राष्ट्रिय सहकारी नियमन प्राधिकरणका पदाधिकारीहरुले लिए शपथ
378
shares
काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका पदाधिकारीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्राधिकरणका अध्यक्ष अर्जुनप्रसाद पोखरेलसहित तीन जना सदस्यहरुलाई सोमवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलाराम अधिकारीले शपथ गराए ।
सरकारले सहकारीको क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागि अध्यादेशमार्फत सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्दै राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गरेको हो ।
प्राधिकरणको केन्द्रिय कार्यालय ललितपुरको पुल्चोकमा स्थापना गरिएको छ । प्राधिकरणको काम कारबाहीको सम्बन्धमा नेपाल सरकारले आवश्यक निर्देशन दिन सक्नेछ ।
प्राधिकरणलाई सहकारीको दर्ता, नियमन र सुपरीवेक्षण गर्न निर्देशिका बनाउने, वचत रकम हिनामिनाको उजुरीउपर कारबाही गर्ने, जिल्ला न्यायाधीशसरहको अधिकार हुने बताइएको छ ।
प्राधिकरणका सदस्यहरुलाई शपथ गराउँदै मन्त्री अधिकारीले सफल कार्यकालको शुभकामना दिए ।
उनले प्राधिकरणमा कर्मचारी नियुक्तिदेखि अन्य आवश्यक कामहरु छिटो सम्पन्न गरिसक्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
सहकारी नियमन प्राधिकरणले प्रदेश र स्थानीय तहका वचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको प्रदेश र स्थानीय तहसँग समन्वय गरी संयुक्त रूपमा अनुगमन, नियमन तथा सुपरीवेक्षण गर्ने बताइएको छ ।
वि.सं.२०८१ माघ १४ सोमवार १५:५३