जानको अध्यक्षमा डा. भुसाल पुनः निर्विरोध
738
shares
काठमाडौं । नेपाल जाइका अलमनाई एसोसियसन (जान) को फागुन ३ गते सम्पन्न निर्वाचनमा डा. रामचन्द्र भुसाल लगातार चौथो कार्यकालको लागि निर्विरोध निर्वाचित भएका छन् । जापानको एहिमे विश्वविद्यालयबाट विद्यावारिधि कृषिविज्ञ डा. भुसाल सार्क जाइका अलमनाइहरूको छाता संगठन जाइका अलमनाई एसोसियसन फोरम अफ सार्क कन्ट्रिज (जाफ्स) को वर्तमान महासचिवसमेत हुन् ।
जानको उक्त निर्वाचनबाट सम्पूर्ण पदाधिकारी एवं सदस्य पदहरू समेत निर्विरोध निर्वाचित भएका छन् । जस अनुसार उपाध्यक्षमा डा. किरण रूपाखेती, महासचिवमा शान्तिलक्ष्मी शाक्य, कोषाध्यक्षमा विभाकालिका मल्ल श्रेष्ठ, सचिवमा यमलाल भुसाल, सह–कोषाध्यक्षमा बाबुल खनाल र सदस्यहरूमा सुशीलकुमार भट्टचन, विनोदकुमार भट्टराई, पारस पौडेल, सूर्यप्रसाद बराल, उमा श्रेष्ठ र तारा खनाल निर्वाचित भएका छन् ।
डा. भुसाल कृषि प्रवद्र्घन आयोजना नेपालको टिम लिडर (कृषि विज्ञ) को रूपमा कार्यरत छन् । डा. किरण रूपाखेती, यमलाल भुसाल र विनोदकुमार भट्टराई नेपाल सरकारका वर्तमान सहसचिव र सूर्यप्रसाद बराल उपसचिव हुन् ।
त्यस्तै शान्तिलक्ष्मी शाक्य विद्युत् प्राधिकरणकी पूर्वउपकार्यकारी निर्देशक, पारस पौडेल राष्ट्रिय न्यायिक प्रतिष्ठान नेपालका वर्तमान निर्देशक, सुशीलकुमार भट्टचन जाइका नेपालका पूर्वप्रमुख सल्लाहकार र अन्य पदाधिकारी, सदस्यहरूसमेत विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरूसंग आबद्ध छन् । हरेक तीन वर्षमा जानको कार्य समितिमा पदाधिकारी तथा सदस्यहरूको निर्वाचन हुने गर्दछ ।
जान जापानमा अध्ययन गरी फर्किएका नेपाल सरकारका बहालवाला तथा सेवा निवृत्त सरकारी कर्मचारी, विभिन्न सार्वजनिक क्षेत्रका प्राविधिक, प्राज्ञ, स्वतन्त्र प्राविधिक तथा व्यवसायीको सामाजिक संस्था हो ।
जान नेपाल सरकार तथा जापान सरकार एवं जनताबीचको परम्परागत मित्रतालाई सुमधुर बनाउनका साथै अध्ययनको क्रममा जापानमा आर्जित ज्ञान तथा सीप मुलुकको विकासमा लगाउने उद्देश्यका साथ स्थापना भई सन् १९७३ देखि नै क्रियाशील रहँदै आएको छ । यसले जापानी राजदूतावास, जाइका नेपाल, नेपाल सरकार, जापान नेपाल सोसाइटी र अन्य सरकारी तथा गैरसरकारी संघसंस्थाहरूसँग समन्वय गरी विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । जानले गरेको उत्कृष्ट कार्यको उच्च मूल्यांकन गर्दै जापान सरकारले गत वर्ष जानलाई जापानको फरियन मिनिस्टर कमेन्डेसन अवार्ड (समेत प्रदान गरेको थियो ।
वि.सं.२०८१ फागुन ४ आइतवार १२:४०