आँखाले खिचेको चित्र मनको संग्रहालयमा
84
shares
कविता
घाम छ आङमा
दायाँ क्रिप्टोमेरि जापोनिका रूख
सगैसगै अग्लन खोज्दैछ जगर
आँखैमा बसेर
मेरै आँखा हेरिरहेका छन दृश्यहरू
बूढो र पुरानो सुन्तला
सकिनसकि दाना लागेर हुर्कन खोज्दैछ
शारदीय आगमनको पूर्व सूचना दिदै
उल्लासमय भावमा रमाएको छ मौसम
अलि निहुरेर हलुवाबेद
स्वाद पस्कन आतुर छ
सेपमा पिल्सिएर इन्द्रकमल
हल्लाई रहेछ आफ्ना हातहरू
घरको लिउन उक्केर
अमुर्त चित्र बनेको छ भित्तामा
गोबरले लिपिएको उतिबेलाको आँगन
झार पलाएर जरकट्ट छ
समय लिउनका पाप्रा उक्किए जस्तै
झार सुकेर बत्ती भए जस्तै
कत्ति पनि बिचलित छैन
पर लटरम्म फुलेको पारिजात हेरर
दङ्ग छु म
त्यो मेरो अबोध खुसि
आखिर एकदिन पारिजात जस्तै झर्ने त हो
मनमा जतनले राखेको छु
घरको याद/चित्र
डाडु/पन्यू,तसला र आमाको परिकार
मैले बिर्सेको छैन धरातल
आधार नै बिर्से भने त
पारिजात झर्दा अडिने जत्तिको ठाउँ पनि हुन्न मेरो लागि प्रिय पारिजात !
मलाई तिम्रो रङ्ग,सुवास र महिमा जत्तिकै
धेरै माया र थोरै ठाउँ देऊ तिम्रो छेउमा ।
–ऋषभदेव घिमिरे (ललितपुर,गोदावरी)
वि.सं.२०८० वैशाख २१ बिहीवार १४:३०