स्वास्थ्य मन्त्री बस्नेतको प्रमुख आतिथ्यतामा बाह्रबिसे नगरपालिकामा भव्य तीज कार्यक्रम सम्पन्न
2.1K
shares
सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आथित्यतामा सिन्धुपाल्चोकको बाह्रबिसेमा तीज कार्यक्रम सम्पन्न भएको छ । बाह्रबिसे नगरपालिकाको आयोजनामा सम्पन्न भएको तीज कार्यक्रममा हजारौ महिलाहरुले तीजको गीतमा नाचेर मनोरन्जन प्रदान गरेका थिए । कार्यक्रममा राष्ट्रिय कलाकारहरु जितु नेपाल, बबिता बानिया (जेरी), दिजराज पौडेललगाएको प्रस्तुतिले तीज मनाउन भेला भएका महिलाहरुले थप मनोरन्जन लिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीजको पूर्वसन्ध्यामा आयोजना गरिएको तीज विशेष कार्यक्रममा तीजको शुभकामना व्यक्त गर्दै धर्म, सस्कृतिको संरक्षण र विकासमा सबैको हातेमालो हुनु पर्ने बताए । मन्त्री बस्नेतले आफूले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्होलेको चार महिनाको छोटो अपधिमा स्वास्थ्य क्षेत्रमा थुप्रै सुधारका काम सुरु गरिसकेको जानकारी गराउँदै अबको ६ महिनाभित्र सर्वसाधारणले प्रत्यक्ष महशुस गर्नुगरी काम गरेर देखाउने दावी गरे ।
पैसाको अभावमा कुनै पनि नेपालीले उपचार नपाएर ज्यान गुमाउने अवस्थाको अन्त्य गर्न लागिपरेको बताउदै मन्त्री बस्नेतले भने, ‘त्यसको जिम्मा स्वास्थ्य मन्त्रीको हैसियतले मैले लिन्छु । तपाईहरुको उपचारको जिम्मा म लिन्छु ।’ विपन्नको स्वास्थ्य उपचारमा सहुलियत प्रदान गर्न केन्द्रीय अस्पतालमा साडे ३ हजार शैया निःशुल्क गराएको जानकारी गराउदै विपन्नका लागि निजी अस्पतालहरुमा समेत १० प्रतिसत शैया निःशुल्क गर्नै पनि नियम कडाईका साथ लागु गराएको बताए ।
कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्छ भन्ने अभियानमा आफू लागिपरेको र त्यसमा सबै पालिकाहरुले साथ दिनुपर्नेमा मन्त्री बस्नेतको जोड थियो । आफू गत निर्वाचनमा सिन्धुपाल्चोकको क्षेत्र नम्बर २ बाट बिजयी भएको भए पनि क्षेत्र नम्बर १ का जनतासँगको सुखदुःखमा पनि उत्तिकै साथ रहेको मन्त्री बस्नेतको भनाइ थियो ।
\कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका वन तथा वातावरण मन्त्री मसिना खड्का भण्डारीले राजनीतिमा महिलाको प्रतिनिधित्व बढ्दै जानु खुशीकाृे कुरा भएको बताउदै महिलाको सम्मान गर्ने संस्कारको पनि विकास हुनु आवश्यक रहेकोमा जोड दिइन । उनले अर्काको कुरा काट्ने र महिलाको अपमान गर्ने संस्कारले समाजको विकास संभव नभएको बताइन ।
नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष उषा मिश्रले सिन्धुपाल्चोकले बोलेको कुरा पुरा गरेरै छाड्ने मोहन बस्नेत जस्तो नेता पाउनु गर्वको कुरा भएको बताउदै बस्नेत भविष्यमा प्रधानमन्त्री हुने प्रचुर संभावना भएको दावी गरिन् । बस्नेत पदमा भए पनि जनताका पक्षमा काम गर्ने र पदमा नभए पनि काम गर्ने नेताको छवि बनाएको बताउँदै सक्षम नेतृत्वको छहारीमा बसेर राजनीति गर्न सहज हुने स्मरण गराइन् ।
कार्यक्रममा चर्चित हास्य कलाकार जितु नेपालले मोहन बस्नेत जस्तो विकास प्रेमी नेतालाई सिन्धुुपाल्चोकले मात्र होइन देशले चाँँडै प्रधानमन्त्रीको रुपमा पाउने विश्वास व्यक्त गरे । कलाकार नेपालले वर्तमान समाजको यथार्थता दर्शाउने प्रहसन प्रस्तुत गरेर मनोरन्जन प्रदान गरेका थिए । त्यसैगरी चर्चित दोहोरी गायिका बबिता बानिँया (जेरी) र गायक दिजराज पौडेलसहितले गीत/संगीतको माध्यमबाट सहभागी महिलाहरुलाई भरपूर मनोरन्जन प्रदान गरेका थिए ।
कार्यक्रममा पूर्वगृह राज्यमन्त्री विष्णुविक्रम थापा, बागमती प्रदेश सांसद कृष्णकुमार तामाङ, समाजसेवी माण्डवी राणा बस्नेत, बाह्रबिसे नगरपालिकाका नगरप्रमुख बालकृष्ण बस्नेत, भोटेकोशी गाउपालिकाका उपाध्यक्ष दिक्षेन शेर्पा, बाह्रबिसे नगरपालिकाकी उपमेयर मञ्जु तामाङ, बलेफी गाउपालिकाकी उपाध्यक्ष सरु लामा, सुनकोशी गाउँपालिकाकी उपाध्यक्ष कान्छीमाया तामाङ, मञ्जु भण्डारी, कविता गुरुङलगायतले तीजको सांस्कृति महत्व र विकास निर्माणमा स्वास्थ्य मन्त्री बस्नेतले गरेका कामका बिषयमा प्रकाश पारेका थिए ।
कार्यक्रममा बाह्रबिसे नगरपालिकाका जनप्रतिनिधिहरु, समाजसवी, शिक्षासेवी, पत्रकार र स्थानीय महिला तथा पुरुषहरुको सभागिता रहेको थियो । कार्यक्रममा उपस्थित सबै महिला एवं पुरुषहरुलाई दरसमेत खुवाइएको थियो । कार्यक्रममा महिला र पुरुष गरी करिव ३ हजार हाराहारीको उपस्थिति रहेको थियो । नगरपालिकाले सबै महिलाहरुको सहभागितामा संयुक्त दर खाने कार्यक्रसहित भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरेकोमा खुशी व्यक्त गरिएको थियो ।
वि.सं.२०८० भदौ ३० शनिवार २२:३३