‘संगीत विकास बोर्ड’ अहिलेको आवश्यकता : अवस्थी
744
shares
वैतडी जिल्लाको दूर्गम गाउँ सिगासमा जन्मिनुभएका रामप्रसाद अवस्थी ख्यातिप्राप्त गायक तथा गीतकार हुनुहुन्छ । गाउँबाटै एसएलसीसम्मको अध्ययन पुरा गर्नुभएका अवस्थीले तीनसय भन्दा बढी गीतमा आवाज दिइसक्नुभएको छ । उहाँ गायकसँगै गीत लेखनमा पनि त्यत्तिकै पोस्त हुनुहुन्छ । स्नातकसम्मको अध्ययन पुरा गर्नुभएका अवस्थीले साधना कलाकेन्द्रबाट संगीतको साधना गर्नुभएको हो । सपना नै नभएको ठाउँदेखि सफलताको शिखरसम्म चुम्न सफल गायक रामप्रसाद अवस्थीसँग पत्रकार कालिका महतले गरेको अन्तरंग कुराकानी :
यहाँको उदय कहिलेबाट भएको हो ?
म २०५७ सालबाट गीत-संगीत क्षेत्रमा निरन्तर लाग्दै आएको छु । मेरो पहिलो गीत रानीचरी हो । प्रायः मेरा धेरै गीतहरु सुदूरपश्चिमको संस्कृति झल्किने डेउडा गीत नै छन् । त्यसपछिका कहिले भ्रष्टाचार, कहिले महंगी त कहिले समाज परिवर्तनका लागि जनचेतनामूलक लगायत राष्ट्रिय गीतहरु धेरै छन् ।
त्यसो भए तपाईंका मायाप्रितीकाभन्दा चेतनामुलक गीत बढी छन् हो ?
हो, मेरा धेरैजसो गीतहरु मायाप्रतिका भन्दा पनि समाजमा भएका विकृति, विसंगति, व्यथिति र भ्रष्टाचारविरुद्ध जनचेतना जगाउने खालका छन् । जस्तै लागुऔषध सम्बन्धी नेपाल प्रहरीको केन्द्रीय टिमसँगै सहकार्य गरेर काम गर्ने अवसर पनि प्राप्त भएको थियो ।
त्योसँगै भ्रष्टाचार, महंगी, राजनीतिक र सामाजिक अराजकताविरुद्धका गीतहरु बढी छन् । त्यसको अलावा काली–कर्णालीको भाषा, साहित्य र संगीतमा साच्चिकै महत्वपूर्ण योगदान पु¥याउने गीतहरु जसको माध्यमबाट त्यहाँको भाषा, साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्नको लागि काली–कर्णालीको सभ्यतालाई मध्येनजर गरेर डेउडा गीतहरु बढी पस्किएको छु ।
त्यसोभए तपाईंका गीतहरु काली–कर्णालीका भाषा, साहित्य, सभ्यता र पहिचानलाई लक्षित गरेर निकाल्नुभएको छ हो ?
काली–कर्णाली नेपाली भाषाको जन्मस्थल हो । नेपाली भाषा र संस्कृतिको मूल थलोको रुपमा चिनिएको काली–कर्णाली नै हो । त्यस हिसावले त्यहाँको भाषा र संस्कृतिलाई उजागर गरी अन्तर्राष्ट्रियकरण गर्न हामीले एउटा कार्यक्रम राजधानीमै गर्ने गरेका छौं ।
सो कार्यक्रम सम्मानीय राष्ट्रपति एवं प्रधानमन्त्रीको प्रमुख आतिथ्यता र मन्त्रीज्यूहरुसहित विभिन्न मिडियाको उपस्थितिमा काली–कर्णालीको भाषा संस्कृतिलाई समेटेर ‘डेउडा सांस्कृतिक उत्सव’ नामक वृहत कार्यक्रमको आयोजना गर्दै आएका छौं । काली–कर्णाली लक्षित गरिए तापनि त्यो नेपालभरिकै संस्था हो । त्यसको महासचिव दोलखाको हुनुहुन्छ । हाम्रो अभियानले पूर्व–पश्चिम जहाँको भएपछि सबैले के स्वीकार्नुभएको छ भने नेपालको भाषा, संस्कृति र सभ्यताको जननी काली–कर्णाली नै हो भन्ने सन्देश दिएको छ ।
तपाईंले काली–कर्णालीको भाषा, सहित्य र संस्कृतिका उजागर गरिरहँदा अहिलेसम्म कति गीत गाउनुभयो ?
काली–कर्णाली भौगोलिक रुपमा पिछडिएको भनिए तापनि भाषा, कला, साहित्य र सांस्कृतिक रुपमा नेपालकै अग्रस्थानमा पर्छ । अहिले नेपालमा बोलिने कामकाजी भाषा त्यहीँको परिमार्जित भाषा हो । त्यसमा पृथ्वीनारायण शाहकोे ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन, सबैलाई चेतना भया’ भन्ने वाणी नै काफी छ । अहिले त्यसलाई रुपान्तरण गरिएको छ, नेपालको मुख्य भाषा त्यहीं हो । अहिलेसम्म मेरा तीनसयभन्दा माथि गीतहरु आइसकेका छन् ।
ती गीतहरु काली–कर्णालीका भाषा, साहित्य र संस्कार संस्कृतिमा आधारित छन् । मैले आफैले सिर्जना गरेका गीतहरु गाउने गरेको छु । अहिले गीतहरु धेरै परिमार्जित भइसकेका छन् । अहिले कलाकारहरु गीत÷संगीत एवं कलालाई बचाउनेभन्दा आफू कसरी चल्ने र भाइरल हुने ट्रेन चलेको छ । त्यो गलत हो, त्यसलाई सुद्धिकरण गर्नुपर्छ भन्ने मलाई लाग्छ । त्यसको लागि हामीले एउटा मुद्दा उठाएका छांै । त्यसको लागि संस्कृति मन्त्रालय, नेपाल संगीत तथा नाट्य प्रतिष्ठानदेखि नेपाल सरकारलाई झकझक्याउने विभिन्न निकायमा ज्ञापन–पत्र नै बुझाएका छौं ।
अहिले नेपालमा संगीत विकास बोर्ड तत्काल आवश्यक छ । किन भने कलाकार भनेको समाजको ‘ऐना’ हो । मेरो सिर्जनाबाट समाजले के सिकिरहेको छ, त्यसमा हामीले ख्याल गर्न जरुरी छ । तर, अहिले गीतहरु जस्ता पनि आएका छन्, त्यसमा ‘एतिकरोड भ्यू, उति करोड भ्यू’ भन्ने होडवाजी चल्ने गरेको छ । कुनै–कुनै गीतहरुमा त डलरमा भ्यूउज किनेर देखाउने गरिएको पाइन्छ । यो संगीतक्षेत्रको लागि विडम्वना हो ।
संगीत विकास बोर्डको आवश्यकता किन ?
अहिले जति गीत÷संगीतमा विकृति, विसंगति फैलिएको छ, त्यति चलचित्रमा छैन । किन भने त्यहाँ सेन्सरको लागि ‘चलचित्र विकास बोर्ड’ छ । गीत÷संगीतमा त्यो छैन । अहिले युटुबमा भ्यू कसरी कमाउने भन्ने खालका धेरै गीतहरु आइरहेका छन् । त्यसले समाजमा कस्तो असर पारेको छ, त्यतातिर कसैले ध्यान दिएका छैनन् ।
तर, युटुबमा भ्यू कसरी कमाउने र स्टेज प्रोग्राममा कसरी देखिने भन्ने कुरालाई मध्येनजर गरेर गीतहरु पस्किने गरिएको छ । त्यसको उदाहरण भेलु बाजेलाई लिन सकिन्छ, उनलाई ५०-६० हजारसम्म तिरेर स्टेजमा लगिको हामीसामु जगजाहेर छ । त्यो ट्रेनको विकास भएको छ । पछिल्लो समय आएका धेरै गीतहरुले समाजमा नकारात्मक असर पारेका छन् । हाम्रो संस्कार, संस्कृति, सभ्यता र मौलिकता के हो ? त्यो कुरा कलाकार आफूले मनन् गर्नुपर्छ र त्यस अनुसारका सिर्जना निकाल्नुपर्छ । संस्कृति भनेको हाम्रो दैनिक चलनचल्तीमा आइरहने कुरा हो । जब त्यो नै बिग्रिइसकेपछि हामी नै रहँदैनांै ।
संस्कार र संस्कृति बिग्रिइसकेपछि समाजको दैनिकी नै बिग्रिन्छ । यो विकृति, विसंगतिविरुद्ध हामीले प्रधानमन्त्री, मन्त्रीदेखि सम्बन्धित क्षेत्रलाई झकझक्याइरहेका छौं । युटुबलगायत सामाजिक सञ्जाललाई नियमन गर्ने त्यसको लागि ‘संगीत विकास बोर्ड’मार्फत् सेन्सर गरेर फाइनल भएपछि मात्रै सार्वजनिक गर्ने हाम्रो प्रयास छ ।
त्यो चाहे पूर्वको कौडा होस् चाहे पश्चिमको डेउडा अथवा अन्य नेवारी, भोजपुरी, मैथिली, तामाङलगायत जुनसुकै भाषाभाषिका गीतहरु नै किन नहोउन् सबैलाई ‘संगीत विकास बोर्ड’मार्फत् सेन्सर गरेर सार्वजनिक गर्ने हो भने विकृति, विसंगति हट्छ । त्योसँगै संगीतमा कुन तरिकाले लगानी गर्ने, कुन तरिकाले विकास गर्ने जस्तो ‘चलचित्र विकास बोर्ड’ले जसरी काम गरिरहेको छ । त्यसैगरी गीत-संगीतको लागि ‘संगीत विकास बोर्ड’ अहिलेको आवश्यकता हो । जुनसुकै देशमा पनि पहिला संस्कृतिमाथि आक्रमण हुन्छ, त्यसपछि राजनीतिक आक्रमण हुन्छ । त्यसैले संस्कृति जोगिएन भने देश जोगाउन गाह्रो हुन्छ । संस्कृतिको जगेर्ना गरियो भने देश बलियो हुन्छ ।
सामाजिक सञ्जालले कस्तो समाज र संस्कृतिको विकास गर्दै छ जस्तो लाग्छ ?
एकदमै महत्वपूर्ण प्रश्न गर्नुभयो । सामाजिक सञ्जालमा बहकिएर हामीले समाजलाई कतातिर लाँदैछौं भन्ने महत्वपूर्ण विषय बनेको छ । अहिलेको समाज नकारात्मकतिर केन्द्रित हुँदै छ । सामाजिक सञ्जालमा सकारात्मकभन्दा नकारात्मक कुराहरु बढी चर्चित भइरहेको पाइन्छ ।
त्यसकारण संगीत क्षेत्रलाई व्यवस्थित बनाउन ‘संगीत विकास बोर्ड’मार्फत युटुब, फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जाललाई नियमन गर्न संस्कृतिमन्त्रालय भन्दा पनि सूचना, सञ्चार तथा प्रविधिमन्त्रालयले एउटा विशेष समिति गठन गर्न आवश्यक छ । त्यो उच्चस्तरीय टेक्नोलोजीसहितको सशक्त निकाय आवश्यक छ । जस्तो मैले भ्रष्टाचार, महंगी र सामाजिक विकृति विसंगतिविरुद्धमा गीत गाएँ भने ममाथि आक्रमण हुन्छ । जुन पार्टीको सरकार छ त्यसका कार्यकर्ताले राजनीतिकरण गर्न थालिहाल्छन् ।
कलाकार, साहित्यकार, पत्रकार भनेका सामाजिक विकृति, विसंगतिविरुद्ध आवाज बुलन्द गर्ने माध्यम हुन् । यो अहिलेको समाजले पचाइरहेको छैन । सामाजिक सञ्जालको कारण समाज धेरै भड्किइसकेको छ । देशका राष्ट्रपति, प्रधानमन्त्रीलगायत प्रतिष्ठित व्यक्तिहरुलाई सामाजिक सञ्जालमार्फत गालीगलौज र अपमान गरिएको छ । त्यसले के देखाउँछ भने मान्छेमा नैतिकताको खडेरी परेको देखिन्छ । समाजमा भाइचाराको सम्बन्ध हटेको छ । त्यसलाई सुधार गर्न विद्यालयस्तरदेखि नैतिक र संस्कृत शिक्षाको आवश्यकता छ । सामाजिक सञ्जालको प्रभावले जसरी समाजमा विकृति, विसंगति भित्रिँदै गयो, त्यसैगरी गीत-संगीतमा पनि भित्रिएको छ ।
एकले अर्कोलाई नमान्ने संस्कृतिको विकास भएको छ । हजुर, तपाईँ भन्ने मान्छे भेटिन छोडे । संस्कार, संस्कृति हराउँदै गएको छ । संस्कृति भनेको गीत गाउनुमात्रै होइन, लवाइ, खुवाइ, भेषभुषा र आदर सम्मान पनि हो । अहिले अष्ट्रेलियालगायत धेरै विकसित देशहरुले विद्यालयस्तरका बालबालिकाहरुलाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाइसकेको छ ।
तपाईंले त्यसो भनिरहँदा ख्यातिप्राप्त गायक, कलाकारहरु पनि तिनै सामाजिक सञ्जालबाट भाइरल हुनेहरुको पछि लागेका छन् नि उहाँहरुलाई के भन्नुहुन्छ ?
यो ट्रेन समाजको भाइरस हो । सामाजिक सञ्जालका धेरै फाइदा भए पनि त्यसको गलत प्रयोगले मान्छेका जीवन नै समाप्त भएका उदाहरणहरु पर्याप्त छन् । त्यसको उदाहरण सचिन परिवार एक पात्र हुन् । तीनवर्ष अगाडि मैले भेट्दा नेपालका दिग्गज कलाकारले उनीसँग सेल्फी खिच्न नपाएको अवस्था थियो । अहिले सचिन परियारको स्थिति के छ यो समाजमाझ छर्लङ्ग छ । संगीत भनेको साधना हो । साधना बेगर बोलीको प्रभाव र प्रतिभाले भाइरल हुनु, मिडियामा आउनु छुट्टै विषय हो ।
तर, साच्चिकै गायक, कलाकार हुन साधना आवश्यक छ । भाइरल भयो भन्दैमा बिना साधना उसलाई कसैले टिपेर ल्याएर डलरको खेती गर्ने । होटेलमा राख्ने, सामाजिक सञ्जालमा भाइरल बनाउने यो ‘खत्रै’ हो भन्ने, भाइरल बनाउने र एक-दुई महिनापछि छोडिदिने गरेका धेरै उदाहरणहरु छन् । त्यसपछि उसले के गर्ने साधना छैन । संगीतप्रति लगाव छैन, शब्द चयनमा ज्ञान छैन । अनि भाइरल भएर चर्चा कमाउनको लागि गीतमा जस्ता पनि शब्द पस्किने गरिएको छ । त्यसले गर्दा गीत÷संगीत क्षेत्र दिनप्रतिदिन निरस र भद्दा बन्दै गएका छन् ।
नवप्रवेसी प्रतिभाहरुलाई अग्रज कलाकारहरुले अभिभावकत्व दिन सक्नुपर्छ । जस्तो मैले सचिन परियार भाइको नाम लिएँ । यदि उनलाई संगीतको राम्रो ज्ञान सिकाइएको भए अहिले यो अवस्था हुने थिएन । जतिपनि सामाजिक सञ्जालबाट भाइरल भएर आएका छन् उनीहरुको प्रतिभा राम्रो छ । तर, तिनमा निखार त जरुरी छ नि । अहिले जुनसुकै पेशामा पनि सम्बन्धित क्षेत्रमा दख्खल भएका व्यक्तिहरु ओझेलमा छन् । कलाकारितामा पनि त्यस्तै भएको छ । त्यसको उदाहरण तिलकसिंह पेलालाई लिन सकिन्छ । उहाँका बल्ल दुई÷तीनवटा गीत चलेका छन् ।
उहाँले ३२ वर्षभन्दा बढी संगीतमा साधना गरिरहनुभएको छ । यो कुनै जोक त होइन नि । कलाकारिता, पत्रकारिता र राजनीतिलाई मान्छेले एकदमै हल्लाका रुपमा लिएका छन् । जस्तो राजनीतिमा सामाजिक सञ्जालबाट अर्कालाई गालीगलौज ग¥यो फ्याट्ट चुनाव जितिहालिन्छ, मन्त्री भइहालिन्छ, चर्चा र पैसा कमाइहालिन्छ किन विचार, सिद्धान्त र निष्ठा चाहियो ? भन्ने संस्कृतिको विकास भएको छ । पत्रकारितामा खल्तीबाट मोबाइल झिक्यो अर्काको भिडियो खिच्यो युटुबमा हालिदियो भइहालिन्छ । ट्याक्क अन्टसन्ट शब्दमा एउटा गीत गाउँछु भाइरल हुन्छु म कलाकार भइहालेँ । यस्तो खालको गलत संस्कृतिको ट्रेन सबैतिर फैलिएको छ । यो नेपाली समाज र कलासंस्कृतिको लागि भाइरस हो ।
नवप्रवेशी प्रतिभाहरुलाई के भन्न चाहनुहुन्छ ?
प्रतिभा सबैमा हुन्छ । कसैमा बढी हुन्छ, कसैमा कम हुन्छ त्यसैलाई साधना गर्दै निखार्दै लाने हो । तर, आफ्ना सन्ततिमा प्रतिभा छ भन्दैमा जो कोहीको जिम्मामा पठाउनुहुँदैन । अभिभावकहरुले अभिभावकत्व दिनुपर्छ । आफ्ना बालबालिकामा गाउने, नाच्ने, अभिनयन गर्ने जस्ता प्रतिभा छ भने त्यसैमा सिकाउने व्यवस्था मिलादिनुपर्छ । अहिले राजधानीदेखि प्रदेशहुँदै जिल्ला, पालिका र वडातहसम्म नै कला, सीप सिक्ने विभिन्न इन्टिच्यूटहरु खुलेका छन् । त्यस्ता इन्टिच्यूटहरुमा उनीहरुको प्रतिभा अनुसारको सिकाइमा लगाउनुपर्छ । लुकेको प्रतिभासँगै साधनाबाट सिद्धहस्त भएर पेशामा प्रवेश गरियो भने मात्रै यो क्षेत्रमा भविष्य हुन्छ ।
जुन सिकाइबाट ती नवप्रतिभाहरुलाई के ठीक, के बेठिक भन्ने ज्ञान होस् । त्यो कलाकारमा मात्रै नभएर जुनसुकै पेशामा लागु हुन्छ । सबैभन्दा पहिला आफ्ना बालबालिकाको प्रतिभा अनुसारको सीप सिकाउने अभिभावकहरुको दायित्व हो । त्यसपछि अभिभावकसँगै अग्रजहरुको पनि हो । कुनै पनि पेशामा आउनु पहिला सम्बन्धित क्षेत्रमा साधना गर्न जरुरी छ । त्यसैले म कला क्षेत्रमा आफ्नो भविष्य खोज्न आउनुहुने सम्पूर्ण नवप्रतिभाहरुलाई आफूमा लुकेको प्रतिभासँगै सीप सिकेर आउँदा राम्रो हुन्छ भन्न चाहन्छु ।
वि.सं.२०८१ पुस ३ बुधवार १९:१७