राप्रपाद्वारा रवीन्द्र मिश्रलाई वरिष्ठ उपाध्यक्ष बनाउन सहमति
570
shares
काठमाडौँ । विवेकशील साझा पार्टीको अध्यक्ष छाडेर बसेका रवीन्द्र मिश्रलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गराउने सहमति भएको छ । मिश्रलाई वरिष्ठ उपाध्यक्ष पद दिएर पार्टीमा भित्र्याउन राप्रपा सहमत भएको हो ।
तर राप्रपामा अहिलेको विधानअनुसार वरिष्ठ उपाध्यक्ष पद छैन । पार्टीभित्र गत मंसिरको महाधिवेशनपछि पदाधिकारीको वरीयताका कुरा मिलिसकेको छैन । अध्यक्ष लिङ्देनपछि को रु भन्ने विवाद छ । राप्रपामा रहेका ६ जना उपाध्यक्षमध्ये वुद्धिमान तामाङ र विक्रम पाण्डेबीच वरीयतामा विवाद हुँदै आएको छ ।
मिश्रलाई वरिष्ठ उपाध्यक्ष पद दिँदा राप्रपाले विधान संशोधन गर्नुपर्ने हुन्छ । राप्रपामा ८ जनासम्म उपाध्यक्ष रहने व्यवस्था छ तर अहिले ६ जना उपाध्यक्ष छन् । मिश्रलाई उपाध्यक्ष पद दिनेबारे पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बिहीबारको बैठकमा घनीभूत छलफल भएको हो । उनलाई पार्टीमा ल्याउन शीर्ष नेता तयार भए पनि कुन पद दिने भन्ने विषयमा फरक(फरक मत आएका थिए ।
अध्यक्ष राजेन्द्र लिङ्देनसहितका पदाधिकारी मिश्रलाई दोस्रो वरीयता अर्थात् उपाध्यक्ष पद दिन चाहन्छन् । हिजोको बैठकमा मिश्रलाई राप्रपामा ल्याउन लामो छलफल भएको र वरिष्ठ उपाध्यक्ष पद दिने सहमति भएको पार्टी स्रोतले जानकारी दिएको छ ।
मिश्रको चाहना काठमाडौं १ मा राप्रपाबाट चुनाव लड्ने र कांग्रेसका प्रकाशमान सिंहसँग प्रतिस्पर्धा गर्ने छ । उनी अघिल्लो हारको बदला लिन चाहन्छन् । सोही कारण एक साताभित्रै मिश्र राप्रपा प्रवेश गर्ने कि नगर्ने भन्ने विषय टुंगो लाग्ने नेताहरू बताउँछन् ।
वि.सं.२०७९ असोज ७ शुक्रवार ११:५९