सरकार आफैँ युवा पलायन नीति ल्याउँदै, देश उजाड बनाउँदै
1.4K
sharesनिशा ठकुरी
आर्थिक मन्दीले अर्थतन्त्र चलायमान नहुँदा लगानीको वातावरण बन्न सकेको छैन । लगानीको वातावरण नबन्दासम्म सानोतिनो रोजगारीको अवसर पनि दिनप्रतिदिन गुम्दै गएको छ ।
स्वदेशमा उद्योग धन्दा चलायमान नहुँदा युवापुस्तालाई नेपालमा बस्ने वातावरण बन्न सकेको छैन । बैंक, वित्तीय संस्थाहरुलाई पनि लगानी गर्ने वातावरण छैन । किन कि यतिबेला बैंकबाट लिएको ऋणसमेत तिर्न नसकेर कतिपयको घरबार उठिबास लागेको छ भने कतिपय सडकमा आन्दोलनरत छन् ।
अझ मेडिकल व्यवसायी एवं अभियान्ता दूर्गा प्रसाईंले त बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीहरुलाई उकासेर ऋण नतिर्न सडक आन्दोलन छोडेर सरकारलाई नै हायलकायल बनाएका छन् । प्रसाईंको आन्दोलनबाट बिच्किएका बैंक तथा वित्तीय संस्थाहरु यतिबेला धितो राखेर ऋण दिन पनि हिचकिचाइरहेका छन् ।
यतिबेला अधिकांश व्यक्तिहरुले लिएको ऋण नर्तिदा बैंकहरुले धितो लिलामीको दैनिकजसो राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गरिरहेका देखिन्छन् । कतिपय युवाहरुले बैंकबाट ऋण लिएर देशमै स्वरोजगारमुलक व्यवसाय सञ्चालन गर्न खोज्दा पनि एकातिर ऋण दिने बेलामा बैंकहरुले विभिन्न बहानामा दुःख दिने गर्दछन्, अर्कोतिर कम्पनी रजिष्ट्रारदेखि वडा र आन्तरिक राजश्व कार्यालयहरुले कम्पनी दर्ताका बेला विभिन्न बहानामा दुःख दिने गरेका गुनासाहरु थुप्रै छन् । यी र यस्तै कारणले गर्दा अहिलेका युवाहरु नेपालमा बस्न रुचाउँदैनन् ।
नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र चलायमान बनाउन नसक्दा अधिकांश युवाहरु विदेशिन बाध्य छन् । नेपालमा आम्दानीको क्षेत्र भनेको कृषि र पर्यटन नै हो । सरकारले दिने कृषि अनुदान अधिकांश गैर किसानहरुले हात पार्ने गरेका हुन्छन् । त्यसकारणले वास्तविक किसानहरु पेशा छोडेर विदेशिन वाध्य भएका छन् । खासगरी सिंचाईं, मल, बीउ र जनशक्ति अभावका कारण गाउँघरमा अधिकांश खेतीयोग्य जमीनहरु बाँझै छन् ।
शहर बजारमा खाद्यान्न, तरकारी, फलफूल, तेल, मसला, मासुलगायतका सामग्रीमा अत्याधिक मूल्य वृद्धि हुँदा सर्वसाधारणको ढाड सेकिरहेको छ । खाद्यान्नदेखि लत्ताकपडा हुँदै हरेक सामानको मूल्य बढेको छ । सर्वसाधारणलाई बिहान बेलुका हातमुख जोर्न र एक सरो कपडा लगाउन हम्मेहम्मे परिरहेको छ । व्यापारीहरुले आफुखुसी मूल्य तोकी नक्कली सामानहरु बजारमा ल्याएर ठगी गरिरहेका छन् । ‘जुन जोगी आएपनि कानै चिरेको’ भनेजस्तै जति अर्थमन्त्री परिवर्तन भएपनि काम भने जस्ताकोतस्तै हुने गरेको छ ।
अर्थमन्त्री पटक–पटक फेरिन्छन्, तर अर्थतन्त्र सुधारको बाटोमा आउनुभन्दा झन् सिथिल बन्दै गएको छ । सरकार युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्नुको सट्टा उल्टै रेमिट्यान्सको लोभले पठाउन तल्लिन छ । त्यसको लागि श्रममन्त्री नयाँ–नयाँ देशसँग श्रम सम्झौता गर्न विदेश घुमेर रमाइरहेका छन् । नेताहरु परिवर्तन ग(यौं भनेर भाषण गरिरहँदा नेपाली जनताले पत्याउने वातावरण छैन ।
प्रजातन्त्र, लोकतन्त्रहुँदै गणतन्त्रसम्म आइपुग्दा मुलुकमा सुशासन कायम हुनुपर्नेमा त्यो नभई उल्टै भ्रष्टाचार, अन्याय, अत्याचार र कुशासन बढेर गएको छ । सरकारले आर्थिक सुशासन कायम गरेर युवा वर्गको लागि रोजगारयुक्त वातावरण सिर्जना गर्नुपर्नेमा त्यो गर्न सकेको छैन । सरकारले जतिसुकै परिवर्तनका कुरा गरे तापनि नेपाल अन्य मुलुकको तुलनामा ३० वर्ष पछाडि नै छ । रोजगारी नहुँदा सर्वसाधारणको आम्दानी छैन ।
आम्दानी नभएपछि आकासिएको मूल्यवृद्धिको सामना गर्ने क्षेमता सर्वसाधारण छैन । अनि कसरी खाद्यान्न किनेर खाने रु यदि यस्तै भइरहने हो भने नेपाल पनि भोलिका दिनमा हैटी, कंगो, हंगेरी र सोमालिया जस्तो नहोला भन्न सकिँदैन । अहिले सरकार यति लाचार बनिसक्यो कि नेपालमा बसेर केही गर्छु भन्ने युवाहरुमा आशा मरिसकेको छ ।
पूर्वअर्थमन्त्री डा। प्रकाश शरण महतले कोभिडलाई दोश लगाएर आफ्नो एक वर्षे कार्यकाल गुजारेका थिए । हालका अर्थमन्त्री वर्षमान पुन पनि त्यस्तै बहाना बनाएर सरकारकाबाट नबाहिरिएलान् भन्न सकिँदैन । जुनसुकै पार्टीका नेता अर्थमन्त्री भए पनि काममा भन्दा कमाउधन्दा र विदेश भ्रमणमा रमाउने गरेको पाइन्छ । चुनावका बेला गाउँ–गाउँमा गएर फिरी भिसा, फिरी टिकट भन्दै भाषण गर्ने तर चुनाव जितेर मन्त्री भएपछि तिनै युवाबाट विचौलियासँग मिलेमतो गरेर कमिसन खान निर्लिप्त हुँदै आएका थुप्रै उदाहरणहरु छन् ।
नेता र मन्त्रीहरुले भाषण गरेजस्तो आर्थिक समृद्धि ल्याउने हो भने सरकारले युवालाई विदेश जानबाट रोक्नुपर्छ । किन अझै नेपाली युवाले खाडी मुलुकमा काम गर्न बाध्य हुनुपर्ने, सरकार अझै किन लाचार बनेर बसिरहेको छ रु नेताहरुले अब भाषण भन्दा पनि युवामैत्री नीतिनियम ल्याएर नेपालमै बस्ने वातावरण सिर्जना गर्नुपर्ने देखिन्छ । युवालाई विदेश पठाएर उनीहरुले पठाएको रेमिट्यान्सबाट सेवा, सुविधा, तलब, भत्ता खाएर बस्दैमा देश समृद्ध हुँदैन । मुलुक समृद्ध बनाउन स्वदेशमै उद्योगधन्दा, कलकारखाना, पर्यटन र कृषिमा लगानी गर्नुपर्छ । उता हालका अर्थमन्त्री वर्षमान पुन पहिला पनि अर्थमन्त्री भइसकेका व्यक्ति हुन् ।
त्यो अनुभवले अर्थमन्त्री पुनले अर्थतन्त्रमा परिवर्तन ल्याए त रु प्रथमत अर्थमन्त्री र श्रममन्त्रीले युवाहरुलाई स्वदेशमै रोजगारी दिने वातावरण बनाउन सक्नुपर्छ । कुर्सीमा बसेर भाषण गरे जस्तो सजिलो काम गर्न छैन । अर्थमन्त्रीले आशा देखाउँदैमा युवाहरुले नेपालमै रोजगारी पाउने आधार के रु जनताको अभिभावक भएर मन्त्रीहरुले जनतालाई सधैं झुक्याइरहने रु तत्कालीन अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाश महतले ‘म विभिन्न देशको भ्रमण गरेर आइसकेको छु तर विदेशमा भन्दा नेपालमा लगानी गरेर काम गर्ने हो भने यही सम्भावना वढी छ’, भनेर युवाहरुलाई आस्वासन दिने गर्दथे ।
जबसम्मा एउटै मन्त्रीले ५ वर्षसम्म काम गर्न पाउँदैनन्, सरकार परिवर्तन भइरहन्छ, तबसम्म मन्त्रीले काम पनि गर्न सक्दैनन्, र भ्रष्टाचार पनि भइरहन्छ । अनि कर्मचारीले मन्त्रीलाई नटेर्ने कारण पनि यिनै हुन् । मन्त्रीहरुले सर्वसाधारण युवाहरुलाई नेपालमै सम्भावना छ भनिरहँदा नेता, मन्त्री र उच्चपदस्थ कर्मचारीहरुका छोराछोरी, नातिनातिना नेपालमा बसेका छन् रु दिनहुँ हजारौ संख्यामा युवाहरु विदेशिरहेका छन् ।
सरकारी कर्मचारीको त कुरै नगरौं । काम भन्दा कुरै बढी । काम सुको छैन अनि दिनभरि सेवाग्राहीको समय बर्बाद गरेर अलमल्याउने कर्मचारी नेपालमै होलान् । हुन पनि हो सामाजिक सञ्जालबाट कर्मचारीको कर्तुत नदेखिएका होइनन् । उनीहरु कार्यालय समयमा पनि सेवाग्राहीको काममा ध्यान दिनुभन्दा सामाजिक सञ्जालमा व्यस्त भइरहेका हुन्छन् । खाजा खाने समयमा बाहिरिएपछि बेपत्ता हुन्छन् ।
स्थायी सरकार भनेर चिनिने कर्मचारीतन्त्र नै गैरजिम्मेवार भएपछि कसरी हुन्छ देशको विकास रु यसरी कर्मचारी, नेता, मन्त्री र विचौलियको चलखेलले गर्दा देश दिनप्रतिदिन डामाडोल हुँदै गएको छ । यसले सर्वसाधारण जनतामा निराशा छाएको छ । जसको परिणाम स्वरुप अहिलेको युवापुस्ता नेपाल बस्न रुचाउँदैनन् । त्यसप्रति सरकार र सम्बन्धित निकायले सोच्न जरुरी छ ।
वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:०२