कांग्रेसका कुशल संगठक र हक्की नेता हुन्, प्रदीप सुनुवार
1.4K
shares
काठमाडौं । नेविसंघबाट कांग्रेस राजनीतिमा होमिएका नेता हुन् प्रदीपकुमार सुनुवार । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–५, मा जन्मिएका सुनुवार कांग्रेसभित्र कुशल संगठक, जुझारु र इमानदार नेताको रुपमा चिनिन्छन् । सधैं जनताको काममा दत्तचित्त उनी जुझारु नेतासँगै समाजसेवीका रुपमा कांग्रेसजनबीच स्थापित छन् ।
नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेका सुनुवार ओखलढुंगा प्रदेश ‘क’बाट निर्वाचित सांसद पनि हुन् । पार्टी संगठनको रुपमा देशैभर प्रभाव भएका सुनुवार प्रदेश नम्बर १ मा कांग्रेसका प्रभावशाली नेतामा गनिन्छन् । पार्टी संगठनको लागि जस्तोसुकै कठिनाइ भोग्न पछि नपर्ने सुनुवार कुशल संगठक, हक्की नेता र स्पष्ट वक्ताको रुपमा स्थापित छन् । २०४२ सालबाट नेविसंघमा आबद्ध उनले २०४२ सालको निर्वाचनमा नेपाली कांग्रेसले भाग लिएको बेला सक्रिय भूमिका निर्वाह गरेका थिए ।
२०५० सालमा नेपाली कांग्रेस ओखलढुंगाको जिल्ला सदस्य रहेका सुनुवार ९ औं महाधिवेशनदेखि हालसम्म निरन्तर महाधिवेशन प्रतिनिधिमा निर्वाचित छन् । उनी ९ औं महाधिवेशनमा कांग्रेस नेता चिरिञ्जिवी वाग्लेको प्रस्तावक समेत रहेका थिए । उनले २०६० सालमा बालकृष्ण खाँड नेतृत्वको नेपाल तरुण दलमा सगरमाथा अञ्चल संयोजक भएर कांग्रेस संगठन बलियो बनाउन सक्रिय भूमिका निर्वाह गरेका थिए ।
सुनुवार दशौं महाधिवेशनबाट महेश कोर्मोचाको दोस्रो कार्याकालमा सह–सचिव भए । त्यस्तै उनी एघारौं महाधिवेशनबाट नेपाली कांग्रेस ओखलढुंगा जिल्लाको उप–सभापति भएका थिए । पार्टी समायोजन हुँदा पनि सुनुवारले नेपाली कांग्रेस ओखलढुंगाको उपसभापति नै भएर काम गरे । त्यसपछि उनले कांग्रेसको १२ औं र १३ औं महाधिवेशनबाट ओखलढुंगा जिल्लाको सभापति रहेर काम गरे ।
दुई पटक नेपाली कांग्रेसको जिल्ला सभापति भएर भूमिका निर्वाह गरिसकेका सुनुवार १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भए । उनले २०७९ सालको स्थानीय निर्वाचनमा उदयपुरको लागि केन्द्रीय प्रतिनिधि भएर खटिएका थिए । त्यसैगरी सुनुवारले ‘जनतासँग कांग्रेस’ अभियानका बेला पाँचथर जिल्लामा केन्द्रीय प्रतिनिधि भएर काम गरेका थिए ।
उनी २०७९ मंसिर ४ को आमनिर्वाचनमा ओखलढुँगा प्रदेश ‘क’ बाट निर्वाचित भएका हुन् । उद्धब थापा १ नम्बर प्रदेशको मुख्यमन्त्री हुँदा प्रदीप सुनुवार खानेपानी, सिंचाईं तथा उर्जामन्त्री भएका थिए । यसरी झन्डै चार दशक हाराहारी कांग्रेस संगठनमा आबद्ध सुनुवार खारिएका नेतामा चिनिन्छन् ।
वि.सं.२०८० मंसिर २२ शुक्रवार १९:१७