विकास निर्माणको काम गर्न पद होइन, इच्छाशक्ति चाहिन्छ : नेतृ निरौला
1.6K
shares
प्रस्तुति : निशा ठकुरी
सिन्धुली । नेपाली कांग्रेसकी नेतृ तथा महासमिति सदस्य इन्दिरा निरौलाले सिन्धुलीका अन्य स्थानीय तहसँगै दुधौली नगरपालिकाको विकास निर्माणमा आफू निश्वार्थ ढंगले लागिपरेको बताएकी छिन् ।
निरौलाले कुराकानीको क्रममा आफू कुनै स्थानीय तहको जनप्रतिनिधि नभएर एउटा आस्था बोकेको नेतृ भएकाले समग्र सिन्धुलीको विकास निर्माणको लागि आवाज बुलन्द गर्दै आउने बताउँछिन् । त्योसँगै दुधौली नगरपालिकाको विकासलाई विशेष जोड दिने उनको अठोट छ ।
निरौला भन्छिन्, ‘विकास निर्माणको काम गरेर जनताको सेवा गर्न कुनै पद चाहिँदैन, जसले गर्दा पनि हुन्छ । राजनीति गर्ने व्यक्तिले एक वचन बोल्दा कुनै ठाउँको परिवर्तन हुन्छ भने जसले गरेपनि हुन्छ ।’ उनी थप्छिन्, ‘हामीहरुबीच विचार फरक होलान्, सिद्धान्त मिल्दैन होला त्यसकारण विकास परिवर्तनको लागि विचार, वाद र पार्टीभन्दा माथि उठेर काम गर्ने हो भने दुधौलीको मात्रै नभएर समग्र सिन्धुलीको विकास र परिवर्तन हुन धेरै समय लाग्दैन तर यसप्रति सबै सोच सकारात्मक नभएकोमा दुःख लागेको छ ।’
केन्द्र र प्रदेश सरकारसँग विकासका योजना माग्दा दुधौलीको लागि विशेष जोड दिएको निरौला बताउँछिन् । पछिल्लो समय दुधौली नगरपालिकाका मठमन्दिरमा सकारात्मक परिवर्तन आएको त्यसमा आफ्नो पनि हात रहेको उनले दावी छ ।
त्यसको लागि दुधौलीको शिवमन्दिर आश्रममा २५ लाख, दुधौली ९ स्थित लखिमाको मन्दिरमा २५ लाख, दुधौली ८ नम्बर स्थित गिद्वारको मन्दिरमा ३० लाख, ठाकुर गुम्बा अरुण ठाकुरमा ३० लाखको योजना आफ्नो एकल पहलमा ल्याएको नेतृ निरौला बताउँछिन् । त्यस्तै आँपडाँडाको निर्माणधिन खानेपानी योजना, दुधौली नगरपालिका वडा नम्बर ९ स्थित कट्टिलखनपुरबाट खिरियानी दूर्गा मन्दिर जाने सडकमा ग्राभेल गर्नेलगायत थुप्रै विकासका योजनाहरुमा आफूले सहयोग गरेको उनको भनाइ छ ।
हेर्दा सानो जस्तो लाग्ने तर जनताको जीवनसँग प्रत्यक्ष जोडिने महत्वपूर्ण विकासका थुप्रै योजनाहरु छन् । जसमा स्थानीय सरकारले काम गरिरहेका र त्यसमा थोरै भएपनि इँटा थप्ने काम आफूले गरेको नेतृ निरौला बताउँछिन् । जनताको सेवा गर्ने कसम खाएर राजनीति गर्नेहरुले एकले अर्काको खुट्टा तानेर आन्तरिक तेजोबध गर्नुभन्दा आपसमा हातेमालो गरेर अगाडि बढ्दा विकास निर्माणमा टेवा पुग्ने निरौलाको ठम्याईं छ ।
आफू आध्यात्मिकतामा विश्वास गर्ने, साकाहारी भोजन गर्ने भएकाले पनि मठमन्दिर निर्माणमा बढी जोड दिएको उनको स्पष्टोक्ति छ । त्योसँगै जति पनि वृद्धवृद्धा, एकल महिला र विभिन्न दुःखमा परेका आमा, बुबा, दिदीबहिनी तथा दाजुभाइहरु मठमन्दिरमा गएर ध्यान, दान, पूजापाठ गरी मनमा शान्तिको अनुभूति गर्ने भएकाले पनि आफूले मठमन्दिर बनाउन जोड गरेको नेतृ निरौलाको भनाइ छ ।
वि.सं.२०८० जेठ ८ सोमवार १४:२७