जेष्ठ नागरिक दिवस सरकारी नारामै सीमित
3.7K
shares
आज ३३ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस, असन्तरर्राष्ट्रिय स्तरमै विभिन्न कार्यक्रमहरुको आयोजना गरेर मनाइएको छ भने कतिपय ठाउँमा मनाइदैछ । यद्यपी, यो दिवसको सार्थक अर्थ भने भेट्न मुस्किल छ । किन मनाइन्छ यो दिवस ? अनि केका लागि ? प्रश्न अनुत्तरित छ ।
वास्तवमै भन्ने हो भने यो दिवस दिवसमै मात्र सिमित भएको छ । राज्यले जेष्ठ नागरिक दिवस भन्दै उनीहरुका अधिकारका नाममा विभिन्न गोष्टी, सेमिनार, कार्यशाला र अरु यस्तै नामका कार्यक्रमहरुमा खर्च गरिरहँदा लक्षित वर्गका नागरिकहरुको अवस्थाका बारेमा भने ख्याल गरेको पाईंदैन । अथवा यो पनि भनौं, कुनै तारे होटलमा भइरहेको सेमिनारले त्यही होटलको नजिकै सडकमा दारा ङिच्याउँदै भिख मागिरहेको वृद्धवृद्धाको लाज ढाक्ने उपाय निकाल्न सक्दैन । नत त्यो सेमिनारले खाइनखाइ दुख गरेर हुर्काएका आफ्ना सन्तानले वृद्धाआश्रममा छोडेर सम्पर्कविहीन भएका अमानवीय मनहरुलाई मानव बन्ने प्रेरणा नै दिन सकेको छ ।
६० वर्षपछिका सबै मानिसहरु जेष्ठ हुन्छन् । जीवनको उत्तराद्र्ध उमेरमा उनीहरुका शरीरका अंगहरु निशिक्रय हुन थाल्छन् । तब उनीहरुको शारीरिक र मानसिक अवस्थाको संरक्षण गर्नु सन्तानमात्र होइन, राज्यको पनि दायित्व हुन्छ । किनभने, किशोरावस्थादेखि त्यो अवस्थामा आउँदासम्म उनीहरुको शारीरिक र मानसिक लगानी सन्तान, समाज र राज्यका लागि भएको हुन्छ । सन्तानले त्यस्ता नागरिकहरुलाई छिछि दुरदुर गर्दा वा आफ्नो समिपबाट पन्छाउँदा राज्य जिम्मेवार बन्नुपर्छ । राज्यको ध्यान वृद्धाआश्रम बनाउन होइन, सन्तानको जिम्मेवारी वोध गराउन केन्द्रीत हुनु पर्ने हो तर त्यस्तो हुन सकिरहेको छैन ।
हामी हाम्रा जेष्ठ नागरिक हजुरबुबा, हजुरआमाहरुको अधिकारको संरक्षण गर्नबाट चुकिरहेका छौं वा त्यसको आवश्यकता ठानिरहेका छैनौं । सार्वजनिक यातायात, अस्पताल वा अन्य सार्वजनिक सेवा प्रवाह गरिने संस्थाहरुमा पनि तिनको कपाल फुलेको अवस्था हेरिएको पाइँदैन । मानिसहरुमा जेष्ठ नागरिकप्रति हेयको भाव मौलाउँदो छ । आफ्नै सन्तानहरुबाट माया र सम्मानको आवश्यकतामा रहेका उनीहरुलाई फोहोरी, चाउरी परेको, दाँत झरेको भनेर मानिसले हेला गर्छन् ।
हामी यो सोच्दैनौ कि हामी पनि भोलिका दिनमा वुद्ध, वृद्धा हुन्छौं भनेर । त्यस ठाउँमा भोलिको हाम्रो हविगतलाई एक पटक कल्पना गरौं त, तर अहँ हामीमा त्यो भाव पलाउने छाँट नै देखिएको छैन । बरु प्राय हामी देख्छौ, जेष्ठ नागरिकप्रति अझै पनि सेवा सुविधामा कमी भएको । उनीहरुलाई राज्यले छुट्टै निकाय बनाएर सेवा सुविधा दिलाउन सकेको छैन । अझै पनि जेष्ठ नागरिक दिवस कार्यक्रममै सम्पन्न हुने गरेको छ । के आजको दिनमा मात्र जेष्ठ नागरिकलाई सम्मान गर्ने हो ? अरु दिनमा जेष्ठ नागरिकप्रति सम्मान गरिएको पाइँदैन ।
सरकारी अस्पतालतिर पनि जेष्ठ नागरिक भनेर लाइन छुट्टै राखेको हुन्छ । तर अन्य सर्वसाधारणले जेष्ठ नागरिकको लाइन मिचेर त्यहाँबाट पनि टिकट लिने गरेको प्रायः देखेका छौ । जेष्ठ नागरिकको लागि बनाइएको लाइनमा अन्य पनि त्यहाँ गएर लाइन बस्ने हो भने त्यो पनि लाजमर्दोको विषय हो । जेष्ठ नागरिकको लागि बनाइएको लाइनमा अन्य कोहि टिकट लिन लाइन बस्छन् भने उनीहरुलाई पनि अस्पताल प्रशासनले जरिवानाको व्यवस्थान गरी कारबाही गर्नुपर्छ ।
सार्वजनिक गाडिमा पनि जेष्ठ नागरिकका भनेर सिट छुट्टयाइएको हुन्छ । तर सर्वसाधारण भने जेष्ठ नागरिक सिटको मतलब नै नगरी उक्त सिटमा बस्ने गर्छन् । त्यसकारण जेष्ठ नागरिकका लागि राज्यले व्यवस्थापन गर्न सकेको छैन । हामीले जेष्ठ नागरिकलाई माया गर्नुपर्छ । उनीहरुको विचारलाई कदर गर्नुपर्छ । तर जेष्ठ नागरिकप्रति कदर गर्ने, आदरभाव देखाउने र सम्मान गर्ने मानिसहरु फेला पार्न कठिन हुँदै गएको छ । हामीले उनीहरुका आँसुलाई बुझ्सक्नुपर्छ । किनभने सन्तानहरुलाई सकी नसकी हुर्कायो, बढायो र पढायो । अनि ऋण धन गरेर विदेश पठायो, त्यस्ता सन्तानसमेत उतै पलायन भइदिन्छन् । उतैको नागरिकसमेत बन्दिन्छन् । देशकोसमेत माया त्याग्न सक्ने उनीहरुले आमा बाबुलाई पनि त्यागी दिन्छन् र नेपालमा आमा बुबाको मुख हेर्न पनि आउँदैनन् ।
उनीहरुका छोराछोरीले आमाबुबाको विचारप्रति कदर गर्दैनन् । यदि सरकारले नेपालमा रोजगारको व्यवस्था गरिदिएको भए सायद कोहि नेपाली युवा विदेशिन वाध्य हुदैन थिएहोला । अनि यहि कारणले भेलिका दिनमा जेष्ठ नागरिकले आफ्नो नाति, नातिना हेर्न समेत पाउने अवस्था छैन । छोराछोरीहरुले बुबाआमालाई वृद्धा आश्रम लगेर राख्दा वा अझ वेवारिसे अवस्थामा अलपत्र पारेर छोड्दा त्यस्ता सन्तानलाई सरकारले कारबाही गर्न सकेको छैन । जेष्ठ नागरिकको अधिकारको हनन् भएको छ ।
जेष्ठ नागरिक हाम्रा अग्रहज मात्र होइनन्, हाम्रा पथ प्रदर्शक हुन्, हाम्रा गुरु हुन् अनि ममताका खानी हुन् चर हामी किन उनीहरुप्रतिको कर्तव्यबाट भागिरहेका छौं ? भनिन्छ, मानिस जति वृद्ध हुँदै गयो, त्यति बच्पनाको विकास हुन्छ रे । त्यस कारण हामीले उनीहरुलाई एउटा बच्चालाई झैं पनि माया गर्न जान्नु पर्ने हो तर त्यसो गर्न सकेको देखिँदैन ।
नैतिक शिक्षामा ‘डोको’ शीर्षकको एउटा कथा थियो । जहाँ एक वृद्ध मानिस आफ्नै छोराका लागि दिनदिनै बोझ बने । हेला, घृणा र तिरस्कारको शिकार बने । यतिसम्म कि एक दिन त आफ्नै छोराले उनलाई भीरबाट फाल्न भनेर डोकोमा हालेर बाटो लाग्यो । ती वृद्ध मानिसको नाति अर्थात आफ्नै बाबुलाई भीरबाट फाल्न हिँडेको मानिको छोरो पनि पछि पछि लागेर गयो । जब त्यो मानिसले भीरको माथि पुगेर आफ्नो बाबुलाई फाल्न लाग्यो, तब बालक छोरोले भन्यो ‘बा, हजुरबालाई फाले पनि डोको चाहिँ नफाल्नुस् है, पछि बुढो भए पनि तपाईंलाई पनि त्यसरी फाल्न काम लाग्छ ।’
आफ्नो बालक छोराले भनेको सुनेर त्यो मान्छे एक्कासी छाँगाबाट असे झैं भयो, उसको ओठमुख सबै सुक्यो । अनि आफ्नो बालक छोरो र वृद्ध बाबुसँग माफी मागेर बाबुलाई घर फर्काएर ल्यायो अनि कहिल्यै हेला गरेन । अत्यन्त माया र सम्मान दियो । यसको मतलब छोराले वृद्ध भए पछि बाबुलाई यसरी नै भीरबाट फाल्नु पर्ने रहेछ भन्ने सिक्ला वा वृद्धलाइए माया गर्नु हुन्न रहेछ भन्ने सिक्ला भनेर उसले भोलीको आफ्नो दुर्दशा सम्झियो । तर, यस्तो नैतिक शिक्षा पढेका हामीहरुमा आत्मवोध कहिले हुने ?
के अब जेष्ठ नागरिक छोरा छोरीका लागि बोझ भए त ? उनीहरुका छोराछेरी आमा बुबा पाल्न सक्दैनन् त ? के आमाबुबा भन्दा पैसा ठुलो हो ? अहिले आएर आमाबाबुलाई एक्लै बनाएर छोराहरु वृद्धा आश्रममा राखिदिन्छन् । जन्म दिने आमा स्वर्ग भन्दा प्यारो हुन्छ । मानिसहरु यति स्वार्थी भए कि जसले आफ्नो आमाबुबालाई मान्न छोडिसकेका छन् । त्यसैले हामीले जेष्ठ नागरिकलाई आजको दिनमा मात्र होइन सधै मानसम्मान माया गर्नुपर्छ ।
भनिन्छ जिन्दगीमा सबै थोक किन्न पाइन्छ तर आमाबाबु किन्न पाइँदैन । त्यसैले जिउँदो हुदाँ कदर गरौं । नत्र पछुताएर के काम ? जेष्ठ नागरिकका लागि नियम कानून बने तर अझै पनि कार्यान्वयन भएको छैन । सरकारले समय समयमा ज्येष्ठ नागरिकका लागि विभिन्न योजना ल्याए पनि ती योजना तथा कार्यक्रमहरू ज्येष्ठ नागरिकमैत्री बनाउन सकेको पाईंदैन ।
जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ताको विषयमा पनि उनीहरुको अधिकारको हनन् भएको छ । कतिपय सन्तानहरुले त त्यही सामाजिक सुरक्षा भत्तााको प्रयोजनका लागि मात्र आफ्ना आमाबुवालाई आफूसँग राखेको पनि देखिएको छ । हामीले जेष्ठ नागरिककको अधिकारलाई मार्नुहुदैन । मानिसहरु एउटा मनको कुरा बुझिदिने आमा र अर्को भविष्यको चिन्ता गरिदिने बाबुलाई कसरी विर्सन सक्छन् ? त्यो आजको चिन्ताको विषय बनेको छ ।
त्यसैले जेष्ठ नागरिकलाई सम्मान गर्नु हाम्रो दायित्य हो । सक्छौ भने माया गरौ नत्र सक्देनौ भने जेष्ठ नागरिकलाई हेला पनि नगरौं । राज्यले वर्षमा एकदिन जेष्ठ नागरिक दिवस् भने वर्षै पित्छे ख चै गर्नु सट्टा युवाहरुलाई स्वदेशमै रोजगारीको सुनिश्चिचता गरेर सँगै बस्न सक्ने अवस्था र कुनै सन्तानले आफ्ना वृद्ध आमाबाबुलाई हेला गर्ने वा टाढा राख्ने सन्तानहरुलाई कारबाही गर्ने कानून ल्याएर कार्यान्वयन गर्ने हो भने वर्षैभरी जेष्ठ नागरिक दिवस आफसे आफ अुन्छ होला नि ।
वि.सं.२०८० असोज १४ आइतवार १८:२९