भारतबाट दूध आयात गरी किसानलाई मार्ने खेल भएको सांसद डाँगीको आरोप
192
shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ।रास्वपा)की सांसद निशा डाँगीले सरकारले नेपाली किसानमारा नीति लिएको आरोप लगाएकी छिन् । सोमबार प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्दै सांसद डाँगीले भारतबाट दूध आयात गरे नेपाली किसानलाई मार्ने काम भएको बताएकी हुन् ।
देशमै उत्पादन भएको ८५ प्रतिशत दूध बिक्री नभएको अवस्थामा सरकारको ध्यान त्यसमा नगएको टिप्पणी उनको छ । देशका किसानले उत्पादन गरेको दुध बिक्रीका लागि बजार व्यवस्थापन गर्नु पर्नेमा उल्टै भारतबाट दूध आयात गर्नु ठिक नहुने उनले बताइन् ।
किसान मार्ने खेल नगर्न राज्यसँग आग्रह गर्दै उनले किसानको गोठमा गाई भैँसी भए पनि सहरी क्षेत्रमा दूधको अभाव भयो भनेर भारतबाट दूध ल्याउन लागिएको आरोप लगाइन् ।
सांसद डांगीले भनिन् – ‘सहरी क्षेत्रमा दूधको अभाव भयो भनेर एक लाख ५० हजार लिटर बढी दूध भारतबाट आयात गर्ने चलखेल भयो । भारतबाट दूध आयात गरी किसानलाई मार्ने खेल भइरहेको छ । देशमा उत्पादन भएको ८५ प्रतिशत दूधले बजार पाउन सकेको छैन । किसानलाई निरुत्साहित हुने यस्ता खेल बन्द हुनुपर्छ ।’
वि.सं.२०८० जेठ ८ सोमवार १४:००