जहाँ राजनीतिक स्थिरता हुँदैन, त्यहाँ विकास पनि हुन सक्दैनः डा. शेखर कोइराला
486
sharesकाठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक स्थिरताका लागि लोकतन्त्रवादीहरुले सोच्नुपर्ने बेला आएको बताएका छन् । नेपाली कांग्रेसका पूर्वउपसभापति, पूर्वउपप्रधानमन्त्री, प्रजातान्त्रिक योद्दा शैलजा आचार्यको १५औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता डा.कोइरालाले पटकपटक सरकार फेरिने प्रवृत्तिले मुलुकको विकासमा निरन्तर समस्या आएको बताएका हुन् ।
उनले भने, “जहाँ राजनीतिक स्थिरता हुँदैन, त्यहाँ विकास पनि हुन सक्दैन, राजनीतिक स्थिरताका लागि लोकतन्त्रवादीहरुले सोच्नुपर्ने बेला आएको छ, अहिले राजनीतिक स्थायित्व छैन, आर्थिक विकास हुन सक्ने अवस्थामा छैन, सुशासन दिने अवस्था छैन ।”
कार्यक्रममा नेता डा. कोइरालाले विपी कोइराला र शैलजा आचार्यलाई सम्झेर काम गर्दै अगाडि बढे मात्र कांग्रेसलाई पुरानो अवस्थामा फर्काउन सकिने प्रस्ट पारे । कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री तथा नेता डा. शशाङ्क कोइरालाले शैलजा आचार्य पार्टीभित्र हिम्मत र साहसी महिला नेत्री भएको बताए । उनले देश विकासका लागि स्व. आचार्यको महत्वपूर्ण योगदान भएको स्मरण गरे ।
शैलजा आचार्यको योगदानलाई पार्टीभित्र जुन तरिकाले सम्बोधन गर्नुपर्ने हो त्यो हुन नसकेको उनले उल्लेख गरे । कांग्रेस नेता डा. मीनेन्द्र रिजालले पार्टीलाई एकतावद्ध बनाएर अगाडि बढाउन शैलजा आचार्यको महत्वपूर्ण योगदान रहेको बताए । डा. रिजालले शैलजा सबैसँग उत्तिकै सम्बन्ध राख्न सक्न निडर महिला नेत्री भएको ठोकुवा गरे । डा .रिजालले पार्टीलाई एकतावद्ध बनाएर अगाडि बढाउन शैलजाले गरेको योगदान महत्वपूर्ण रहेको बताए ।
कांग्रेस नेता एवम् पूर्वमन्त्री महेश आचार्यले विपी कोइरालाको विचारलाई आम जनमानसमा पुर्याउन शैलजाको महत्वपूर्ण भूमिका रहेको बताए । शैलजालाई विपी विचारको उत्तराधिकारीका रुपमा लिनुपर्ने उनले उल्लेख गरे । उनले कांग्रेसमा नीति, नेतृत्व र नैतिकताको सङ्कट देखिन थालेको बताए ।
नेपाल सरकारका पूर्वमुख्यसचिव डा. विमल कोइरालाले शैलजा आचार्यमा निष्ठा, इमान र लगनको त्रिवेणी भएको बताए । उनले भने, “शैलजा आचार्य जलस्रोत मन्त्री हुँदा साना जलविद्युत् आयोजनालाई अगाडि बढाउने नीति लिनुभएको थियो, जसका कारण अहिले हामीले जलविद्युत्मा फड्को मार्न सकेका छौँ ।”
शैलजा आचार्य आदर्श समाजकी अध्यक्ष दुर्गा घिमिरेले शैलजा आचार्यको निष्ठा र आदर्शलाई देशव्यापी रुपमा फैलाउन आवश्यक रहेको बताइन् । शैलजा आचार्य स्मृति पोलिक्लिनिक कलेजका प्राचार्य सन्तबहादुर अधिकारीले शैलजा आचार्यको सम्झनामा ग्रामीण भेगमा सीपमुलक तालिम प्रदान गरी आयआर्जनसँग जोड्दै अगाडि बढ्दै गएको जानकारी दिए ।
वि.सं.२०८१ जेठ २८ सोमवार १९:०४