back
स्वास्थ्य मन्त्रालय

कृषि उत्पादन र युवा लक्षित नीति तथा कार्यक्रम ल्याउँदै छौंः अध्यक्ष मगर

744 

shares

कर्णबहादुर मगर, अध्यक्ष, तीनपाटन गाउँपालिका, सिन्धुली, तथा क्षेत्रीय सभापति नेपाली कांग्रेस

नेविसंघ तरुण दलहुँदै नेपाली कांग्रेसका स्थापित नेता हुन् कर्णबहादुर मगर । उनी सिन्धुलीको तीनपाटन गाउँपालिका अध्यक्षमा दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । सिन्धुलीको दुर्गम ठाउँ फिक्कल गाउँपालिकामा जन्मिएका मगर मिलनसार युवा नेता स्पष्ट वक्ताको रुपमा चिनिन्छन् । उनको पठनपाठन स्थानीय सामुदायिक विद्यालय हुँदै सिन्धुली क्याम्पसबाट सम्पन्न भएको हो । मगर नेपाली कांग्रेसको क्षत्रीय सभापतिमा पनि दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । अध्यक्ष मगरसँग स्थानीय सरकारसम्बन्धी समसायिक विषयमा केन्द्रित रहेर कालिका महतले तरुणदैनिकको लागि गरेको कुराकानीको सम्पादित अंश :

दोस्रो कार्यकालको एकवर्ष बितिरहँदा विकासका नयाँ योजनाहरु के के ल्याउँदै हुनुहुन्छ ?
तीनपाटन गाउँपालिका अध्यक्षमा मेरो यो दोस्रो कार्यकाल भएकाले पहिलो कार्यकालमा थाती रहेका कामहरु सम्पन्न गर्नुपर्ने थियो । ती थाती रहेका कामहरु सम्पन्न गर्नेतिर केन्द्रित रहेको छु । त्यसकारण पनि म धेरै नयाँ कामतिर लागेको छुइन । पहिलो कार्यकालमा आफूले बनाएका योजना जुन सम्पन्न गर्न बाँकी थिए । त्यसैलाई परिपूर्ति गर्ने भनेर लागिपरेको छु । त्यसमा गाउँपालिकाको प्रशासकीय भवन निर्माण पहिलै कार्यकालमा सुरु भएको थियो । त्यसलाई गत माघ महिनामा सम्पन्न गरेर हामीहरु आफ्नै गाउँपालिका भवनमा सरिसकेका छौं ।। त्यसैगरी आवासका भवनहरु केही निर्माणाधिन अवस्थामा छन् । त्योसँगै केही स्वास्थ्य चौकी र वडा कार्यालय भवनहरु निर्माण भइरहेका छन् ।

अहिले स्थानीय सरकारहरुले कृषि उत्पादनलाई जोड दिने भनेका छन्, तपाईंले कुन क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढ्दै हुनुहुन्छ ?

खासगरी तीनपाटन गाउँपालिका कृषिको लागि ऊर्बर भूमि भएको ठाउँ हो । फेरि यहाँ अन्य उद्योग, धन्दा, व्यापार व्यवसाय र कलकारखाना खोलेर रोजगारी सिर्जना गर्ने अवस्था पनि नभएकाले हामीले कृषि उत्पादनलाई जोड दिएका छौं । त्यसमा अन्नबाली, फलफूल, तारकारी खेती, पशुपालनलाई नै जोड दिनुपर्छ भनेर हामी लागिपरेका छौं । यहाँ हेपो इन्टरनेशनल नेपाल भन्ने कृषि र पशुपालनसम्बन्धी काम गर्ने संस्था छ । त्योसँग गाउँपालिकाले साझेदारी गरेर हामीले यो वर्षदेखि चार वर्षको लागि भनेर कार्यक्रम अगाडि बढाइसकेका छौं । त्यस कार्यक्रममार्फत विभिन्न वडा, वस्ती, टोलमा पुगेर किसान दाजुभाइ, दिदीबहिनीहरुसँग सम्भाव्यता अध्ययन गरी र आवश्यकता पहिचान गर्ने काम भइरहेको छ ।

कृषिजन्य उत्पादनको लागि बजार व्यवस्थापन गर्न सकेन भन्ने गुनासो छ नि त्यसान के भन्नुहुन्छ ?
यहाँ बजारको भन्दा पनि व्यवस्थापनको समस्या हो । हाम्रो गाउँपालिकाको केन्द्र रहेको चकमके बजारमा तराईंको तरकारी विक्रीवितरण हुन्छ । तिनै तरकारीहरु हामीले किनेर खाइरहेका छौं । तर, हाम्रै गाउँपालिकाभित्र उत्पादन भएका फलफूल तरकारीहरु विक्री नभएको भन्ने गुनासोहरु आइरहेका छन् । गाउँमा उत्पादित तरकारी, फलफूल, अन्य खाद्य वस्तुहरु बजारसम्म पु¥याउने व्यवस्था हुन सकेको छैन ।

त्यसकारण गाउँपालिकाले यो वर्षदेखि आफ्नो पालिकाभित्र उत्पादित फलफूल, तरकारीहरु कलेक्सन गरेर बजारसम्म पु¥याउने काम गाउँपालिकाले गर्ने योजना बनाएका छौं । अहिले विचौलिया भन्ने शब्द धेरै पपुलर छ । बिचौलियाले किसान र उपभोक्ताको बीचमा खेल्ने काम गरेका छन् । विचौलियाले गर्दा किसानले लागत मूल्य पनि नपाउने उता उपभोक्तान महंगो मूल्य तिर्नुपर्ने भइरहेको छ ।

त्यसकारण ती विचौलियालाई हटाएर कम्तिमा गाउँपालिकाकै सहजिकरणमा फलफूल, तरकार, पशुजन्य अन्य खाद्यवस्तुहरु दुध, दही, घिउ, अन्नलगायतका उत्पादनहरु बजार व्यवस्थापन गाउँपालिकाले गर्ने योजनामा लागिपरेका छौं । त्यसको लागि हेपो इन्टरनेशनल नेपाल र गाउँपालिकाको साझादारीमा त्यो काम सम्पन्न गर्ने भनेर हामीहरु लागिरहेका छौं । त्यो गर्दा किसानले उत्पादन गरेका हरेक कृषिजन्य र पशुजन्य खाद्य वस्तुहरु गाउँपालिकाले सहजीकरण गरेर बजार व्यवस्थापन गर्ने हो भने किसानले पनि उचित मूल्य पाउँछन् र उपभोक्ताले पनि महंगो तिर्नुपर्ने वाध्यताबाट छुटकारा पाउँछन् ।

सामुदायिक विद्यायको गुणस्तर खस्कियो, त्यसमा स्थानीय सरकारले ध्यान दिएन भनिन्छ नि?

सामुदायिक विद्यालयको गुणस्तर वृद्धिको सन्दर्भमा भन्नुपर्दा एकदमै धेरै गुनासाहरु छन् । यदि साच्चिकै सामुदायिक विद्यालयहरु सुधार्ने र शैक्षिक गुणस्तर दिने हो भने हाम्रो कार्यक्षेत्रबाट मात्रै अथवा स्थानीय सरकारले मात्रै प्रयास गरेर सम्भव छैन । शिक्षामा सुधार ल्याउनको लागि नेपाल सरकारले नीति नै बनाएर अगाडि बढ्नुपर्छ । अहिले शिक्षाको नीति नै फितलो छ । त्यसकारण शिक्षा नीतिलाई दरिलो बनाएर देशव्यापी रुपमा लागु गर्नुपर्ने देखिन्छ ।

अन्य ठाउँमा कस्तो छ, तर यहाँ चाहीं सामुदायिक विद्यालय खस्किने मूल कारण भनेको राजनीतिक हस्तक्षेप नै हो । राजनीतिक दलगत स्वार्थले गर्दा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर धरासायी बन्दै गएको हो । न्यस्तालाई न्यूनिकरण गर्न शिक्षामा राजनीतिक हस्ताप हुनुहुँदैन । अर्को भनेको केन्द्रदेखि नै शिक्षामा नीतिगत सुधारमा ब्यापक ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ । राजनीतिक हस्तक्षेपलाई न्यूनिकरण गरी नीतिगत सुधार नगर्दासम्म शिक्षामा सुधार हुने देखिँदैन । त्यसको केन्द्रदेखि नै नीति बनेर आउनुपर्छ भन्ने मेरो सुझाव छ । हिजो पनि थियो, आज छ र भोलि पनि मेरो सुझाव त्यहींं नै हो ।

सामुदायिक विद्यालयमा जनआकर्षण बढाउन के गर्नुपर्छ जस्तो लाग्छ ?
हामी जनप्रतिनिधि भनेको सरकारको नीतिनिर्देशन पालन गर्ने पालक मात्रै हौं । यसमा सुधार ल्याउन नेपाल सरकारले नीति नै बनाएर अगाडि बढ्नुपर्छ । साच्चिकै शिक्षा क्षेत्रमा सुधार ल्याउने हो भने कुनै पनि शिक्षकहरु राजनीतिमा लगेको हुनुहुँदैन ।

यदि पार्टीमा लागेका छन् भने उनीहरुलाई सेवाबाट बन्चित गर्नुपर्छ । दोस्रो हरेक शिक्षकले आफ्ना नानी, बाबुहरुलाई आफूले पढाएको विद्यालयमा पढाउनुपर्छ । तेस्रो शिक्षक पेशाका साथीहरुलाई घरपायक कसैलाई राख्नुहुँदैन । अर्को शिक्षकहरुलाई दोस्रो व्यापार गर्न दिनुहुँदैन । यी कुरामा सुधार गरियो भने मात्रै सामुदायिक विद्यालयको स्तरोन्नति हुन्छ । यसो गर्न सकिएन भने सामुदायिक विद्यालय धरासायी भएर जान्छ ।

स्वास्थ्यका क्षेत्रमा दक्ष जनशक्ति, उपकरण र औषधि अभावको गुनासो छ नि ?

त्यो खालको गुनसोमा शिक्षा क्षेत्रको तुलनामा स्वास्थ्यमा अलि कम छ । पहिला तीनपाटन गाउँपालिकामा आठवटा गाविस थिए । त्यसबेला ८ वटा स्वास्थ्य चौकी भवन थिए । अहिले ११ वटा वडा भए, ती सबै वडाले स्वास्थ्य चौकी भवन बनाएका छन् । अहिले यस गाउँपालिकाभित्रका ठूला–ठूला वडाहरुमा दुई, तीनवटा स्वास्थ्य सेवा केन्द्र राखेर २१ वटा ठाउँबाट स्वास्थ्य सेवा प्रवाह गरेका छौं । तपाईंले भनेजस्तो दक्ष जनशक्तिको कुरा गर्नुपर्दा हाम्रोजस्तो आर्थिक अवस्था कमजोर भएको गाउँपालिकामा अहेब, अनमी राखेर काम गर्नुपर्ने वाध्यता छ । आर्थिक अवस्थाका कारण दक्ष जनशक्ति र उपकरण उपलब्ध गराउन गाह्रो छ । तर, हाम्रो तीनपाटन गाउँपालिकाको केन्द्र रहेको लाम्पनटारमा १५ बेडको अस्पताल भवन बनाउन नेपाल सरकारले स्वीकृति गरेको छ । त्यसको भवन निर्माणधिन अवस्थामा छ । अन्य स्वास्थ्य चौकीहरुमा आर्थिक अवस्था कम भएका कारण आवश्यक दक्ष जनशक्ति र उपकरण अभाव भने छ । तर, यहाँ शिक्षा क्षेत्रको तुलनामा स्वास्थ्य क्षेत्रमा कम गुनासो छ ।

पुललगायत भौतिक पूर्वाधारको समस्या कस्तो देख्नुहुन्छ ?
भौतिक पूर्वाधारको कुरा गर्नुपर्दा यहाँ चँदाह र भालुखोला कटानका कुराहरु छन् । खासगरी यस गाउँपालिकाको वडा नं. १ र ११ न.का धेरै भूभागहरु कटान गरेको छ । यसरी खोलाकटानबाट जमीन जोगाउन खोला नियन्त्रणको लागि प्रदेश र संघीय सरकारसँग हामीले माग गरेका थियौं ।

अहिले प्रदेश सरकारमार्फत शहरी विकास मन्त्रालयबाट खोला नियन्त्रणदेखि पुल निर्माणलगायत धेरै कामहरु भइरहेका छन् । यो वर्ष पनि संघीय सरकारसमक्ष कुरा पुगिसकेकाले कटान संरक्षणको लागि सहयोग हुने आशा गरेका छौं । त्यसकारण जमिन कटान रोक्न र पुन निर्माणलगायतका काम समग्र रुपले अगाडि बढेको छ ।

माथिल्लो भेकबाट जाने बाटोमा गाउँपालिकाले ध्यान दिएन भन्ने गुनासो छ नि ?
खासमा भन्ने हो भने तीनपाटन गाउँपालिकाभित्रको मूख्य सडक नै व्यवस्थित भइनसकेको अवस्था छ । त्योसँगै गाउँपालिकाबाट अन्य वडा–वडासम्म जोड्ने र अन्य पालिकाहरुसँग जोड्ने सडक विस्तार गर्दैछौं । आन्तरिक आयस्रोत छैन । अनि संघीय र प्रदेश सरकारले पठाएको बजेटमा हामीहरु आस्रित हुनुप¥यो । किन भने हाम्रो गाउँपालिकाको आन्तरिक आयस्रोत छैन ।

संघीय सरकारबाट आएको पैसाले कार्यालय प्रशासन चलाउनुपर्ने, विकास निर्माणका काम पनि गर्नुपर्ने, कर्मचारीलाई तलब खुवाउनुपर्ने भएकाले भनेजस्तो काम गर्न सकिएको छैन । आन्तरिक आयस्रोत नभएका पालिकाहरुमा केन्द्रीय सरकारले ठूलो आकारको बजोट तर्जुमा गर्नुपर्छ भनेर हामीले माग गरेका छौं । त्यसैगरी एउटा वडाबाट–अर्को वडा र एउटा पालिकाबाट अर्को पालिकासँग जोडिने सडक सञ्जाल हुनुपर्छ भनेर हामीले संघीय र प्रदेश सरकारसँग माग गरेका छौं । जहाँसम्म मलाई लाग्छ त्यो कार्यान्वयन हुन्छ ।

सडकहरु पिच गर्ने योजना पनि बनाउनुभएको छ ?
भित्री सडक पिच गर्न हाम्रो बजेट सम्भव नहोला । तर त्यसलाई व्यवस्थित गर्ने, दीर्घकालीन बनाउने । कम्तिमा ग्राबेलसम्म गर्न सकियो भने बाह्रै महिना गाडी चल्न सक्छ । यसरी सबै ठाउँमा गाडी जाने व्यवस्था भयो भने किसानहरुलाई पनि आफ्ना उत्पादन बजरसम्म पु¥याउन सहज हुन्छ । यो गाउँपालिका घुमाउरो खोला भएकाले धेरै ठाउँमा वर्षायाममा गाडी जान गाह्रो थियो । ती ठाउँहरुमा बाह्रै महिना सहज गाडी जाने बनाउन हामीहरु लागिपरेका छौं । त्यसैले अहिले बाटो पिच गर्नेभन्दा पनि कम्तिमा बाह्रै महिना गाडी जाने बनाउन प्रयास भइरहेको छ ।

आफूले गरेको कामबाट जनताहरु कत्तिको सन्तुष्ट छन् जस्तो लाग्छ ?
त्यो मैले भन्दा पनि जनताले महसुस गर्ने कुरा हो । फेरि मनै सबैभन्दा सर्बेसर्वा हुँ चाहीँ भन्न खोजेको होइन । साथीहरुका कुरा सन्दा र अन्य पार्टीका साथीहरुसँग बसेर छलफल गर्दा, चिया गफ गर्दा र फरक पार्टीका साथीहरु अफिसमा आएर कुरा गर्दा पनि उहाँहरु असन्तुष्ट भएको मैले पाएको छैन ।

अहिले केन्द्रदेखि स्थानीय तहसम्म भ्रष्टाचार एकमदै बढ्यो, जनप्रतिनिधिहरु जनमुखी नभएर आफू केन्द्रित भए भन्ने गुनासो छ नि ?
केन्द्रको कुरा त हामीलाई थाहा भएन । स्थानीय जनप्रतिनिधिहरु पनि भ्रष्टाचारमा लिप्त भए भनेर मिडियामा समाचार देख्दा मलाई धेरै दुःख लागेको छ । यति हुँदाहुँदै पनि मैले तीनपाटन गाउँपालिकामा कसरी भ्रष्टाचाररहित सुशासन कायम गर्छ सकिन्छ भनेर वडा अध्यक्षहरुसँग छलफल गरेर तपाईंहरु निष्पक्ष ढंगले काम गर्नुहोस् भनेको छु । तीनपाटन गाउँपालिकाका कुनै पनि वडाअध्यक्ष तथा जनप्रतिनिधिहरुले अनियमितता गरेको मैले थाहा पाएको छैन । निष्पक्ष र पारदर्शी ढंगले काम गर्नुपर्छ भनेर मैले प्रत्यक वडा अध्यक्षहरुलाई आग्रह गरेको छु ।

शान्तिसुरक्षाको दृष्टिकोणले तीनपाटनलाई कसरी लिनुभएको छ ?
शान्तिसुरक्षाको दृष्टिकोणले पहिलाको भन्दा केही सुधारिएको अवस्था हो । तर, बेरोजगारको समस्याले गर्दा चाहीं केही उच्छृंखल काम गर्ने, विभिन्न अवैध कामहरु गर्ने, अवैध कुरामा संलग्न हुने, हुलहुज्जत गर्ने, होहल्ला गर्ने जस्ता केही अराजक गतिविधिहरु भएको पाइन्छ । त्यसलाई व्यवस्थापन गर्ने कामहरु भइराखेका छन् । तर, युवाहरुलाई केही न केही रोजगारीको सिर्जना गर्न सकिएन भने शान्तिसुरक्षामा खलल आउने काम त्यहीबाट सुरु हुन्छ भन्ने लाग्छ । समग्रमा हेर्दा शान्तिसुरक्षालाई लिएर अत्तालिइहाल्नुपर्ने अवस्था भने छैन ।

आब ०८०/८१ को नीति तथा कार्यक्रम कुन वर्ग र क्षेत्रलाई प्राथमिकतामा राख्नुभएको छ ?
आगामी बजेट हामीले आगामी असर १० गते ल्याउँदै छौं । त्यसको लागि विभिन्न समीक्षा बैठकहरु बसिरहेका छौं । समग्र विषयमा छलफल गरिरहँदा यदि तीनपाटन गाउँपालिकालाई समृद्ध बनाउने हो भने हामीले आगामी बजेट कृषि उत्पादन र पशुपालनलाई प्राथमिकतामा राखेर ल्याउन लागिरहेका छौं ।

कृषिलाई कसरी व्यवसायिकरण गर्ने, युवाहरुलाई त्यसमा कसरी समाहित गर्ने भन्ने विषयमा हाम्रो छलफल गरेका छौं । आगामी असार १० गते आउने नीति तथा कार्यक्रममा कृषि युवा उद्यमशीलतालाई प्राथमिकतामा राखेर ल्याउने छौं । आगामी वर्षमा सबैलाई नसकेपनि कम्तिमा केही युवाहरुलाई रोजगारीको सिर्जना गर्ने र गलत क्रियाकलामा लाग्नबाट जोगाउने प्रयास गरेका छौं । त्यसको लागि कृषि उत्पादन र युवा लक्षित नीति तथा कार्यक्रम ल्याउँदै छौं ।

अन्त्यमा तीनपाटनवासीलाई के भन्न चाहनुहुन्छ ?
तपाईंको लोकप्रिय मिडिया तरुणदैनिकमार्फत तीनपाटनवासीलाई के भन्न चाहन्छु भने कम्तिमा तपाईहरुले आफूलाई परेका समस्याका बारेमा हामीलाई सम्पर्क गर्नुहोस् । तपाईंहरुलाई समस्या, गुनासा सुन्नको लागि तीनपाटन गाउँपालिका सधैं तत्पर छ । यो गाउँपालिका ठूलो ऊर्बर भूभाग भएको ठाउँ हो । यहाँ धेरै किसान दाजुभाइ दिदीबहिनी हुनुहुन्छ । तपाईंहरुले आफूलाई परेका समस्याबारेमा हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ ।

त्यसको लागि कृषि उत्पादन, पशुपालनलगायत जति पनि हामीले गर्नुपर्ने कामहरु छन् । त्यसको लागि हामीसँग तपार्इंहरु जतिबेला सम्पर्क गर्न सक्नुहुन्छ । तपाईंहरुको लागि गाउँपालिका सधैं खुल्ला छ । तीनपाटनवासीले आफूलाई परेका समस्या हामीसँग खुलस्त भन्ने सक्नुहुन्छ । तपाईंहरुले राखेका कुराको हामी यो वडा, त्यो वडा, यो गाउँ, त्यो गाउँ, यो समुदाय, ऊ समुदाय नभनिकन न्यायोचित ढंगले सेवा प्रवाह गर्ने जमर्को हामीहरु गर्ने छौं । यस गाउँपालिकाका सम्पूर्ण वर्ग, क्षेत्र, समुदायको काम निष्पक्ष, पारदर्शी र जवादेही ढंगले गर्ने प्रतिवद्धता गर्दछु ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


सार्वजनिक जग्गा संरक्षण नहुँदा अतिक्रमणको चपेटामा

सार्वजनिक जग्गा संरक्षण नहुँदा अतिक्रमणको चपेटामा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ५ मा रहेको सार्वजनिक जग्गा...

वन्यजन्तुको सङ्ख्यामा वृद्धिसँगै व्यवस्थापनमा चुनौती थपिएको छः वनमन्त्री डा. महतो

वन्यजन्तुको सङ्ख्यामा वृद्धिसँगै व्यवस्थापनमा चुनौती थपिएको छः वनमन्त्री डा. महतो

काठमाडौं । वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतो वन...

गण्डकीका चौध पालिकामा खेलमैदान निर्माण

गण्डकीका चौध पालिकामा खेलमैदान निर्माण

गण्डकी । ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रमअन्तर्गत गत...

चन्द्रागिरि नगरपालिकालाई बालश्रम मुक्त बनाइँदै

चन्द्रागिरि नगरपालिकालाई बालश्रम मुक्त बनाइँदै

काठमाडौँ । चन्द्रागिरि नगरपालिका आफ्नो नगरलाई बालश्रम मुक्त बनाउने...

पीडित किसानलाई राहत दिँदै गाउँपालिका

पीडित किसानलाई राहत दिँदै गाउँपालिका

ढोरपाटन (बागलुङ) । अघिल्लो साता तमानखोला गाउँपालिकामा हावाहुरीका कारण...