अर्थतन्त्रलाई लयमा फर्काउने कोसिस भइरहेको छ : प्रधानमन्त्री ओली
336
shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरताका कारण देशको अर्थतन्त्रदेखि सबै क्षेत्रमा प्रतिकूल असर परेको बताएका छन् । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको चेम्बर एक्स्पो उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
ठूला दल मिलेर अर्थतन्त्रलगायत क्षेत्रमा देखिएका समस्या समाधानको प्रयास भइरहेको उनको भनाइ छ ।
अहिले अर्थतन्त्रलाई लयमा फर्काउने कोसिस भइरहेको जानकारी दिँदै उनले देशलाई २०२६ मा अर्थतन्त्रको मध्यम स्तरमा पुर्याउनका लागि सरकारको ध्यान केन्द्रित रहेको बताए ।
प्रधानमन्त्री ओलीले पूर्वाधार निर्माण गरेर मुलुकको विकास गरिनेमा जोड दिएका छन् । त्यसैगरी, सूचना प्रविधि क्षेत्रलाई उद्योगका रूपमा विकास गर्नेगरी अगाडी बढाउने गरी काम भइरहेको उनले जानकारी दिए ।
प्रधानमन्त्री विदेशबाट सामान ल्याएर विदेशमा नै निर्यात गर्ने कामले नक्कली आँकडा स्थापित हुन खोजेको भन्दै स्वदेशमा नै उत्पादित सामग्रीलाई निर्यात गर्न सक्नुपर्नेमा जोड दिए ।
त्यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधि क्षेत्रलाई मजबुत बनाउन पूर्वाधार तथा संरचना र नीतिगत संरचना निर्माणमा मन्त्रालय लागिपरेको उल्लेख गरे ।
वि.सं.२०८१ माघ १७ बिहीवार १८:२२