत पाठशालामा पढ्थे । वि.सं. २०२२ सालबाट नेविसंघमा आबद्ध भएर विद्यार्थी राजनीति गर्न थालेको २०२७ देखि २०२९ सालसम्म महोत्तरी संस्कृत पाठशालामा नेविंघको अध्यक्ष भएर काम गरेँ । त्यसपछि फेरि २०२९ सालमा याज्ञवल्क्य लक्ष्मीनारायण कम्याम्पस, महोत्तरीमा नेविसंघ अध्यक्ष भएँ ।
तपाईं निर्दलीय पञ्चायती शासनकालमा कति वर्षजति जेल जीवन यापन गर्नुभयो ?
मैले पटक–पटक गरी ५ वर्षभन्दा बढी जेल जीवन यापन गरेको छु । २०३० साल पुस १ गतेलाई कालो दिवसको रुपमा मउने क्रममा भारतीय सीमाना मटिहानी भन्सार अड्डा नजिक बम प्रहार गर्ने कार्यक्रम थियो । त्यसमा म पनि सहभागी थिएँ । त्यहाँ बम प्रहार गरेपछि निरंकुश पञ्चायती व्यवस्थाका प्रहरीले सरकारी कार्यालयमाथि बम प्रहार गरेको भनेर पक्राउ गरेर मलाई जलेश्वर कारागारमा थुन्यो ।
पञ्चायती शासन कालको जेलमा तपाईंहरुलाई कस्तो यातना भयो ?
त्यतिबेला जनकपुरका तत्कालीन अञ्चलाधीश लीलाराज विष्ट र डीएसपी पद्मबहादुर स्वाँरको निर्देशनमा प्रहरीले निर्घात कुटपिट गरी ज्यानसमेत मार्ने धम्की दिएको थियो । केरकार बयानका क्रममा पनि प्रहरीले क्रूर, नृसंश र अमानवीय व्यवहार गरेको थियो । त्यतिबेला मलाई महोत्तरीको जलेश्वर प्रशासनले दश वर्षको जेल अथवा मृत्युदण्डको सजाय हुनुपर्छ भनेर केन्द्रीय कारागारलाई सिफारिस गरेको थियो । त्यसपछि मलाई केन्द्रीय कारागारहुँदै नख्खु जेल चलान गरियो ।
नख्खु जेलमा हुँदा तपाईंसँग कांग्रेसका को को नेता थिए ?
त्यतिबेला नख्खु जेलमा मसँगै रहेका प्रजातान्त्रिक लडाइँका योद्धाहरुः कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, चिरञ्जीवी वाग्लेलगायतका नेताहरु थिए । हामीहरु नख्खु जेलमा रहेकै बेला २०३१ सालमा हाम्रा साथीहरु लीलाराज दाहाल, ठगीराज दाहाल, खगेन्द्र दाहाल र गोकर्णबहादुर कार्कीलाई तत्कालीन निरंकुश सरकारले गोली हानी निर्ममतापूर्वक हत्या गरेको थियो । त्यो घटनामा म संयोगले मात्रै जोगिएको छु ।
मटिहानीमा तपाईंसँग बम प्रहार गर्ने अन्य साथीहरु को को थिए ?
२०३१ सालमा मटिहानी क्याम्पसको नेविसंघमा रहेका अन्य साथीहरुमा सहीद केशव कोइराला उहाँलाई मटिहानी चौकीमा बम प्रहार गरेको अभियोगमा सोही ठाउँमा मारिनुभयो । त्यहीं बम काण्डमा संलग्न भएका महेश कोइरालालाई सोलुको टिम्बुरबोटेमा प्रहरीले गोली हानी हत्या ग¥यो । त्यतिबेला म चाहीं जेलमा भएको हुनाले बाँच्न सफल भएको हुँ । बाहिर भएको भए मेरो पनि हालत त्यहीं नै हुने थियो ।
त्यसयताको आन्दोलनहरुमा तपाईंमाथि कत्तिको धरपकड भयो ?
वि.सं. २०३३ सालदेखि २०४६ सालसम्म पार्टी संगठनको लागि विभिन्न आन्दोलन, कार्यक्रमहरुमा सहभागी हुँदा पटक–पटक जेल परेको छु । २०४६ सालमा प्रजातन्त्र आउनुभन्दा अगाडि म कारागारमै थिएँ । २०४६ साल चैत २६ गते प्रजातन्त्र घोषणा भएपछि म सिन्धुली कारागारबाट छुटेको हुँ । त्यतिबेला प्रजातन्त्र नआएको भए मलगायत धेरै नेताहरु जेलमै जीवन बिताउनुपर्ने थियो । २०३३ सालमा ३ वर्ष कैद भुक्तान गरी २० हजार जरिवाना तिरी जुलमुक्त भएको हुँ ।
तपाईं सिन्धुलीको कांग्रेस संगठनमा कति सालबाट लागिपर्नुभयो ?
विद्यार्थीकालमै प्रहरीमाथि बम प्रहार गरेको कारण जेल जीवन बिताउन वाध्य भइयो । विद्यार्थी कालमा महोत्तरीको मटिहानीमा नेविसंघको राजनीति गरियो । जब नख्खुको ३ वर्षे कैद सजाय व्यतित गरेर फर्किएपछि २०३५ सालबाट आफ्नो गृहजिल्ला सिन्धुली केन्द्रित राजनीतिमा सक्रिय भएँ । २०३५ देखि २०४२ सालसम्म नेपाली कांग्रेस सिन्धुलीको जिल्ला समिति सदस्य भएर काम गरेँ । त्यसपछि २०४२ देखि २०५२ सालसम्म नेपाली कांग्रेस सिन्धुली जिल्लाको सभापति भएर काम गरेँ । २०४६ सालको आन्दोलनपछि सिन्धुली जिल्ला विकास समितिको कार्यबहाक सभापति पनि भएर काम गरेँ ।
त्यति लामो समय संगठनमा लाग्नुभएको रहेछ संसदको चुनाव लड्नु भएन ?
नेपालमा पुनःप्रजातन्त्र प्राप्तिपछि २०४८ सालमा भएको आमनिर्वाचनमा सिन्धुलीको क्षेत्र नं. १ बाट सांसदको चुनावमा उठेको थिएँ । पार्टीमा मेरो योगदानको मूल्याङ्कन गरे मलाई टिकट दिएको थियो । त्यतिबेला सिन्धुलीका कम्युनिस्टहरुको विभन्न जालजेलका कारण (६४९) को झिनो मतान्तरले पराजित भएँ । आफू पराजित भएपनि म सभापति भएको हैसियत दुईवटा क्षेत्रमा नेपाली कांग्रेसका साथीहरुले चुनाव जित्नुभयो ।
त्यतिबेला क्षेत्र नं. २ बाट प्रकाश कोइरालाले र क्षेत्र नं. ३ बाट डा. ध्रुव शर्माले चुनाव जित्नुभएको थियो । २०४८ सालको निर्वाचनमा थोरै मतान्तरले पराजित भएपनि सभापति भएको हैसियतले मैले पार्टी संगठनलाई अझ बलियो बनाउने प्रयत्न गरेँ । त्यसको परिणाम स्वरुप २०५१ सालको मध्यावधी निर्वाचनमा अन्य जिल्लाबाट कांग्रेसले हार खाइरहँदा सिन्धुलीका तीनवटै क्षेत्रमा विजया हासिल गरेको थियो । त्यतिबेला सिन्धुलीको चुनावी क्षेत्र नं. १ बाट वीपीन कोइराला, क्षेत्र नं. २ बाट होमराज दाहाल र क्षेत्र नं. ३ बाट डा. ध्रुव शर्माले चुनाव जिते ।
यसरी आफू जिल्ला सभापति भएको बेला २०४८ सालमा आफै संसदीय निर्वाचनमा पराजित हुनुपरेपछि पार्टी संगठनलाई सबै तहतप्कामा बलियो बनाउन अभियान चलाएँ । त्यसकारण २०४८ सालमा गुमेको निर्वाचन क्षेत्र नं. १ को सिट २०५१ सालको मध्यावधी निर्वाचनमा फर्काउन सफल भएको थिएँ । त्योसँगै २०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा पनि अधिकांश गाविसमा विजया हासिल गरी जिल्ला विकास समितिमा कांग्रेसलाई विजयी गराउन सफल भएको थिएँ ।
तपाईं पार्टी सभापति हुँदा सिन्धुली कांग्रेसको चाम अहिले किन खस्कियो जस्तो लाग्छ ?
पार्टीलाई गाउँगाउँमा चलायमान बनाउन जिल्ला नेतृत्व तल्लोतहसम्म पुग्ने गरी गाउँका दूरदराजमा घुम्नुपर्छ । स्थानीय तहमा इमानदार संगठनप्रति प्रतिवद्ध कार्यकर्ता छनोट गरेर जनप्रतिनिधि बनाउनुपर्छ । पार्टीभित्र पहिलादेखि दुःख गरेका साथीहरुको कामको मूल्याङ्कन हुनुपर्छ । पद र पैसामा भन्दा पनि त्याग, तपस्या, बलिदानीको ख्याल गर्नुपर्छ ।
हाम्रो पालामा एउटा साधारण सदस्य हुनलाई पनि कति धेरै संघर्ष गर्नुपथ्र्यो । अहिले त अगिल्लो दिन साधारण सदस्य भोलिपल्ट पदाधिकारी अनि केही समय नबित्दै सांसद, मन्त्री हुनुपर्ने । देश र जनताको चिन्ता गर्नुभन्दा आफ्ना आसेपासे, नातागोताको चिन्ता गर्ने । कसरी हुन्छ राजनीति गरेर काठमाडौंमा घर, घडेरी जोड्ने । जिल्लाबाट पद लिएर काठमाडौं छिरेपछि एकैचोटी चुनावका बेला टुरिस्ट जस्तो भएर जिल्ला जाने जस्ता क्रियाकलाप नेताहरुबाट हुन थालेपछि पार्टी संगठन ध्वस्त हुँदै गएको हो ।
खासगरी जिल्ला सभापतिले कार्यकर्ताको संरक्षण गर्न नसकेकै कारण उनीहरु विस्थापित हुँदै गएर तीनवटा चुनावी क्षेत्र हुँदा तिनैवतै जित्न सफल कांग्रेस अहिले एउटा सिट जित्न पनि विभिन्न पार्टीहरुसँग गठनबन्धन गर्नुपरेको छ ।
संगठनलाई बलियो बनाउने मान्छे तपाईँ २०५२ सालपछि किन निस्क्रिय हुनुभयो ?
म नेपाली कांग्रेसमा निस्क्रिय भएकै छैन । २०४२ सालदेखि २०५२ सालसम्म सिन्धुली कांग्रेसको सभापति भएर संगठनलाई चलायमान बनाएको हुँ । त्यसपछि २०५२ सालमा मसँग मित्र वीपी कोइराला पनि सभापतिमा चुनाव लड्नुभयो । त्यो निर्वाचनमा म निर्वाचित भएँ उहाँ पराजित हुनुभयो । त्यसपछि पार्टी संगठनको काम गर्ने बेलामा साथीहरुबीच विभिन्न खटपट हुन थालेपछि सभापति निर्वाचित भएको दुई महिनामै पदबाट मैले राजीनामा दिएँ । म २०५२ देखि २०५६ सालसम्म सिन्धुली क्षेत्र नं. १ को सदस्य, २०५६ सालदेखि हालसम्म सिन्धुली क्षेत्र २ को सदस्य र महासमिति सदस्य छु । तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिक सिन्धुली जिल्ला कार्यसमितिको प्रमुख सल्लाहकार भएर पनि काम गरेँ ।
तपाईंलाई पार्टी संगठन छोडेको आरोप छ नि ?
मैले विद्यार्थी जीवनदेखि जागिर खाने उर्बर समय पार्टी संगठनमा खर्चिएँ । त्यसले गर्दा मेरो छोराछोरीको पठनपाठनमा पनि कठिनाइ भयो । छोराछोरी सानै सबैलाई पढाउनुपर्ने, आफ्नो आयआर्जन केही थिएन । अनि काठमाडौंमा टिक्नै गाह्रो हुन थालेपछि मैले होल टाइम पाटी संगठनमा लाग्न सकिँन । र, २०६८ सालबाट २०७८ सालसम्म काठमाडौंमा गाईपालन गरी जीवीको पार्जन गर्न लागेँ । गाईंपालनसँगै कांग्रेस राजनीतिमा क्रियाशील थिएँ । २०७८ सालबाट गाईंपालन पनि छोडेर अहिले पुरै समय राजनीतितिर लगाउन थालेको छु ।
अब फेरि सिन्धुली फर्किएर कांग्रेस संगठनमा लाग्नुहुन्छ ?
मैले २०५२ सालमा निर्वाचित सभापति पदबाट राजीनामा दिएपछि थलालिङ्ग भएको सिन्धुली कांग्रेस संगठनलाई पहिलाकै अवस्थामा फर्काउनको लागि सक्रिय राजनीतिमा आउन गालेको छु । त्यसको लागि म फेरि सिन्धुली गएर पार्टी संगठनलाई बलियो बनाउने र साथीहरुको मनोबल बढाउने काम गर्ने विचार छ । त्यसको लागि मैले गाईंपालन पेशा पनि छोडिसकेको छु । छोराछोरी पढाउने काम पनि सकिएको छ । अब एकपटक डटेर सिन्धुलीमा कांग्रेस संगठनलाई बलियो बनाउने मेरो धोको छ । त्यसमा साथीहरुको पनि राम्रो साथ सहयोग रहने छ भन्ने सोचेको छु ।
म सभापति भएको बेला २०५१ को मध्यावधी निर्वाचनमा सिन्धुलीका तीनवटै सिटमा कांग्रेस विजयी भएको थियो । त्यो साख फर्काउनको लागि पनि म आफ्नो गाईपालन पेशा छोडेर सक्रिय राजनीतिमा पुनःफर्किन लागेको हुँ । मेरो पहिलाको योगदानलाई साथीहरुले सम्झिरहनु भएको रहेछ । त्यहीं योगदानको मूल्याङ्कन गरेर घरखरै सम्पन्न बागमती प्रदेश सम्मेलनमा सिन्धली जिल्लाको प्रतिनिधित्व हुने गरी मलाई सम्मान गरिएको थियो ।
तपाईं राष्ट्रिय सभामा जाने पनि चर्चा छ, फेरि सिन्धुलीमा कांग्रेस संगठन बढाउन लागिपर्ने भन्नुहुन्छ कसरी सम्भव हुन्छ ?
सिन्धुलीको गुमेको कांग्रेस साख जोगाउन नै मैले राष्ट्रिय सभामा जाने इच्छा गरेको हुन्छ । फेरि राष्ट्रिय सभामा त हामीहरु जस्तै परिपक्व व्यक्तिहरु जाने हो । यदि म राष्ट्रिय सभाको सांसद भएँ भने सिन्धलीमा कांग्रेस संगठनलाई बलियो बनाउने छु । जसरी २०५१ सालमा जिल्लाका तीनवटै सिटमा कांग्रेसलाई जिताउन सफल भएको थिएँ । त्यसैगरी वीपीको घर भएको जिल्ला सिन्धुलीलाई कांग्रेसमय बनाउने मेरो इच्छा छ । म सम्पत्ति कमाउन काठमाडौंमा घर बनाउन राष्ट्रियसभाको सांसद हुन लागेको होइन । मलाई पुग्ने पैतृक सम्पत्ति र गाईंपालन गरेर आर्जन गरिसकेको छु । अब मेरो जीवन राजनीति र समाजसेवामा समर्पित गर्न चाहन्छु ।
त्यसैले राष्ट्रिय सभाको लागि शीर्ष नेताहरुले पनि वचन दिनुभएको छ । त्यसमा समकालीन साथीहरुले पनि पहल गरिरहनुभएको छ । त्यसकारणले पनि म राष्ट्रिय सभा सांसद हुन सक्छु । त्यदि म राष्ट्रियसभाको सांसद भएको खण्डमा सुविधा भोग गर्ने, सम्पत्ति जोड्ने होइन त्यो समय सुविधा समाजसेवा र राजनीतिक संगठनमा खर्चने छु ।
भन्न त सबैले त्यसै भन्छन् तर व्यवहारमा देखिँदैन तपाईंबाट कसरी जनताले विश्वास गर्ने त ?
मैले अहिलेसम्म त्यो अवसर नै पाएको छुइन । पहिला अवसर पाउनुपर्छ अनि काम गर्छ कि गर्दैन भनेर मूल्याङ्कन गर्नुपर्छ । म सत्ता, शक्ति र पदको लोभी छैन । यदि त्यस्तो हुनेथिएँ भने म आफूले जितेको सभापति पदबाट राजीनामा दिएर हिड्ने थिइन होला । त्यसकारण मेरो योगदानलाई मूल्यांकन गरेर पार्टीले त्यो मौका दिएमा जनतासामु काम गरेर देखाउने प्रतिवद्धता गर्दछु ।
मैले अगाडि पनि भनिसकेको छु । म काठमाडौंमा घर बनाउन, परिवार पाल्न र सुखभोग गर्न राष्ट्रिय सभाको सांसद हुने इच्छा गरेको होइन । एक पटक सत्तामा रहेर आफूसँग लड्भिड गरेर हिंडेका साथीहरुको दुःखसुखमा साथ लिउँ भनेर इच्छा गरेको हुँ । त्यसमा पार्टी नेतृत्व र साथीहरुले न्याय गर्नुहुन्छ भन्नेमा विश्वस्त छु ।
वि.सं.२०८० पुस १२ बिहीवार १२:१३