साधन, स्रोतले भ्याएसम्म गोलन्जोरवासीलाई परिणामुखी काम गरेर देखाउन चाहन्छु : अध्यक्ष बराल
468
sharesशंकरराज बराल, अध्यक्ष, गोलन्जोर गाउँपालिका, सिन्धुली
एमालेका उदीयमान युवा नेता हुन् शंकरराज बराल । सिन्धुली गोलन्जोरका स्थानीय वासिन्दा बराल गाउँपालिका अध्यक्ष हुन् । ‘सादा जीवन, उच्च विचार’का धनी बराल जनप्रतिनिधिले पार्टीभन्दा माथि उठेर नागरिकको काम गर्नुपर्ने बताउँछन् । सधैं जनताको कामप्रति दत्तचित्त उनी आफूलाई जनताको शासक नभइ सेवक ठान्दछन् । उनै बरालसँग गोलन्जोर गाउँपालिकाको विकास निर्माणसम्बन्धी समसामयिक विषयमा केन्द्रित रहेर तरुण दैनिकका लागि कालिका महतले गरेको कुराकानी
तपाईं अध्यक्ष भएको पनि दश महिना पुरा हुनलागेको छ, गाउँपालिकाको विकास निर्माणका लागि कस्ता योजनाहरु लिएर अगाडि बढिरहनुभएको छ ?
गाउँपालिकाको कार्ययोजना त गत असारमै बनेको हो । गोलन्जोर गाउँपालिका पहाडी र विकट भू–भागले ढाकिएको क्षेत्र हो । खासगरी हामीले शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रलाई विशेष जोड दिएर अगाडि बढेका छौं । यहाँ शिक्षाको क्षेत्रमा भन्नुपर्दा विद्यालयहरुमा दरबन्दी कम भएको ठाउँमा अनुदानको व्यवस्था गरेका छौं । त्यसैगरी स्वास्थ्यको क्षेत्रमा पनि हामीले स्वास्थ्य सिविर सञ्चालन गर्ने, आँखाको परीक्षण गर्ने, स्वास्थ्य बीमा गर्ने काम पनि गरेका छौं ।
खानेपानी, जेष्ठ नागरिक, महिला, बालबालिका, दलित तथा युवाका समस्यालाई समेटेर अगाडि बढेका छौं । हामीले करिव ७ सय घरपरिवार त्यसमा दलित र अत्यन्त आर्थिक रुपले विपन्न परिवारहरुलाई गाउँपालिकाको तर्फबाट स्वास्थ्य बीमा गरेका छौं । पूर्वाधारको क्षेत्रमा सडक, खानेपानी र सिंचाइको क्षेत्रमा काम धमाधम भइरहेको अवस्था छ ।
म सामाजिक क्षेत्रमा काम गर्न रुचाउने व्यक्ति हुँ । त्यसअनुरुप काम गर्ने प्रतिवद्धता मैले गरेको छु । आमनागरिकहरुलाई ती क्षेत्रका काम गर्ने गरी हामीले नीति तथा कार्यक्रम पनि त्यही अनुरुप ल्याएका छौं । उक्त नीति तथा कार्यक्रम अनुसार गाउँपालिकाको साधन, स्रोतले भ्याएसम्म परिणाममुखी काम देखाउने हाम्रो प्रयास हुनेछ ।
पछिल्लो समय सबैतिर व्यवसायिक कृषि उत्पादनमा जोड दिनुपर्ने भनेर कुरा चाहीं उठिरहन्छ, ठोस काम भएको छैन, त्यसमा कसरी अगाडि बढिरहनुभएको छ ?
त्यो सत्य कुरा हो । कृषिको क्षेत्रमा भन्नुपर्दा अघिल्लो सरकारले व्यक्तिगत रुपमा अनुदानहरु बाँड्ने गरेको रहेछ । त्यसमा व्यक्तिहरुले फर्म दर्ता गराउने र त्यसको आधारमा अनुदानहरु दिने गरेको पाइयो । त्यो परम्परालाई निरन्तरता दिनुपर्ने भनेर हाम्रो पालामा पनि खोजिएको छ । त्यसरी बाँडिएका रकमहरु ‘मिसयुज’ भएको रहेछ । त्यसरी बाँडिएका रकमहरु खास व्यवसायिक किसानहरुकोमा नपुगेको तर व्यवसाय नगरेका टाठाबाठा मान्छेहरुले लगेर खाएको पाइयो ।
पहिलाको सिको गरेर अहिले जति पनि फोन आउँछ त्यसमा अनुदान माग्ने । मैले यतिवटा बंगुर पालेको छु, मैले यतिवटा बाख्रा पालेको छु, मलाई गाउँपालिकाबाट पैसा हालिदिनुप¥यो भन्ने गरेको पाइयो । अब त्यसलाई अलिकति परिवर्तन गरेर सहकारी समूहमार्फत बजेट परिचालन गरेर वास्तविक किसानहरुको हातमा पु¥याउने परम्परा ल्याउने जमर्को गरेका छौं । त्यसको लागि गाउँपालिकाको कार्यालयमा एउटा सहकारीको व्यवस्था गरेका छौं ।
गोलन्जोर गाउँपालिकामा रहेका सहकारीहरुको भेला सकेसम्म हामीले फागुनको पहिलो हप्ता गर्ने जमर्को गर्दै छौं । त्यो सहकारी समूहमार्फत पशुपालन, कृषि उत्पादन, तरकारी खेती र फलफूल उत्पादन गरेर कृषकहरुको आयआर्जन बृद्धि गराउने त्यसको माध्यम चाहीँ सहकारी समूहरुलाई बनाउने भन्ने सोच बनाएका छौं । हामी आइकन के परिवर्तन भयो भन्ने कुरा ठ्याक्कै डाटामा भन्न सम्भव छैन । तर, पनि हामी केही न केही नयाँ ढंगले काम गर्न प्रयासरत छौं ।
सिंचाइको सर्वसुलभ व्यवस्था छैन त्यसको लागि हामीले धेरै ठाउँमा लगानी गरेका छौं । यस गाउँपालिकाको माथिल्लो भेगमा जुनारको सुपरजोन छ । त्यसको व्यवस्थापनको लागि काँटछाट र किटनासक विषादीे आदिको कृषि सहकारीमार्फत काम गरिरहेका छौं । अहिले सुरुवाती चरणमा छौं, यसको नतिजा केही समयपछि देखिन्छ भन्ने मलाई लागेको छ ।
गोलन्जोर भौगोलिक दृष्टिले विकट भएकाले बाटोघाटोको व्यवस्थापनलाई असर पारेको छ, यसलाई कसरी समाधान गर्ने त ?
तपाईंले एकदमै सही कुरा उठाउनुभयो । खासमा भन्ने हो भने गोलन्जोर गाउँपालिका जिल्ला सदरमुकामबाट नजिकै भएर पनि भौगोलिक दृष्टिले अत्यन्त विकट रहेको छ । यस गाउँपालिकामा खासगरी महाभारत लेक, बीचको एरिया र गड्तिर एरिया गरी तीन खालको भौगोलिक अवस्था रहेको छ । यहाँ तीन खालको हावा पानी रहेको र तीन खालकै उत्पादन क्षमता भएको भूगोल हो गोलन्जोर । यस्तो भौगोलिक अवस्थिति भएकाले सबैतिर बाटोघाटोको व्यवस्थापन गर्न असहज भएको छ ।
फेरि सडक बाटो भन्नेबित्तिकै अत्यन्तै महंगो र कठिन विषय हो । सबैतिर गाउँपालिकाको आन्तरिक बजेटले मात्रै बाटोघाटोको सहज व्यवस्थापन गर्न कम सम्भावना रहन्छ । त्यसको बाबजुद पनि भइराखेका भित्री बाटाहरुलाई निरन्तर सरसफाइ गर्ने, भत्किएका ठाउँमा पर्खाल लगाउने, ग्राभेल गर्ने जस्ता कामहरु भइराखेका छन् । तर, त्यसलाई क्वालिटीयुक्त बनाउन, स्तरोन्नति गर्न चाहीं माथिल्लो निकाय जस्तो प्रदेश र संघीय सरकारसँग सहयोग माग्ने पहलकदमी भइराखेको छ ।
तर, हाम्रो आन्तरिक बजेटबाट चाहीं बाटोघाटो परिस्कृत गर्ने ठूलो बनाउने काम चाहीं कठिन नै हुनेरहेछ । त्यति हुँदाहुँदै पनि अधिकांश ठाउँमा बाटो खन्ने काम त भएका छन् । त्यसबाट सानातिना जस्तो बुलेरो, ट्याक्टर जस्ता यातायातका साधनहरु हिड्ने बाटो त बनेका छन् । तर, त्यसरी खनिएका बाटोहरुमा अलिकति पानी पर्नेबित्तिकै समस्या हुने, आधा घण्टामा पुग्ने ठाउँमा पाँच घण्टा लाग्ने जस्ता समस्याहरु छन् ।
तर, पनि हामीले आफ्नो साधन, स्रोतले भ्याएसम्म काम गरेर कम्तिमा असारसम्म सबै टोलवस्तीमा गाडी पुग्ने गरी काम भइरहेको छ । त्यसलाई क्वालिटीयुक्त बनाउने, बाह्रै महिना सहज रुपमा गाडी चल्ने बनाउन संघ र प्रदेशको सहयोग चाहिने रहेछ भनेर पहल गरिराखेका छौं । आगामी दिनमा सडक व्यवस्थापन राम्रो हुन्छ भन्ने लाग्छ ।
गोलन्जोरको भूगोल हेर्दा पशुपालनको व्यवस्थापन कसरी गर्न सकिन्छ जस्तो लाग्छ ?
पशुपालनको कुरा गर्नुपर्दा तल्लो सुनकोशी एरियामा चाहीं अन्नबाली र तरकारी बालीमै जोड दिनुपर्ने भन्ने लाग्छ । माथिल्लो महाभारत एरियामा फलफूल र तरकारी उत्पादनमा जोड दिनुपर्छ । त्यसैगरी बीचको एरियामा चाहीं खासगरी पुशपालनलाई जोड दिनुपर्छ त्यसमा बाख्रापालन उपयुक्त हुन्छ । यसमा मेरो अनुभव पनि छ । विगतमा मैले बाख्रापालनबाट राम्रो आयआर्जनको स्रोत बनाएको थिएँ
त्यसकारण बाख्रापालन किसानहरुको राम्रो आम्दानीको माध्यम हुन सक्छ । अर्को हामीले गोलन्जोर गाउँपालिकामा ठूलो भोलममा दूध संकलन गर्ने डेरीहर पनि खोलिसकेका छौं । त्यसले भैंसी पालन व्यवसाय पनि राम्रो हुने देखिन्छ । अहिले डेरीको क्षेमता अनुसार दूध उत्पादन कम भइरहेको छ । अहिले खनियाखर्क, खुर्कोटमा डेरीको व्यवस्था गरिएपछि भैंसीपालनको थालनी भएको छ । यी ठाउँहरुका प्रत्येक घरमा दुई, तीनवटाका दरले भैंसीपालन गर्न थालिएको छ ।
यसरी घरपायक पर्ने ठाउँमा डेरीको व्यवस्था भएपछि तराईंबाट दुधालु भैंसीहरु ल्याएर पाल्ने काम किसानहरुमा बढेको छ । तर, यसमा समस्या चाहीं के छ भने राज्यले लगानी गरिदियोस् भन्ने चाहना युवाहरु, किसानहरुको रहेको छ । जस्तो बाख्रापालनको लागि पनि काम थालनी गर्नु अगाडि नै राज्यले खोर बनाउन लगानी गरिदियोस् भन्ने चाहना युवा, किसानहरुमा बढी भएको पाइन्छ । हामीले चाहीं उत्पादनलाई हेरेर अनुदान दिऔं भन्ने सोच बनाएका छौं । झट्ट हेर्दा जति अनुदान दिइएको छ, त्यो अनुसार उत्पादन छैन ।
पहिलाका जनप्रतिनिधिहरुले सस्तो लोकप्रियताका लागि कनिका छरेभैंm बजेट छर्ने गरेकाले अहिले पनि त्यस्तो खोजेका छन् हो ?
मैले भन्न खोजेकै त्यहीं हो । यहाँ तपाईंलाई म एउटा उदाहरण दिन चाहन्छु । हिजोका जनप्रतिनिधिले खनियाखर्कका एक व्यक्तिलाई ३६ देखि ४२ लाखसम्म पशुपालन भनेर बजेट दिइएको पाइयो । त्यहाँ अहिले न गोठ छ, न कुनै पुशपालन नै गरिएको छ, न पशुपालन गरेको कुनै निसा प्रमाण नै छ । ती व्यक्तिले त्यो बजेट अर्कै क्षेत्रमा लगानी गरेको, पशुपालन नगरेको पाइयो । त्यो खालको परिपाटीको सिको अहिले किसानहरुले गरिराखेका छन् ।
उनीहरुमा के छ भने राज्यले पैसा दिन्छ, त्यसरी दिएको पैसा जुन उद्देश्यले दिएको हो, त्यो गर्नुनपर्ने जे गर्दा पनि हुन्छ भन्ने मानसिकताको विकास नागरिकहरुमा भएको देखिन्छ । अहिले त बानी नै भयो क्या गाउँपालिकासँग माग्दा पाइन्छ । पाइसकेपछि जे गर्दा पनि हुन्छ भन्ने मानसिकता भइसकेको छ । यस्तो खालको बुझाइ स्थानीयहरुसँग भएकाले पनि अहिले समस्या भएको छ ।
त्यसोभए हिजोका दिनमा जुन शीर्षकमा बजेट लगानी गरिएको छ, त्यो क्षेत्रमा उन्नती भएको देखिएन हो ?
मुख्य समस्या त्यहीं हो । त्यतिबेला गाईपालन, बाख्रापालनमा लगानी गरेको देखिन्छ, अन्य पशुपालनमा लगानी गरेको देखिन्छ । तर, बाख्रापालनमा जति लगानी गरेको देखिन्छ । त्यो लगानी अनुसार आज हामी मासुमा आत्मानिर्भर छैनौं । गाईंपालनमा लगानी गरेको देखिन्छ दूधमा आत्मनिर्भर भएनौं । यसरी अधिकांश बजेट बिनाकाम बाँडिएको देखियो । बजेट दिइसकेपछि ती किसानको त्यो क्षेत्रमा लगानी र उन्नती त देखिनुप¥यो नि । अहिले पनि हरेक वडा, गाउँ, टोलबाट अधिकांश फोन आउँछ, ती खाली व्यक्तिगत रुपमा बजेट पाऊँ भन्ने मात्रै । उहाँहरुबाट खाली मैले गाई पालेको छु, बाख्रा पालेको छु, बंगुर पालेको छु अनुदान चाहियो भन्ने मात्रै सुनिन्छ । दीर्घकालीन र सामूहिक कामको लागि फोन आउँदैन ।
हिजोका दिनमा व्यक्तिगत रुपमा बाँडेर बजेट दूरुपयोग भयो, अब सामुहिक रुपमा दिएर दीर्घकालीन काम गर्न खोज्नुभएको हो ?
यसमा म तपाईंलाई अर्को पनि जानकारी गराउन चाहन्छु । अलिकति अनुभवको कमीले भनौ अथवा वाध्यताले भनौं वडाहरुलाई दामासाही बजेट बाँड्नुपर्ने परिस्थिति सिर्जना भयो । कतिपय वडाहरुले व्यक्तिगत अनुदानको व्यवस्था पनि गर्नुभएको छ । हामीले सामूहिकताको कुरा गर्दागर्दै पनि कुनै वडाहरुमा सफल भएका छौं भने कुनै वडाहरुमा चाहिँ पहिलेकै शैलीले निरन्तरता पाएको छ । त्यसको लागि गाउँपालिका अन्तर्गत भएका सहकारीमार्पmत वितरण गरिएको बजेटहरु के भइरहेको छ भनेर अनुगमन गरी जवाफदेही बनाउने कुरामा कठिबद्ध छौं । तर, आजको अवस्थासम्म फलानो सहकारी समूहलाई यति बजेट भनेर छुट्याएको अवस्था भने छैन ।
स्थानीय सरकार एकदमै महंगो भयो, दर्ता, सिफारिस र स्थानीय उत्पादन बेचबिखनमा पनि कर लगाउने भएकाले समस्या भयो भन्ने छ, गोलन्जोरमा त्यस्तो समस्या छैन ?
समस्या त निश्चित रुपमा छ । स्थानीय नागरिकले सानातिना कुरा जस्तो दर्ता, सिफारिस, स्थानीय उत्पादन जस्ता कुरामा कर तिर्नु नपरे हुन्थ्यो भनेर चाहना राख्नु नाजाहेज होइन । यहाँलाई के भन्न चाहन्छु भने विगतमा जुन अवस्था थियो त्यसबाट बढाउने काम भएको छैन, पहिलाकै निरन्तरता हो । यसबाट पनि नागरिकलाई मार परेको हुनसक्छ । अहिले हामीले केही सहज गर्न सकिन्छ कि भनेर सोचिरहेका छौं ।
हिजो जेमा पनि कर लगाउने गरेर अलिकति असहज अवस्थामा गाउँपालिका थियो । आज आएर हामीले ती विषयहरुमा अलि सहज बनाउने भनेर लागिपरेका छौं । आगामी बजेटमा कस्ता विषयमा लगाउने कस्तामा नलगाउने भनेर करको दायरालाई घटाउने प्रयासमा हामी लाग्ने छौं । स्थानीय नागरिकबाट कर उठाएर विकास हुन्छ भन्नेमा म विश्वास गर्दिन । गरीब जनताले तिरेको एक सय, दुई सयले न बाटो बन्छ, न विकासका काम हुन्छन् त्यो केही होइन ।
त्यसरी गरीब नागरिकबाट उठाएको दुई, दुई सयका दरले जम्मा भएका पैसा खाजाभत्तामै सकिने कुरा हो । व्यक्तिगत रुपमा जनतालाई मार परेको हुन्छ तर, त्यसले खासै काम गरेको हुँदैन । त्यसले गाउँपालिकाको विकास निर्माण पनि हुँदैन अनि जनतासँग बढी कर किन लिने भन्ने कुरा स्वाभाविक हो । त्यसलाई सुधार गर्न आगामी बजेटमा पहल गर्छु ।
स्थानीय निकायमा भ्रष्टाचार मौलाको छ, त्यसलाई नियन्त्रण गर्न कस्तो कार्ययोजना तय गर्दै हुनुहुन्छ ?
सुविधाभोगी भन्ने बित्तिकै त्यसमा गाडी, घोडाको कुरा पनि जोडिएर आउँछ । हिजो गोलन्जोरको स्थानीय सरकारले सुविधाभोगी भएर आपूm केन्द्रिंत काम गरेको कुरा मैले पनि सुनेको थिएँ । म तडकभडकको जीवनशैली अपनाउने मान्छे होइन । जनताको रगत, पसिनाले आर्जेको पैसाबाट मोजमस्ती गर्ने आपूmमात्रै ठाँटिएर हिड्ने काम मबाट कदापी हुँदैन । म त्यो स्वभावको मान्छेपनि होइन र मेरो चाहनाभित्र त्यो विषय पर्दापनि पर्दैन ।
जनप्रतिनिधि भएदेखि औपचारिक कामबाहेक मैले गाउँपालिकामा उपलब्ध साधन, स्रोत प्रयोग गरेको छैन । जनताले अनुभूति गर्नेगरी सुधारका केही फरकपन ल्याएर छाड्छु । हिजोका दिनमा के÷कस्ता अनियमितता भए, त्यतातिर जान चाहन्न । केही नराम्रा भए होलान्, केही राम्रा पनि भए होलान् । तर, तपाईंले उठाएको जस्तै जनताका धेरै गुनासाहरु बाहिर आएकै हो ।
त्यसबेला उपभोक्त समिति पनि वडा अध्यक्षले बनाउने, अनुगमन समिति पनि वडा अध्यक्षले बनाउने र बजेट विनियोजन गर्दा पनि त्यसैगरी गर्ने गरेको गुनासाहरु आएका थिए । मलाई आधिकारिक रुपमा थाहा चाहीं भएन । तर, जनताको गुनासो प्रसस्तै थियो । भोलिका दिनमा त्यस्तो हुँदैन । हामी हिजोको जस्तो व्यक्तिगत कनिका छराई बजेट ल्याउँदैनौं । पादर्शी ढंगले ससमिति बनाएर सहकारीमार्पmत मात्रै निर्णय गरेर ल्याउँछौं ।
स्थानीय जनप्रतिनिधिहरु आफ्नो पार्टी निकट कार्यकर्तामुखी भए, सर्वधारण जनताको काम भएन भन्ने जनगुनासो छ नि, त्यसमा के भन्नुहुन्छ ?
बहुदलीय व्यवस्थामा हरेक निर्वाचनमा पार्टीका प्रतिनिधिहरु नै उम्मेदवार बन्ने हुन् । तर, निर्वाचन जितेर जनप्रतिनिधि भइसकेपछि पार्टीभन्दा माथि उठेर जनताको काम गर्नुपर्छ । चुनावमा घोषणा पत्रपनि पार्टीकै नीति निर्देशन अनुसार बनाइएको हुन्छ । त्यसकारण पार्टीलाई पनि मान्नुपर्छ । तर, चुनाव जितिसकेपछि जनप्रतिनिधिको हैसियतले काम गर्न सक्नुपर्छ । पार्टीबाट टिकट पाउँदैमा जनप्रतिनिधि भइहाल्ने होइन ।
त्यसका लागि त्यहाँका जनताले पत्याएर भोट दिनुपर्छ । गोलन्जोर गाउँपालिकाका जनताले मलाई विश्वास गरेर अध्यक्षमा निर्वाचित गराइसक्नुभएको छ । अब मैले पार्टीभन्दा एककदम माथि उठेर यहाँका नागरिकको भावना समेट्न सक्नुपर्छ । त्यसमा मैले निकै हेक्का पु¥याएर काम गर्नुपर्छ । म राजनीतिमा कमाउन र लिन आएको होइन, जनतालाई केही दिनको लागि आएको हुँ । हिजो म जनप्रतिनिधि नहुँदा पनि समाजसेवा अन्तर्गत विभिन्न क्षेत्रमा काम गर्दै आएको व्यक्ति हुँ ।
आज गोलन्जोरका नागरिकले मलाई यहाँको अध्यक्षमा निर्वाचित गर्नुभएको छ । अब मैले यहाँको साधन, स्रोतले भ्याएसम्म भोट दिने, नदिने सबैको प्रतिनिधित्व हुने काम गर्नुपर्छ । त्यसको लागि चुनावमा मलाई भोट दिनेको भन्दा नदिनेको बढी काम गरेर देखाउनु छ । जनप्रतिनिधि भइसकेपछि दलगत रुपको पक्षपात गर्नुहुँदैन र गर्दिन पनि ।
अझ मेरो मान्यता मलाई जुन पक्षले मतदान गरेर विजयी गराउनुभयो उहाँहरुको विश्वास त मैले जितिसकेको छु । जो मतदाताले मलाई भोट दिनुभएन उहाँहरुको मन जित्नुनै मेरो पहिलो प्राथमिकता रहन्छ । मेरो कार्यकालमा पार्टीगत भेदभाव भएको कसैले महसुस नगर्ने गरी काम गर्छु । अझ फरकमत राख्नेको पहिला काम गरेर देखाउँछु ।
स्वास्थ्य बीमा प्रभावकारी भएन, जेष्ठनागरिकको सामाजिक सुरक्षा भत्ता लिन पनि असज भयो भन्ने आवाज उठिरहेको छ, त्यसलाई जनमैत्री बनाउन कस्तो पहल गर्नुभएको छ ?
तपाईंले एकदमै सही कुरा उठाउनुभयो । स्वास्थ्य बीमाको लागि हामीले बजेट छुट्ट्यायौं । गत वर्ष गाउँपालिकाको कुनै गतिविधि ठप्प भयो । त्यति हुँदाहुँदै पनि मेरो अग्रसरतामा सबै पक्षलाई सहमत गराएर छुट्याइएको रकम सम्बन्धित निकायमा सम्झौता गर्ने काम हुँदै छ । त्यसपछि स्वास्थ्य बीमा अगाडि बढ्ने कुरा यहाँ जानकारी गराउँदछु । अर्को जेष्ठनागरिक भत्ताको विषयमा भन्नुपर्दा हामीसँग बैंकहरु एक, दुईवटा मात्रै छन् । ती बैंकहरुले चाहीं हामीसँग कर्मचारी अभाव छ, बाहिर पठाउन मिल्दैन भन्दै विभिन्न बहाना देखाउने काम भयो ।
तर, हामी आइसकेपछि दुई, चारवटा अरु बैंकहरु पनि थपिएका छन् । त्यसपछि तपाईंहरुले नगर्ने भए हामी अर्को बैंकसँग गर्छौं भनेपछि यातायातको व्यवस्था गर्ने भए हामी गर्छौं भन्ने अवस्थामा पुग्नुभएको छ । त्यसो भएकाले आगामी २२ गतेपछि तीनकन्यामा म आफै जेष्ठनागरिक भत्ता लिएर जाने अवस्था बनिसकेको छ । अब यातायातको सुविधा भएको ठाउँका बुबा, आमाले लिइसक्नुभएको हुन्छ । अब यातायात सुविधा छैन, त्यस्तो ठाउँका बुबा, आमालाई गाह्रो छ ।
जेष्ठनागरिकहरुलाई अप्ठ्यारो त सबैं ठाउँमा नै छ । त्यसमा पनि अलि बढी तीनकन्यका बुबा, आमाहरुलाई अलि बढी समस्या छ । त्यसको लागि २२ गते पछि तीनकन्यामा म आफै जेष्ठनागरिक भत्ता लिएर जाँदै छु । त्यसपछि सबै बस्ती, टोलमा नभएपनि कम्तिमा प्रत्येक वडाबाट भत्ता लिने व्यवस्था मिलाउने छौं ।
वि.सं.२०७९ माघ २० शुक्रवार १२:४६