आर्या फार्माल्याबको एन्टिबायोटिक बिक्रीमा रोक
282
sharesकाठमाडौं । औषधि व्यवस्था विभागले बाराको आर्या फार्माल्याबबाट उत्पादित एक एन्टिबायोटिक औषधि बिक्रीमा रोक लगाएको छ । उक्त कम्पनीको एप्mर्लोक्स सस्पेन्सन नामक अफ्लोक्सासिन नामक झोल औषधिको ब्याच नम्बर एएफएल ९०००१ बिक्रीमा रोक लगाएको हो ।
राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा उक्त ब्याचको औषधि न्यून गुणस्तरको पाइएको विभागले जनाएको छ । अफ्लोक्सासिन ब्याक्टेरियल संक्रमणको उपचारमा प्रयोग हुने एन्टिबायोटिक औषधि हो ।
उक्त ब्याचका औषधि बिक्री नगर्न र बजारबाट फिर्ता ल्याउन विभागले उत्पादक कम्पनीलाई निर्देशन दिएको छ । खराबी देखिएको ब्याचको औषधि सिफारिस र प्रयोग समेत नगर्न विभागले आग्रह गरेको छ ।
कम्पनीलाई हाल बजारमा रहेको औषधि फिर्ता गरी त्यसको विवरण विभागमा बुझाउन भनिएको छ ।
वि.सं.२०८१ असोज ११ शुक्रवार १३:२०