समाजिक सञ्जाल विधेयक सच्याउन तयार नभए आन्दोलन गर्ने पत्रकार महासंघको चेतावनी
246
shares
काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारलाई समाजिक सञ्जाल विधेयक सच्याउन तयार नभए आन्दोलन गर्ने चेतावनी दिएको छ ।
माघ २८ र २९ गते धुलिखेलमा बसेको केन्द्रीय समिति बैठकको बैठकले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता खुम्च्याउने गरी ल्याइएको विधेयक फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी दिएको हो ।
“उक्त विधेयक तत्काल फिर्ता लिई सामाजिक सञ्जाल प्लेटफर्महरूलाई मात्रै नियमन गर्ने गरी सरोकारवालासँग आवश्यक परामर्श गरेर पुनर्लेखन गर्न सरकार, संसद् र राजनीतिक दलहरूसमक्ष माग गर्दछ,” महासंघले भनेको छ, “अन्यथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र न्यू मिडियाको प्रभावकारितामा अंकुश लगाउने गरी बन्ने विधेयकविरुद्ध महासंघ संघर्षमा उत्रिन बाध्य हुनेछ ।”
यसैगरी, महासंघले मिडिया काउन्सिल विधेयक सरोकारवालाबाट आएका सुझावलाई बेवास्ता गरी पारित गरेकामा पनि आपत्ति जनाएको छ ।
वि.सं.२०८१ फागुन १ बिहीवार १४:१४