ईसान बाल अस्पताल ११ वर्षीय बालिकाको पेडियाट्रिक युरोलोजीको जटिल शल्यक्रिया गर्न सफल
522
shares
काठमाडौ । टोखा ४ स्थित ईसान बाल तथा महिला अस्पतालमा ११ वर्षीय तृष्णा थापाको जटिल किसिमको पेडियाट्रिक युरोलोजीको शल्यक्रिया गरिएको छ । अस्पतालका निर्देशक समेत रहेका वरिष्ठ बाल शल्य चिकित्सक प्रा. डा. आर.पी, चौधरी नेतृत्वको टीमले थापाको दुर्लभ मानिने पेडियाट्रिक युरोलोजीको शल्यक्रिया सफलतापूर्वक गरेको हो । ईसान बाल अस्पतालले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै यस किसिमको जटिल प्रकृतिको युरोलोजीको शल्यक्रिया नेपालमै पहिलो पटक गरेको दावी गरेको छ ।
डा. चौधरीका अनुसार सानो आन्द्राबाट पिसावको थैली ठूलो बनाएको, दुईवटै मिर्गौलाका नलीहरुमा पिसाव नफर्कने शल्यक्रिया, पिसाव थैलीको तल्लो प्वाल बन्द गरेको र एपेन्डिक्सलाई प्रयोग गरी पिसाव निकाल्ने कृतिम नली बनाउने शल्यक्रिया समेत गरेर एकै पटक चार किसिमका शल्यक्रियाहरु सफलताका साथ सम्पन्न भएको हो । डा. चौधरीका अनुसार उक्त शल्यक्रिया गर्न १० घण्टा लागेको थियो ।
रामेछाप घर भएकी ११ वर्षिय तृष्णाको जन्मेको ९ दिनमै पहिलो पटक शल्यक्रिया गरिएको थियो । उनलाई पिसाव थैली, पिसाव नली र पिसाव चुहिने लगायतका समस्या थिए । डा. चोधरीले भने, ‘ईसान बाल अस्पतालमा यति जटिल किसिमको शल्यक्रिया गर्न सक्यौ ।
अहिले तृसनाको स्वास्थ्य अवस्था समान्य छ । यो अस्पतालका लागि पनि खुशीको कुरा हो ।’ तृष्णाका बुबा सन्तोष थापाले पनि छोरीको जटिल किसिमको रोगको शल्यक्रिया स्वदेशमै गर्न पाएको खुशी लागेको बताए । डा. चोधरीका अनुसार यस किसिमको समस्या १० हजार जना मध्ये एक जनामा हुने गर्छ ।
वि.सं.२०८१ असार १ शनिवार ०६:२०